बाजुरा-– बाजुरा जिल्लामा एक साताको अवधिमा तीन जना सुत्केरी महिलाले स्वास्थ्य संस्था पुग्न नपाउँदै बाटोमै बच्चा जन्माएका छन्। साउन ११, १५ र १८ गते भएका यी तीन छुट्टाछुट्टै घटनाले दुर्गम बस्तीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा अझै कति कमजोर अवस्थामा छ भन्ने यथार्थ फेरि उजागर गरेको छ। सरकारले संस्थागत सुत्केरी बढाउने, मातृ मृत्युदर घटाउने र प्रत्येक गर्भवतीलाई सुरक्षित प्रसूति सेवा उपलब्ध गराउने नीति अघि सारे पनि बाजुराका विकट गाउँहरूमा सडक, एम्बुलेन्स र समयमै स्वास्थ्य सेवा नपुग्दा महिलाहरू अझै बाटोमै बच्चा जन्माउन बाध्य भइरहेका छन्।
पहिलो घटना : स्वास्थ्य चौकी पुग्नुअघि नै स्टेचरमै छोरीको जन्म
साउन ११ गते बाजुराको गौमुल गाउँपालिका–५, कोटकी २० वर्षीया कमला बुढालाई सुत्केरी व्यथा सुरु भएपछि आफन्तले नक्राडा आधारभूत स्वास्थ्य केन्द्रतर्फ लगे। लगातारको वर्षा, उकालो–ओरालो बाटो र दुर्गम भौगोलिक अवस्थाका कारण स्वास्थ्य केन्द्र पुग्न अझै करिब ४० मिनेट लाग्ने अवस्था थियो। घरबाट करिब आधा घण्टा हिँडेपछि कमलाको व्यथा अत्यधिक बढ्यो। बच्चाको टाउको निस्किसकेको अवस्थामा उनलाई अगाडि लैजान सम्भव भएन।
आफन्तले स्टेचरमै राखेर स्वास्थ्यकर्मीलाई खबर गरे। बिहान ५:२० बजे खबर पाएपछि नक्राडा आधारभूत स्वास्थ्य केन्द्रकी अनमी हिमा नेपाली आवश्यक सामग्री बोकेर घटनास्थल पुगिन्। “आमाको अवस्था निकै गम्भीर थियो। लगातार वर्षा भइरहेको थियो भने अत्यधिक रक्तस्राव हुने जोखिम पनि थियो। बाध्यतावश बाटोमै स्टेचरमा सुरक्षित सुत्केरी गराउन सफल भयौँ,” अनमी हिमाले बताइन्। उनले सकुशल छोरीको जन्म गराइन्। आमा र नवजात शिशुलाई स्वास्थ्य चौकीमा २४ घण्टा निगरानीमा राखी अवस्था सामान्य भएपछि घर पठाइएको थियो।
दोस्रो घटना : स्वास्थ्य संस्था पुग्नुअघि ओडारमै जन्मियो छोरा
साउन १५ गते स्वामिकार्तिक खापर गाउँपालिका–२, उदिउनाकी २४ वर्षीया सौरी बुढाले बाटो नजिकैको ओडारमै दोस्रो सन्तानका रूपमा छोरालाई जन्म दिइन्। बिहान करिब ४ बजे व्यथा सुरु भएपछि परिवारले उनलाई फयालगाउँ आधारभूत स्वास्थ्य संस्थातर्फ लैजाँदै थियो। करिब एक घण्टा हिँडिसकेपछि मतियान भन्ने स्थानमा पुगेका बेला व्यथा असह्य भएपछि नजिकैको ओडारमा सारिएको थियो।
सुत्केरीको अवस्था जटिल बनेपछि उनका श्रीमान् हिरा बुढा स्वास्थ्य संस्थामा पुगेर अनमी नमुना खत्रीलाई खबर गरेका थिए। खबर पाएपछि अनमी खत्री स्ट्रेचर र आवश्यक सामग्रीसहित घटनास्थल पुगिन्। अनमी खत्रीका अनुसार आमा र नवजात दुवैको अवस्था अहिले सामान्य छ।
तेस्रो घटना : स्थानीयले स्टेचरमा बोके पनि बीच बाटोमै जन्मियो शिशु
साउन १८ गते फेरि स्वामिकार्तिक खापर गाउँपालिकामै अर्को घटना दोहोरियो। स्वामिकार्तिक खापर–३, जोरु गाउँकी २४ वर्षीया अनिता महतारालाई सुत्केरी व्यथा लागेपछि गाउँका ३–४ जना युवाले स्टेचरमा बोकेर स्वास्थ्य संस्थातर्फ लैजाँदै थिए। तर दुर्गम पैदल बाटो पार गर्न नसक्दै उनले बीच बाटोमै बच्चा जन्माइन्। जुकोट स्वास्थ्य चौकीकी अनमी ज्ञानुदेवी शाहीका अनुसार स्वास्थ्य संस्थाको पहुँचसम्म पुर्याउन नसक्दा बाटोमै प्रसूति गराउनुपरेको हो। अहिले आमा र नवजात शिशु दुवैको अवस्था सामान्य रहेको उनले जानकारी दिइन्।
एक सातामा तीन घटना : संयोग मात्र कि प्रणालीको असफलता ?
यी तीनवटै घटनामा एउटा समान पक्ष देखिन्छ—सबै महिलाले स्वास्थ्य संस्था पुग्ने प्रयास गरिरहेका थिए। उनीहरू घरमै बस्न चाहेका थिएनन्। परिवारले स्टेचरको व्यवस्था गरेको थियो। कतै स्वास्थ्यकर्मी आफैँ दौडिए, कतै श्रीमान् सहयोग माग्न पुगे, कतै स्थानीय युवाले रातभरि बोकेर लगे। तर स्वास्थ्य सेवा उनीहरूसम्म समयमै पुग्न सकेन।
यसले समस्या व्यक्तिगत नभई संरचनागत रहेको स्पष्ट देखाउँछ। सडक छैन, एम्बुलेन्स पुग्दैन, हेलिकोप्टर सामान्य नागरिकको पहुँच बाहिर गौमुल र स्वामिकार्तिक खापर गाउँपालिकाका धेरै बस्ती अझै पनि वर्षायाममा सडक सञ्जालबाट लगभग विच्छेद हुने गर्छन्। स्वास्थ्य संस्था पुग्न कतिपय गाउँबाट ३ देखि ६ घण्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता छ। सडक पुगेका ठाउँमा पनि वर्षाका कारण यातायात नियमित चल्दैन।फलस्वरूप बिरामीलाई स्टेचरमै बोकेर लैजानु यहाँको सामान्य दृश्य बनेको छ।
तीनै घटनामा अनमीहरूले जोखिम मोलेर घटनास्थल पुगेर प्रसूति गराए। उनीहरूको सक्रियताले आमा र शिशुको ज्यान जोगियो। तर स्वास्थ्यकर्मीको व्यक्तिगत समर्पणले मात्रै यस्तो समस्या दीर्घकालीन रूपमा समाधान हुन सक्दैन। आवश्यक उपकरण, बर्थिङ सेन्टरको क्षमता, आकस्मिक उद्धार प्रणाली, प्रसूति प्रतीक्षा गृह तथा नियमित एम्बुलेन्स सेवाको अभाव अझै कायमै छ।
नेपाल सरकारले संस्थागत सुत्केरी बढाउन निःशुल्क प्रसूति सेवा, यातायात प्रोत्साहन रकम र सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गरिरहेको छ।तर बाजुराका दुर्गम बस्तीमा भौगोलिक विकटता, कमजोर सडक, सीमित स्वास्थ्य पूर्वाधार र यातायात अभावका कारण ती कार्यक्रमको प्रभाव अपेक्षित रूपमा देखिएको छैन।
गर्भवती महिलाले अन्तिम समयमा घण्टौँ स्टेचरमा यात्रा गर्नुपर्ने अवस्था अन्त्य नभएसम्म सुरक्षित मातृत्वको लक्ष्य पूरा हुन कठिन देखिन्छ।स्थानीयवासीले वर्षौंदेखि सडक, नियमित एम्बुलेन्स सेवा, प्रत्येक दुर्गम बस्ती नजिक बर्थिङ सेन्टर तथा जोखिमयुक्त गर्भवतीका लागि प्रसूति प्रतीक्षा गृह सञ्चालन गर्न माग गर्दै आएका छन्।
एक सातामै तीन महिलाले बाटोमै बच्चा जन्माएको घटनाले बाजुराको दुर्गम क्षेत्रको स्वास्थ्य प्रणाली अझै कति कमजोर छ भन्ने स्पष्ट सन्देश दिएको छ। यी घटनामा आमा र नवजातको ज्यान जोगिनु सुखद पक्ष भए पनि यस्तो अवस्था दोहोरिरहनु राज्यका लागि गम्भीर चेतावनी हो। प्रश्न अब एउटै छ—अर्को सुत्केरी पनि बाटोमै बच्चा जन्माउन बाध्य हुने कि राज्यले समयमै समाधान दिने?
प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार