२४ बैशाख २०८३, बिहीबार

साउने गाउँको जिउलो ६ वर्षदेखि बाँझै


बाजुरा:  बाजुराको बुढिनन्दा नगरपालिका १ साउनेगाउँमा रहेको जिउलो ६ वर्षदेखि बाँझै रहेको छ । २०७८ साल कात्तिक महिनामा परेको अविरल बर्षाका कारण आएको बाढीले सिँचाइ कुलो बगाउँदा जिउलो बाझिन पुगेको हो । साउने गाउँको जिउलोमा वर्षाको समयमा खेती भए पनि सिँचाइ कुलो नहुँदा हिउँदमा बाँझो रहने गरेको छ ।

१ सय ५० घरधुरीले खेती गर्दै आएको खेतमा स्थानीयले हिउँदे बाली लगाउन पाएका छैनन् । ‘बाली लगाउँछौं पानी नहुँदा उत्पादन हुदैँन, हामीले खाली दु:ख मात्रै गरिरहेका छौं’ स्थानीय वीरबहादुर महतराले दुखेसो भने । बुढीनन्दा नगरपालिका–१, स्थित साउने गाउँ सिँचाइ कुलो भत्किदा विगत चार वर्षदेखि जिउलाबाट सिँचाइ नहुँदा किसानले खेतीपाती गर्न सकेका छैनन् ।

स्थानीयले अस्थायी रूपमा भत्किएको ठाउँमा कुलो सम्याउने र पाइप राखेर पहिलो वर्ष खेती लगाए पनि पुन: नदीले कटान गर्दा कुलो भत्किएर सिँचाइ हुन नसकेको स्थानप्य सेते तिरुवाले बताए । कृषकहरूले जति प्रयास गर्दा पनि पानी ल्याउन नसकेको र लागत बढी लाग्ने भएकोले खेतमा पानी पुर्‍याउन नसकेको तिरुवाको भनाइ छ । सिँचाइ कुलो निर्माणका लागि बुढीनन्दा नगरपालिकालाई अनुरोध गर्दा पनि सुनुवाई नभएको उनीहरू बताउँछन् ।

जिउलो पानी नपाएर  बाँझो रहेको साउनेगाउँका कृषक धनलाल गिरीले बताए । कुलो बाढिले बगाएपछि उब्जनी नहुँदा परिवार पाल्नकै लागि भारततर्फ जानु पर्ने बाध्यता रहेको कृषक गिरीले बताए । सिँचाइ नहरको सुविधा नहुँदा लगाइएका गहुँ बालीहरू सुक्दै जान थालेको गिरीको भनाइ छ । अहिले मंसिर लागिसक्दा अन्य ठाउँमा हरियाली भए पनि यहाँका खेतहरू बाँझै देखिको कारण विरक्त लाग्न थालेको कृषक गिरीले बताए ।

खेतबाट उब्जाउ नहुने भएपछि पेट पाल्न अरूको भर पर्नु पर्ने अवस्था आएको गिरी बताउँछन् । हिउँदको समय सुरु हुने बित्तिकै यहाँका सबै कृषक कालापहाड (भारत) मा गई खाद्यान्न ल्याएर पेट पाल्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ । साउने गाँउ सिँचाइ कुलोमा १ सय ५० घरपरिवारको ३ सय २० पाथी जग्गा रहेको अगुवा लक्ष्मण जोशीले बताए । जनताको पहिलो आधारभूत आवश्यकता भनेको गाँस बास र कपासको हो ।

गाँस, बास र कपासका लागि हारगुहार गर्दा पनि तीन तहको सरकार बेखवर बनेको जोशीको भनाइ छ । सिँचाइ नहर नहुँदा हिउँदे बाली लगाउन समस्या भएको छ । सिँचाइ कुलोको अभावले सुकेको गहुँ बालीमा पानी लगाउन पनि निकै समस्या भएको उनले बताए । नगरपालिकालगायत तीन तहका सरकारसँग हारगुहार गर्दा पनि कसैले नहर बनाउन सहयोग नगरेको त्यहाँका कृषकहरूको भनाइ छ । कोल्टी क्षेत्र उसै पनि खडेरीग्रस्त क्षेत्र हो ।

लामो समयसम्म पानी नपर्दा किसानहरू झनै समस्या परेका छन् । उक्त जमिनमा किसानहरूले एक बाली मात्रै खेती गर्दै आएका छन् । सिँचाइ सुविधा नहुँदा एकबाली मात्रै खेती हुने गरेको कृषकहरूले धानबाली भित्र्याएपछि हिउँदे बाली लगाउन छोडिसकेका छन् । वर्षातमा धान रोप्न आकाशे पानीको भर पर्नुपर्छ । राम्रोसँग पानी नपरे धान रोप्न मुस्किल हुने गरेको कृषकहरू बताउँछन् ।


प्रकाशित मिति: ६ बैशाख २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives