७ मंसिर २०८३, आईतवार

१२ धार्नी फलामको भकुण्डो खेलेर जितिएको त्यो लडाइँ… जसले जन्म दियो गौमुलको ‘मैझाडो’ पर्व


सुशिल राेकाया/बाजुरा : सुदूरपश्चिमको पहाडी जिल्ला बाजुराको गौमुल गाउँपालिका–३ धल्काँडामा हरेक वर्ष मंसिर ७ र ८ गते मनाइने मौलिक पर्व ‘मैझाडो’ केवल खेतीपाती र गोरुलाई आराम दिने पर्व मात्र नभई सदियौँ पुरानो ऐतिहासिक वीरता, एकता र सामाजिक सद्भावको प्रतीक मानिन्छ।
मध्यकालको मध्यतिर अर्थात् वि.सं. १४१४ सालतिरको खस साम्राज्यकालीन इतिहास, कोटे राजाको अत्याचारविरुद्धको विद्रोह, १२ धार्नी फलामको भकुण्डो बनाएर ९ वर्षसम्म ‘गिरी’ खेलेको रोचक प्रसंग र सात राठी (थर/जात) बीचको ऐतिहासिक मेलमिलापसँग यो पर्वको गहिरो साइनो जोडिएको छ।
खस साम्राज्यको विघटन र ‘द्यासी राजा’ को ज्यादती
ऐतिहासिक तथ्य र स्थानीय बूढापाकाहरूको भनाइअनुसार मध्यकालको मध्यतिर (वि.सं. १४१४ सालतिर) जुम्लाको सिञ्जा उपत्यकाबाट विशाल खस साम्राज्य चलिरहेको थियो, जसमा हालका बाजुरा र बझाङ जिल्ला पनि शासित थिए।

त्यतिबेला सिञ्जा खस राज्यका शक्तिशाली राजा पृथ्वी मल्ल थिए भने छिमेकी राज्य डोटीले विद्रोह गरी अलग हुने प्रयास गरिरहेको थियो।
सिञ्जा राज्य कमजोर भई विघटन हुँदै गएपछि वि.सं. १४५० देखि १५०० को बीचमा केन्द्र (सिञ्जा/दुल्लु) बाट सिधै शासन गर्न कठिन हुने भएकाले स्थानीय ‘विषयपति’ वा सामन्तहरू ‘कोटे’ वा ‘छोटे राजा’ बनेर शासन गर्न थाले। उनीहरूले सोझा जनतामाथि अन्याय, अत्याचार, अनेक खालका ज्यादती गर्ने र महँगो कर उठाउने गर्दथे। सोही क्रममा बाजुराको गौमुलस्थित च्याङ्से क्षेत्रमा पनि एक शक्तिशाली स्थानीय शासक थिए, जसलाई स्थानीय लवजमा ‘द्यासी (ब्यासे) राजा’ भनिन्थ्यो।

अत्याचारविरुद्ध विद्रोह, अनि ९ वर्षे ‘गिरी’ खेल

स्थानीय किंवदन्तीअनुसार च्याङ्सेका ‘द्यासी राजा’ ले त्यहाँका धामी जातका मानिसहरूमाथि अत्यधिक अन्याय, अत्याचार र करको बोझ थप्न थाले। राजाको ज्यादतीविरुद्ध धामी समुदाय एक्लैले लडेर केही गरी पनि जित्न नसकेपछि तत्काल जोशीकहाँ हेराउन गए। जोशीकै सल्लाह बमोजिम बझाङबाट बोहराहरूलाई बोलाएर ल्याइयो र स्थानीय रोकायाहरूलाई समेत साथमा लिएर राजाविरुद्ध विद्रोह गरी राजालाई परास्त गर्न सफल भए।
तर, राजा परास्त भएपछि उनले भोगचलन गर्दै आएको जंगल र जमिनको स्वामित्वलाई लिएर बझाङ र बाजुराका व्यक्तिहरूबीच पुनः ठूलो विवाद सुरु भयो। उक्त विवाद र लडाइँ करिब ९ वर्षसम्म चल्यो। लामो समयसम्म लडाइँ नजितिएपछि बाजुराका स्थानीय पुनः जोशीकहाँ हेराउन गए। जोशीले उक्त लडाइँ जित्नका लागि ‘लेब्ण्या रोकाया’ र ‘चेब्ण्या सार्की’ नाम गरेका व्यक्तिहरूको साथ खोज्न सल्लाह दिए।
खोजी गर्ने क्रममा ती नाम गरेका वीर व्यक्तिहरू पडीकोट र गदाडामा भेटिए। पडीकोटका लेब्ण्या रोकाया र गदाडाका चेब्ण्या सार्कीको साथ पाएपछि त्यतिबेला १२ धार्नी फलाम (लुवा) को भकुण्डो बनाउन लगाएर ‘गिरी’ खेलिएको थियो। करिब ९ वर्षसम्म चलेको उक्त ऐतिहासिक गिरी खेल र सङ्घर्षपछि मात्र बाजुरावासीले बझाङका दयालहरूसँगको लडाइँ जित्न सफल भएको जनश्रुति रहेको छ।
कालिका भगवतीको मन्दिरमा ऐतिहासिक ‘सत धर्म’ र एकता
वर्षौँको लडाइँ, गिरी खेल र तिक्ततापछि सर्जन रोकायाले अब आपसमा लडाइँ झगडा नगरी जितपछिको एकतालाई सधैँ कायम राख्दै “अबबाट दिनको दिन, बारको बार कैलाश र धलपुरा देवता मान्ने” प्रस्ताव राखे। उनको प्रस्तावमा लडाइँमा संलग्न बाजुरा र बझाङका सातवटै राठी (धामी, बोहरा, मज्याडी बोहरा, माझपाले रोकाया, पडीकोटे रोकाया, गदाडी सार्की र बझाङका दयाल) सहमत भए।
त्यसपछि धल्काँडास्थित कालिका भगवती मन्दिरको होम (हुमन) मा कैलाश र धलपुरा देवतालाई साक्षी राख्दै सातै थरका मानिसहरूले माथिबाट गहुँतले हात धुँदा तल दूधको कुण्ड बनेको जनविश्वास छ। सोही अलौकिक घटनापछि सातै समुदायले धार्मिक हिसाबले एउटै सूत्रमा बाँधिएर ‘सत धर्म’ कसम खाए। स्थानीय संस्कृतिका जानकार मान बहादुर बोहराका अनुसार तत्कालीन समयमा बाँधिएको त्यही सद्भाव र एकताको धर्म आजसम्म पनि कायम रहेको छ, जसको सम्झनामा ‘मैझाडो’ पर्व मनाउन थालिएको हो।
गोरुलाई छुट्टी, पूजाआजा र ‘किसान दिवस’ को पहिचान
धार्मिक र ऐतिहासिक एकतासँगै यो पर्व कृषि परम्परा र पशुप्रतिको सम्मानसँग पनि उत्तिकै जोडिएको छ। असारमा रोपाइँ गरी धान, कोदो, मकैजस्ता वर्षे बाली भित्र्याएपछि र हिउँदे बाली (गहुँ, जौ) छर्ने काम सकिएपछि वर्षभरि खेतबारी जोत्न खटिने गोरुलाई सम्मानस्वरूप आराम (छुट्टी) दिने दिनका रूपमा मैझाडो मनाइन्छ।
मैझाडोका दिन बिहानै पाते, दल्लेरी, कटिगाउँ, गर्जे, माझपाली लगायतका गाउँका किसानहरूले गोठबाट हल गोरु निकालेर मीठो परिकार खुवाएर पूजा गर्ने प्रचलन छ। गौमुल–३ का वडाध्यक्ष गोरख बोहराका अनुसार वि.सं. २०७० सालदेखि गाउँकै पहलमा यस पर्वलाई ‘किसान दिवस’ का रूपमा समेत निरन्तरता दिइँदै आएको छ।
उबेला बाजुराका विभिन्न कोट र थुमहरूमा आफ्नै मौलिक पर्व मनाउने चलन थियो। दहकोटमा चौधस, मानाकोट र बार्जुकोटमा दसैं, जुगाडामा गौरा, ताप्रामा हरिनो र मार्तडीमा अनन्ते भएजस्तै धल्काँडामा ‘मैझाडो’ मनाउने परम्परा रहिआएको स्थानीय जानकारहरू बताउँछन्।
यस वर्ष पनि भोलि र पर्सि अर्थात् वि.सं. २०८३ मंसिर ७ र ८ गते धल्काँडास्थित कालिका भगवती मन्दिर परिसरमा विशेष पूजाआजासहित भव्य मैझाडो मेला लाग्दैछ। मेलामा बाजुरा साथै छिमेकी जिल्ला बझाङबाट समेत दर्शनार्थीहरू पुग्ने गर्दछन्। मेलामा रातभर स्थानीय परम्परागत संस्कृति झल्काउने देउडा,नाचगान गरी रमाइलो गर्ने प्रचलन छ। यो बर्ष देउडा खेलका लागि चर्चित देउडा खेलाडी सबिता खड्का र दलबिर जेठारा लाई आमन्त्रण गरिएको मेला ब्यस्थापन समितिले जानकारी दिएको छ ।
ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस रैथाने पर्व ‘मैझाडो’ को अवलोकन तथा दर्शनका लागि देश तथा विदेशमा रहेका सम्पूर्ण आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूलाई आयोजक तथा स्थानीयवासीले हार्दिक ‘चुले निम्तो’ समेत दिएका छन्।


प्रकाशित मिति: ६ मंसिर २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार