बाजुरा: सडक डिभिजन साँफेबगर अछामले बाजुराको गुइगाड खोलामा १५ बर्षसम्म पनि पुल नबनाउने निर्माण कम्पनीलाई १७ करोड ९९ लाख ३२ हजार ४४ रुपैयाँ असुल उपरका लागि प्रक्रिया अगाडि बढाएको छ । पटकपटक काम सम्पन्न गर्न पत्रचार गर्दा पनि कम्पनीले वेवास्ता गरेपछि सबै प्रक्रिया पुगाएर उक्त रकम दाखिला गर्न सार्वजनिक सूचना निकालेको कार्यालयका सूचना अधिकारी तथा ईन्जिनियर सुभाष शाहले बताएका छन् ।
कार्यालय ०८३ मंसिर १५ ठेक्का अन्त गरेर अहिले असुल उपरको अन्तिम प्रक्रियामा पुगेको छ । ०८३ चैत ९ गते ३५ दिने सुचना मार्फत रकम दाखिला नगरेमा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ को दफा ४७ (३) तथा आर्थिक कार्यविधि तथा वित्तिय नियमावली, २०७७ को नियम ९० (५) बमोजिम सरकारी बाँकी सरह असुल उपर गर्न लगत कायम गर्न कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयमा पठाउने व्यहोरा समेत सूचना मार्फत जानकारी गरेको छ ।
सबै प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ, कम्पनीले रकम दाखिला अहिले सम्म नगरेकोले अब लगत कायम गर्न कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यलयमा पठाउने तयारीमा रहेको सुचना अधिकारी शाहले बताएका छन् ।
बाजुराको सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग साँफे मार्तडी सडक खण्डमा पर्ने गुइगाड खोलामा जोखिम पुलमा यातायात संचालन भइरहेको छ । पुल जोखिम भएपछि सडक डिभिजन कार्यालय साँफेबगर अछामले एक पटकमा एउटा मात्र गाडि भनेर होडिङ्ग बोर्ड टासेको छ । कार्यालयले पुल जोखिम रहेको भन्दै बेलिब्रिज बनाउनका लागि सडक डिभिजन केन्द्रिय कार्यालयमा बजेट माग गरेको थियो । तर केन्द्र बाट नयाँ बेलिब्रिज बनाउने पुल अलपत्र पार्ने ठेकेदारबाट असुल उपर नहुँदासम्म अर्को ठेक्का गर्न नपाउने निर्देशन भएको सडक डिभिजन साँफेबगर जनाएको छ ।
बेलिब्रिजको ठेक्काको लागि पहल भइरहेको छ । यदि त्यो भएन भने खोलामा ड्राइभर्सन बनाएर पुलमा यातायात बन्द गर्ने योजना रहेको सूचना अधिकारी शाहले वताए । पक्की ट्रस ब्रिज पुल निर्माण कम्पनीको लापरबाहीका कारण जीर्ण पुल बनेको छ । जोखिमपूर्ण ट्रस ब्रिजमा सावारी साधन संचालन गर्न यातायात व्यवसायी बाध्य छन् । २०६८ असारमा सडक डिभिजन कार्यालय साँफेबगर अछामसँग राजेन्द्र–थेगि जेभीले २०७० साउन ३० भित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरेको थियो । ९ करोडको लागत रहेको पुल कम्पनीले ५ करोड ९६ लाख १ सय १२ रुपैमा ठेक्का सम्झौता गरी कामको जिम्मा लिएको थियो ।
०७५ मा निर्माण कम्पनीले काम सम्पन्न गरेको जानकारी पछि पक्की ट्रस ब्रिजको चेकजाच गर्दा कम्सल सामान र ट्रस ब्रिजमा लगाउनु पर्ने सामग्री स्टमेट अनुसारको जडान नभएको सडक डिभिजन कार्यालय साफेबगरले बताएको छ । ७ बर्षअघि मात्रै निर्माण कार्य सम्पन्न भएको ६० मिटर लम्बाइ पुलले ४५ टन लोड भार धान्नु पर्ने हुन्छ । पुलको लोड टेस्टका लागि सडक डिभिजन कार्यालय साफेबगर अछाम र पुल महाशाखाबाट आएको इन्जिनियरको टोलीले पुलमा ३० टन लोड समेत धान्न नसकेर पुल लच्किएर चर्किए पछि पुल पास नभएको हो ।
जिल्ला सदरमुकाम जोड्ने मुख्य सडक भएका कारण गाडीलाई आउजाउ गर्न सहजताका लागि हाल एक पटकमा एउटा मात्र गाडी हिँड्ने गरेर साइनबोर्ड टाँस गरेर पुल संचालनमा रहेको सडक डिभिजन कार्यालय साँफेबगर अछामले जनाएको छ । पुलले स्टमेट अनुसारको क्षेमता अनुरुप लोड भार धान्नुपर्ने सो पुलले लोड धान्न नसेकपछि दुर्घटनाको जोखिम रहेको भन्दै पुलको पुनः निर्माण हुनुपर्ने स्थानीय शिक्षक बहादुर थापाले बताएका छन् ।
सडक डिभिजन कार्यालय अछामका अनुसार पुलको लोड जाँच गर्दा धेरै लोड धान्न नसकेपछि दुर्घटना नहोस् भन्ने उद्देश्यले एक पटकमा एउटा मात्र गाडी आउजाउ गर्न साइनबोर्ड टाँस गरिएको बताएको छ । पुलको साईटमा एक पटक एक मात्र सवारी साधान आउजाउ गर्न साईनबोर्ड टासिएको छ ।
सडक डिभिजन कार्यालयले ठेकेदार कम्पनीलाई करिब ९५ प्रतिशत रकम निकासा गरिसकेको छ । ५ करोड ९६ लाख १ सय १२ रुपैयाँमा निर्माण गर्ने गरी पुलको सम्झौता भएकोमा ५ करोड २८ लाख २० हजार ५७ रुपैयाँ निकासा भइसकेको छ ।
प्रकाशित मिति: २४ बैशाख २०८३, बिहीबार