२४ बैशाख २०८३, बिहीबार

गौमुलको प्रमुख प्रशासकीय अधिकृतमा कुमारधर भट्टलाई खटाइयो


बाजुरा–सरकारले बाजुराको गौमुल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कुमारधर भट्टलाई खटाएको छ । लामो समयदेखि निमित्तको भरमा चल्दै आएको गौमुलमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा शाखा अधिकृत कुमारधर भट्टलाई खटाएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वैशाख २२ गतेको निर्णयअनुसार भट्टलाई गाउँपालिकाको प्रशासकीय अधिकृतमा कामकाजका लागि खटाएको छ । यसअघि पनि गाउँपालिकामा सरकारले पटकपटक प्रमुख प्रशासकीय अधिकृतमा दरबन्दीअनुसार शाखा अधिकृत खटाए पनि नआउने समस्या रहदैँ आएको छ । तर अहिलेको सरकारले कर्मचारीहरुलाई खटाएको सम्बन्धित स्थानीय तहमा तत्काल हाजिर हुन र नभए मार्ग प्रशस्त गर्न निर्देशन दिदैँ आएको छ । मन्त्रालयको निर्देशन नमान्ने कर्मचारीहरुलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिइरहेको छ ।

विगत लामो समयदेखि निमित्तको भरमा सञ्चालन भइरहेको गौमुलमा अब नयाँ प्रमुख प्रशासकीय अधिकत खटाइएपछि पालिकामा सेवा प्रवाहसँगै प्रशासनिक कामकाज थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

विशेषगरी दुर्गम क्षेत्रका स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृत नखटाउने र खटाए पनि नआउने समस्या व्याप्त छ । दुर्गम क्षेत्रमा काम गर्न नजाने सरकारी कर्मचारीको दूषित मानसिकताको शिकार स्थानीय तह, त्यहाँको विकास निर्माण, दैनिक प्रशासन सञ्चालन, सुशासन र सेवा प्रवाहसम्ममा परेको छ । स्थानीय तहमा चर्किने गरेको राजनीतिक विवाद, अनुचित कामका लागि स्वार्थ समूहबाट आउने दबाब लगायतका कारण पनि स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृतहरु खटाउन र टिकाउन समस्या पर्ने गरेको संघीय मामिला मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

स्थानीय तहहरुले रोजी–रोजी प्रमुख प्रशासकीय अधिकृत लैजाने र अनुकूलका व्यक्ति नपाए गाउँपालिकाका कनिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी दिलाउने क्रम रोकिएको छैन । संघका कर्मचारीहरु सामान्य प्रशासनको अतिरिक्तमा बस्न तयार हुने तर स्थानीय तहमा कर्मचारी जानै नमान्ने समस्या समेत छ ।


प्रकाशित मिति: २४ बैशाख २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives