२४ बैशाख २०८३, बिहीबार

पर्यटन विकासमा उदासीन स्थानीय तह


बाजुरा: नौवटा स्थानीय तह रहेको बाजुरा जिल्ला प्राकृतिक सौन्दर्य, धार्मिक सम्पदा, हिमाली भू–दृश्य, ऐतिहासिक स्थल र सांस्कृतिक विविधताले भरिपूर्ण भए पनि पर्यटन विकासको ठुलोे सम्भावना स्थानीय तहको उदासीनताका कारण ओझेलमा परेको छ । नीति तथा कार्यक्रममा पर्यटनलाई प्राथमिकतामा राख्ने घोषणा गरिए पनि व्यवहारमा पूर्वाधार, प्रचारप्रसार र दीर्घकालीन योजनाको अभाव देखिएको छ ।

जिल्लामा प्रसिद्ध बडीमालिका मन्दिर, बुढीनन्दा ताल, रानिशैन–खप्तड क्षेत्र, कालाजग्रा मन्दिर, त्रिवेणी धाम, छेडेदह बिरेखाेला झरना, किम्नी झरना ताललगायत विभिन्न तालतलैया, झरना तथा सांस्कृतिक गन्तव्य रहेका छन् । यी स्थलले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न पर्याप्त सम्भावना बोकेका छन् । तर सडक, खानेपानी, शौचालय, विश्रामस्थल, सूचना केन्द्र, पदमार्ग र सुरक्षित आवागमनजस्ता आधारभूत पूर्वाधारको अभावले पर्यटककाे राेजाइमा नपर्ने गरेका छन् ।

नौवटै स्थानीय तहले वार्षिक नीति तथा कार्यक्रममा पर्यटन क्षेत्र समेट्ने गरे पनि बजेट कार्यान्वयनमा प्राथमिकता नदिँदा अधिकांश योजना कागजमै सीमित हुने गरेका छन् । सदरमुकाम मार्तडीका होटल व्यवसायीहरुका अनुसार कतिपय स्थानमा पदमार्ग निर्माण सुरु भएर अधुरै छन् भने कतै वर्षौंदेखि योजना घोषणा मात्र दोहोरिने अवस्था छ ।

पर्यटन क्षेत्रसँग आबद्ध स्थानीय व्यवसायीहरूका अनुसार जिल्लामा होटल, होमस्टे, यातायात, हस्तकला र स्थानीय उत्पादनको बजार विस्तार गर्न सकिने भए पनि स्पष्ट कार्यक्रम र योजनाको अभावले अवसर गुमिरहेको छ । पर्यटन विकासले युवालाई रोजगारी, स्थानीय उत्पादनलाई बजार र स्थानीय तहको आन्तरिक आम्दानी बढाउने सम्भावना भए पनि स्थानिय तहहरुकाे उदासीनताका कारण कार्यान्वयन हुन सकेको छैन । बडीमालिका क्षेत्रको दर्शनका लागि हरेक वर्ष हजारौं श्रद्धालु पुग्ने भए पनि व्यवस्थित बसोबास, सरसफाइ र प्रचार व्यवस्थापन अझै कमजोर छ । अन्य धार्मिक तथा प्राकृतिक गन्तव्य भने अझै पर्याप्त रूपमा चिनाउन बाँकी छन् ।

प्राकृतिक र धार्मिक सम्पदाले धनी बाजुरामा स्थानीय तहहरूले स्पष्ट दृष्टिकोणसहित काम गर्न सके पर्यटन आर्थिक समृद्धिको बलियो आधार बन्न सक्ने सरोकारवाला बताउँछन् । तर हालसम्मको अवस्था हेर्दा अधिकांश स्थानीय तह पर्यटन विकासप्रति उदासीन देखिएका छन् । नागरिक समाजका अगुवाहरुका अनुसार बाजुरामा पर्यटन विकासका लागि पूर्वाधार निर्माण, गन्तव्यको ब्रान्डिङ, डिजिटल प्रचारप्रसार, निजी क्षेत्रसँग सहकार्य, स्थानीय गाइड उत्पादन, होमस्टे प्रवर्धन तथा सांस्कृतिक उत्सवको व्यवस्थित आयोजना आवश्यक रहेकाे बताउँछन ।


प्रकाशित मिति: २४ बैशाख २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives