सुशिल राेकाया: गरिबी र पीडाको भुमरीमा बाँचेका विपन्न परिवारमाथि दैव पनि कति क्रूर बन्न सक्छ भन्ने एउटा कारुणिक उदाहरण बाजुराको गौमुल गाउँपालिकामा देखिएको छ। ठीक एक वर्षअघि भीरबाट खसेर श्रीमान् गुमाएकी असहाय बुदी बोहराको थाप्लोमा वर्षदिन नपुग्दै प्रकृतिले अर्को भयानक बज्रपात आइलागेको छ। बेसहारा गरिबप्रति दैवले पनि पीडामाथि पीडा थपिदिएको छ, जहाँ आशाका किरणहरू हराएका छन् भने भरोसाहरू पूर्ण रूपमा टुटेका छन्।
अग्ला र डरलाग्दा पहाडका छेउ, अनि भिरालो पाखो र कच्ची जमिनमा जोखिमयुक्त थातथलो थापेर बस्नुपर्ने यहाँका अधिकांश बजुरेली स्थानीयको पुस्तौनी बाध्यता हो। त्यही बाध्यताको एउटा सानो झुप्रोमा बस्दै आएका गौमुल–३ कटीगाउँका ४१ वर्षीय वीरेन्द्र बोहराको गत वर्ष असार ३१ गते घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको थियो। प्रकृतिको प्रकोप पनि कस्तो गजबको हुने रहेछ, अभावमा बाँचेकाहरूलाई प्रकृतिले पनि हेला गर्ने रहेछ भन्ने कुरा आज बुदी बोहराको आँसुले प्रमाणित गरिरहेको छ। उनका दुइ छाेराछाेरी समेत टुहुरा बनेका छन ।
दिनभरिको २४ घण्टामा झन्डै १६ घण्टा कठोर श्रम गरेर दैनिक गुजारा चलाउने यो विपन्न परिवारको सपनाको संसार बिहीबार क्षणभरमै ढलेको छ। श्रीमान् बितेपछिका यादहरू सङ्गाल्दै, त्यही घरको एउटा कुनामा बसेर साना छोराछोरी हुर्काउने र उनीहरूको भविष्य सजाउने बुदीको सपना आज पहिरोसँगै सदाका लागि तुहिएको छ।
बिहीबार साँझ साढे ४ बजे अविरल वर्षासँगै गाउँमाथिबाट खसेको भीषण पहिरोले ३८ वर्षीया बुदी बोहराको ढुङ्गा, माटो र पत्थरले छाएको तीनतले घर पूर्ण रूपमा सखाप पारेको छ। पहिरोमा उनको घरमा रहेको अन्नपात, भाँडावर्तन, लत्ताकपडा लगायत गोठमा रहेका २ वटा गाई, १ वटा कुखुरा र ७ वटा खरायो पुरिएका छन्।
अघिल्लो वर्ष बुदीको दैवले सिन्दूर पुछेर लगेको थियो, यस वर्ष ओत लाग्ने छानो र बाँच्ने आधारसमेत सखाप पारिदियो। साना–साना छोराछोरीलाई च्यापेर पहिरोले पुरिएको घरको भग्नावशेष हेर्दै बुदी बोहरा भक्कानिएकी छिन्। “दैब पनि गरिबमाथि नै निष्ठुरी हुँदो रहेछ, पहिले श्रीमान् खोस्यो, अहिले ओत लाग्ने छानो र गाँस पनि खोस्यो, अब यी साना बच्चा लिएर कहाँ जाऊँ?” उनी डाँको छोडेर रोइरहेकी छिन्।
यस प्राकृतिक विपत्तिमा बुदी बोहरा मात्र एक्ली पीडित बनेकी छैनन्। पहिरोले सोही ठाउँका ५७ वर्षीय पुर्निमल बोहराको पनि तीनतले घर पूर्ण रूपमा क्षति पारेको छ। पुर्निमलको घरमा रहेको अन्नपात, लुगाकपडा सँगै गोठमा रहेका ३ वटा गाई पनि पहिरोमा पुरिएका छन्। पहिरोका कारण कटीगाउँका अन्य १२ वटा घरहरू समेत उच्च जोखिममा परेका छन्।
घटना लगत्तै इलाका प्रहरी गौमुलका सहायक निरीक्षक प्रेम बहादुर शाहुको कमाण्डमा ३ जनाको टोली घटनास्थलतर्फ प्रस्थान गरेको थियो। लगातारको वर्षा र कठिन भौगोलिक विकटताका कारण राति साढे ९ बजे मात्र प्रहरी टोली घटनास्थल पुगेको थियो।
राति र लगातारको वर्षाका कारण उद्धारमा कठिनाइ भए पनि गाउँपालिका अध्यक्ष हरि बहादुर रोकाया र वडा अध्यक्ष गोरख बोहराको समन्वयमा जोखिममा रहेका तथा क्षति भएका १४ घरधुरीका करिब ११५ जना व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारिएको छ। उनीहरूलाई स्थानीय देवेन्द्र धामीको खाली जमिनमा वडा कार्यालयबाट उपलब्ध गराइएका त्रिपालको टहरा बनाई आश्रय दिइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
विपत्तिमाथि विपत्ति थपिएर गहिरो शोक र अभावमा डुबेको बोहरा परिवार र विस्थापित अन्य स्थानीयलाई यतिबेला तत्काल गाँस, बास र दीर्घकालीन पुनर्स्थापनाको ठुलो आवश्यकता छ। यो कारुणिक घडीमा स्थानीय सरकारको प्रशंसनीय सक्रियतासँगसँगै विभिन्न सामाजिक सङ्घसंस्था तथा मनकारी दाताहरूले पनि पीडितहरूको घाउमा मलम लगाउन देखिएको छ।
प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार