बाजुराको बुढीगंगा नगरपालिका कृषि, पशुपालन र स्थानीय उत्पादनमा निर्भर क्षेत्र हो । यहाँको माटो, हावापानी, भौगोलिक बनावट र पुस्तौँ देखि किसानले अपनाउँदै आएको कृषि ज्ञान आफैँमा महत्त्वपूर्ण सम्पत्ति हुन् । झुमरो, कागुनोजस्ता रैथाने बाली यहाँको खाद्य संस्कृति र पहिचानसँग जोडिएका छन् । बदलिँदो मौसम, अनियमित वर्षा, बालीका उन्नत जातको अगमनसंगै नयाँ प्रकारका रोगकीराको प्रकोप, उत्पादन लागतमा वृद्धि र कृषि प्रणालीप्रति घट्दो आकर्षणले यस्ता बालीको भविष्य चुनौतीपूर्ण बन्दै गएको छ ।
यही परिवेशमा बुढीगंगा नगरपालिकामा रैथाने बालीको संरक्षण, उत्पादन वृद्धि र जलवायुमैत्री कृषि प्रविधिको प्रयोगलाई जोड दिइनु सकारात्मक पहल हो । यो स्थानीय खाद्य प्रणालीलाई बलियो बनाउने, किसानको आम्दानी बढाउने, जलवायु परिवर्तनका जोखिमसँग जुध्ने र कृषिलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने सम्भावनासँग जोडिएको विषय हो ।
नर्वे सरकार, फिनल्यान्डको राजदूतावास र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को आर्थिक सहयोग तथा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी), इसिमोड, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, आरइआरएल,अन्तर्गतका साझेदार, जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) लगायत संस्थाको प्राविधिक सहकार्यमा कार्यन्वयनमा रहेको कृषि खाद्य प्रणालीको लागि नवीकरणीय ऊर्जा (रेरास) परियोजनाले बुढीगंगामा जलवायुमैत्री कृषि अभ्यास र रैथाने बालीको प्रवद्र्धनमा सहयोग गरिरहेको छ । स्थानीय सरकार, कृषि ज्ञान केन्द्र, सहकारी, किसान र अन्य सरोकारवालाहरुसंगको सहकार्यलाई उत्पादनमुखी बनाउन लागि रहेको छ । यसले कृषि क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान दिन सक्ने विश्वास रहेको छ ।
रैथाने बाली संरक्षण किन आवश्यक छ ?
रैथाने बाली भनेको परम्परादेखि यस क्षत्रमा खेती तथा उपभोग गरिदै आएका बाली जस्को सम्बन्ध स्थानीय धर्मसंस्कृतिसँग तथा परम्पारासँग जोडिएको बालीहरु हुन् । । यी बाली स्थानीय वातावरणसँग अनुकूल हुँदै पुस्तौँदेखि संरक्षण गरिएका कृषि स्रोत हुन् । तिनको संरक्षण गर्नु भनेको स्थानीय बीउ, कृषि ज्ञान, जैविक विविधता र खाद्य संस्कृतिको संरक्षण गर्नु पनि हो ।
जलवायु परिवर्तनका कारण खेतीपातीको समय, अनियमित वर्षाले कृषि उत्पादनमा अनिश्चितता बढिरहेका बेला समेत स्थानीय परिस्थितिमा अनुकूल हुने बालीले उत्पादन दिन सक्ने भएकाले महत्त्व अझ बढी छ । त्यसैले तिनको स्थानीय अनुकूलता, उत्पादन क्षमता, रोगकिराको जोखिम सहन सक्ने क्षमता र पोसिला गुणको अध्ययन गर्दै संरक्षण र विस्तार गर्नु आवश्यक छ ।
रेरास परियोजनाले झुमरो र कागुनोमा पौष्टिक तत्वका साथै अनुकूलताको पनि क्षमता भएको र बजार माग पनि भएको कारणले प्रवद्र्धनलाई जोडदिइएको देखिन्छ । यी बाली किसानका लागि वैकल्पिक आम्दानीको स्रोत बन्न सक्छन् । साथै, खाद्यान्नका सीमित विकल्पमा निर्भरता घटाउन र स्थानीय खाद्य प्रणालीलाई विविधिकरण गर्न सहयोग पुग्ने देखिन्छ ।
संस्थागत प्रयास र स्थानीय तहको समन्वय
बुढीगंगामा रैथाने बालीको प्रवद्र्धनका लागि विभिन्न विकास साझेदार संस्थाले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराइरहेका छन् । रेरास परियोजना ली–बर्ड द्वारा जलवायुमैत्री कृषि प्रविधिको प्रयोगका साथै रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरणमा सहयोग गर्ने प्रयास स्वारुप हातेमालो साना किसान सहकारी संस्थामार्फत किसानलाई आवश्यक औजार तथा उपकरण उपलब्ध गराउने र बीउ बैंकको अवधारणालाई अघि बढाउने काम गर्दै आएको छ ।
रेरास परियोजनाका ली–बर्डका कार्यक्रम अधिकृत शम्भु बस्नेतका अनुसार यस वर्ष बुढीगंगामा करिब चार देखि छ हजार किलोग्राम झुमरो उत्पादन गर्ने लक्ष्य राखिएको छ । उत्पादन बृद्धि सँगै बजारीकरण र बीउ संरक्षणलाई जोड दिने बस्नेतले बताउनु भयो । उत्पादित झुमरो बिक्री भयो कि भएन, किसानले कति मूल्य पाए, उत्पादन लागत कति लाग्यो र अर्को वर्ष खेती विस्तार गर्न किसान कति उत्साहित छन् भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण हुन् ।
यस अभियानमा बुढीगंगा नगरपालिकाको भूमिका निर्णायक हुन्छ ।, कृषि नीति, वार्षिक बजेट, कृषि प्राविधिक सेवा, सिँचाइ, बीउ संरक्षण र बजार व्यवस्थापनका कार्यक्रमलाई रैथाने बाली प्रवद्र्धनलाई जोड्दिनु आवश्यक छ । रेरास परियोजनाबाट सुरु भएका राम्रा कामलाई परियोजना अवधिपछि पनि निरन्तरता दिन स्थानीय सरकारले संस्थागत जिम्मेवारी लिन आवश्यक छ ।
कृषि ज्ञान केन्द्र बाजुराले प्राविधिक परामर्श, उत्पादन प्रणालीको सुधार, बालीको उपयुक्तता पहिचान र किसानको क्षमता विकासमा सहयोग गर्ने भूमिका निर्वाहमा अझै बढी जोड दिनु पर्ने देखिन्छ । विकास साझेदार संस्थाले प्रविधि र प्रारम्भिक स्रोत उपलब्ध गराउने, सहकारीले उत्पादन तथा बजारीकरण व्यवस्थित गर्ने, किसानले गुणस्तरीय उत्पादन गर्ने र स्थानीय सरकारले समन्वय तथा निरन्तरताको जिम्मेवारी लिने स्पष्ट कार्यविभाजन आवश्यक छ । परियोजनाको सहयोग समाप्त भएपछि पनि बीउ बैंक, कृषि उपकरण, सिँचाइ प्रणाली र बजारसम्बन्धी सेवा सञ्चालन भइरहने व्यवस्था अहिलेबाटै बनाउनुपर्दछ ।
जलवायुमैत्री प्रविधिः उत्पादन र वातावरण दुवैको संरक्षण
रैथाने बालीको प्रवद्र्धनसँगै र जलवायुमैत्री कृषि प्रविधिको प्रयोग बुढीगंगाका लागि अर्को महत्त्वपूर्ण पक्ष हो । प्लास्टिक पोखरी, थोपा सिँचाइ, माटो–सिमेन्ट पोखरी, छापो तथा जैविक छापोजस्ता प्रविधिले पानीको उपलब्धतालाई प्रभावकारी रूपमा उपयोग गदै आएको देखिएको पाइयो । सिँचाइको सुविधा सीमित भएका क्षेत्रमा वर्षाको पानी संकलन र माटोमा चिस्यान कायम राख्ने अभ्यास उपयोगी देखिएका छन् ।
त्यस्तै, कम्पोस्ट मल, हरियो मल, र गँड्यौला मलको प्रयोगले माटोको उर्वरा शक्ति सुधार गर्न तथा रासायनिक मलमाथिको परनिर्भरता घटाउन मद्दत गर्ने बताइएको छ ।
पानीको उचित प्रयोग, माटोको संरक्षण, जैविक पदार्थको व्यवस्थापन र स्थानीय रूपमा अनुकूल बालीको छनोटले जलवायु अनुकूलित जोखिमसँग जुध्ने क्षमता बढाउन सक्छ ।
उत्पादनभन्दा ठूलो चुनौती बजार
रैथाने बालीको प्रवद्र्धनमा सबैभन्दा महत्त्वपूर्ण प्रश्न उत्पादनपछि आउँछ—किसानले उत्पादन गरेको वस्तु (रैथाने वा स्थानीय बाली) कसरी उपभोग गर्ने ? कहाँ बेच्ने र कतिमा बेच्ने? तर बजार सुनिश्चित नभए उत्पादन बढे पनि किसानले अपेक्षित लाभ लिन सक्दैनन् । मूल्य माग तथा आपूर्तिले निर्धारण हुन्छ ।
त्यसैले बुढीगंगामा झुमरो र कागुनोको प्रवद्र्धनलाई उत्पादनमुखी कार्यक्रमबाट बजारमुखी कृषि अभियानमा रूपान्तरण गर्न आवश्यक छ । यसका लागि पहिलो चरणमा स्थानीय तथा क्षेत्रीय बजारमा यी बालीको माग, उपभोक्ताको रुचि, बिक्री मूल्य र प्रतिस्पर्धी उत्पादनको अध्ययन गर्नुपर्छ ।
हातेमालो साना किसान सहकारी संस्थाले किसानबाट उत्पादन, संकलन गर्ने, गुणस्तर अनुसार वर्गीकरण गर्ने, प्रशोधन तथा प्याकेजिङ गर्ने र सामूहिक रूपमा बजारमा बिक्री गर्ने प्रणाली विकास गर्न आवश्यक छ । उदाहरणका लागि स्थानीय पसल, होटल, खाद्य सामग्री विक्रेता, सहरी बजार र अनलाइन बिक्रीका सम्भावनाको उपयोग गर्न सकिन्छ ।
नगरपालिकाले कृषि उपज बिक्रीका लागि बजारसम्बन्धी सूचना उपलब्ध गराउने, उत्पादक र खरिदकर्ताबीच समन्वय गराउने तथा स्थानीय उत्पादनको पहिचान स्थापित गर्न सहयोग गर्न सक्छ ।
परियोजना सकिएपछि कसले लिन्छ जिम्मेवारी?
विकास परियोजनाले नयाँ प्रविधि भित्र्याउन, किसानलाई तालिम दिन, उपकरण उपलब्ध गराउन र उत्पादनको सम्भावना देखाउन महत्त्वपूर्ण भूमिका खेल्दछन् र त्यही भूमिका रेरास परियोजनाबाट पनि भएको छ । तर कुनै पनि परियोजनाको वास्तविक सफलता त्यसले सुरु गरेका काम परियोजनाको अवधि समाप्त भएपछि पनि निरन्तरताले निर्धारण गर्छ ।
रेरास परियोजनाले सहयोग गरेका प्रविधि, उपकरण, र उत्पादन प्रणालीको दीर्घकालीन व्यवस्थापनका लागि अहिलेबाटै योजना आवश्यक छ । किसानलाई परियाजना पछि प्राविधिक सेवा कसले उपलब्ध गराउने भन्ने प्रश्नको उत्तर स्पष्ट हुनुपर्छ ।
स्थानीय सरकारले प्रविधिको उपयोगिता, कृषकले दिएको निरन्तरता, र आएको सकारात्मक परिवर्तन जस्ता तथ्यमा आधारित अनुगमन र सार्वजनिक समीक्षा गर्ने अभ्यास विकास गरेमा कार्यक्रमको प्रभावकारिता बढ्नुका साथै आगामी बजेट र योजनालाई परिणाममुखी बनाउन सकिन्छ ।
स्थानीय उत्पादनबाट स्थानीय समृद्धितर्फ
रैथाने बालीको प्रवद्र्धनलाई कृषि उत्पादनको विषयमा मात्र सीमित राख्नु हुँदैन । यसलाई यस क्षेत्रको परिचय, रोजगारी, महिला तथा युवा सहभागिता, खाद्य सुरक्षा, पोषण, उद्यमशीलता र वातावरण संरक्षणसँग जोड्नुपर्छ ।
स्थानीय विद्यालय, सहकारी र समुदायस्तरमा रैथाने बालीको महत्त्वबारे जानकारी विस्तारमा अझै जोड दिनआवश्यक छ । स्थानीय उत्पादनको प्रयोग बढाउन सके आयातित खाद्यान्नमाथिको निर्भरता केही हदसम्म घटाउन र स्थानीय खाद्य संस्कृतिलाई निरन्तरता दिन सकिन्छ । बुढीगंगाको अनुभवलाई अन्य स्थानीय तहसम्म विस्तार गर्न पनि आवश्यक देखिन्छ ।
सहयोगबाट आत्मनिर्भरतातर्फ
बुढीगंगामा रैथाने बालीको संरक्षण र जलवायुमैत्री कृषि प्रविधिको प्रवद्र्धन आशालाग्दो पहल देखिएको छ । यसले परम्परागत ज्ञानको अभिलेखिकरणको साथै वातावरणमैत्री उत्पादन, खाद्य सुरक्षा र किसानको आयआर्जनमा टेवा पुर्याउने सम्भावना रहेको छ । सम्भावनालाई वास्तविक उपलब्धिमा बदल्न विकास साझेदार संस्थाको सहयोग, स्थानीय सरकारको नेतृत्व, प्राविधिक निकायको भूमिका, सहकारीको सक्रियता र किसानको सहभागिताबीच बलियो सम्बन्ध हुन आवश्यक छ ।
रेरास परियोजनाले सुरु गरेका राम्रा कामलाई दीर्घकालसम्म निरन्तर हुनुपर्छ। स्थानीय स्तरमा उत्पादित रैथाने बाली उचित मूल्यमा बिक्री हुने र अर्को वर्ष अझ व्यवस्थित उत्पादन गर्ने आधार देखिएको छ ।
त्यसका लागि स्थानीय सरकारले रैथाने बाली प्रवद्र्धनलाई वार्षिक योजना र बजेटमा समेट्नुपर्छ । विकास साझेदार संस्थाले हस्तान्तरणयोग्य प्रणाली विकास गर्नुपर्छ । सहकारीले उत्पादन र बजारको जिम्मेवारी लिनुपर्छ । प्राविधिक निकायले गुणस्तर र उत्पादन प्रणालीमा सहयोग गर्नुपर्छ ।
रैथाने बालीको संरक्षण कुनै एक परियोजना वा संस्थाको जिम्मेवारी मात्र होइन । यो स्थानीय समुदायको खाद्य भविष्य, कृषि पहिचान र आर्थिक आत्मनिर्भरतासँग जोडिएको साझा अभियान हो । बुढीगंगामा अहिले सञ्चालनमा गरेको अभ्यासलाई योजनाबद्ध, पारदर्शी र बजारमुखी बनाउन सके झुमरो र कागुनो केवल परम्परागत अन्नमा सीमित रहने छैनन्; । ती स्थानीय समृद्धि, दिगो कृषि र जलवायु परिवर्तनसँग अनुकूलित विकासका आधार बन्न सक्छन् । किन कि यी रैथाने तथा स्थानीय बालीको खेती गर्न कुनै पनि प्रकारका वाह्य स्रोतको आवश्यकता पर्दैन् ।
अन्ततः रैथाने बालीबाट समृद्धिको खोजी सफल हुन किसानले उत्पादन गर्न सक्ने, बजारले उचित मूल्य दिन सक्ने र स्थानीय सरकारले त्यसलाई दीर्घकालसम्म टिकाउन सक्ने वातावरण निर्माण हुनु आवश्यक छ । सहयोगबाट सुरु भएको अभियान स्थानीय स्वामित्व र आत्मनिर्भरतामा रूपान्तरण हुनु नै बुढीगंगाको जलवायुमैत्री कृषि अभ्यासको वास्तविक सफलता हुनेछ ।
(लेखक लक्ष्मीराज पाध्याय बाजुरा सन्देशका प्रकाशक तथा समसामुहीक बिषयमा कलम चलाउने पत्रकार हुन )
प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार