२४ बैशाख २०८३, बिहीबार

३२ वर्षदेखि सञ्चालनमा रहेको करोडौंको जलविद्युत् आयोजना पूर्णरूपमा बन्द


लक्ष्मीराज पाध्याय बाजुरा: कुनै समय बाजुरा सदरमुकाम मार्तडी बजारलाई झिलिमिली बनाउने जिल्लाकै पहिलो विद्युत् आयोजना हाल पूर्णरूपमा बन्द भएको छ । करोडौं रुपैयाँको लगानीमा निर्माण गरिएको बाजुरा साना जलविद्युत् आयोजना बन्द भएको पाँच वर्ष बितिसक्दा पनि यसको संरक्षण र उपयोगबारे कुनै ठोस निर्णय हुन नसक्दा बन्द भएको हो । २०४२ सालमा निर्माण सुरु भई २०४६ सालमा सञ्चालनमा आएको २०० किलोवाट क्षमताको उक्त आयोजना जापान सरकारको आर्थिक सहयोगमा निर्माण भएको थियो । करिब दुई करोड ५० लाख रुपैयाँ लागतमा फुजी कम्पनीले निर्माण गरेको यो आयोजना बाजुरा जिल्लाको विकासको एउटा महत्त्वपूर्ण आधार मानिन्थ्यो ।

जिल्ला सदरमुकाम मार्तडीमा सञ्चालनमा रहेको जिल्लाकै पहिलो आयोजना पूर्णरूपमा बन्द हुदा स्थानीय निराश छन् । परियोजनाबाट मार्तडी सदरमुकाम तथा हालको बडीमालिका नगरपालिका तथा तत्कालीन मार्तडी र जुगाडा गाविसका बासिन्दाले विद्युत् सेवा पाउँदै आएका थिए ।

नागरिक समाजका अगुवा मदन विकका अनुसार ‘यो आयोजना बाजुराको विकासको प्रतीक जस्तै थियो । तर अहिले हेर्दा संरक्षणको अभावमा संरचना नै जोखिममा परेको छ ।’ लामो समयसम्म सदरमुकाम क्षेत्रमा उज्यालो दिने गरेको विद्युतगृह अहिले आफैं अन्धकारमा रहेको विकको भनाइ छ ।

२०६६ सालमा नेपाल विद्युत् प्राधिकरणबाट सञ्चालनको जिम्मेवारी त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले लिएको थियो । सहकारीका व्यवस्थापक दयाराम पण्डितका अनुसार सुरुमा करिब ७ सय घरधुरीले सेवा लिँदै आएकोमा सहकारीले विस्तार गरी २ हजार १ सयभन्दा बढी ग्राहकलाई विद्युत् सेवा प्रदान गरेको थियो ।

तर पछि नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन मार्तडीसम्म विस्तार भएपछि स्थानीय उत्पादनको विद्युत् प्रतिस्पर्धामा पर्न नसकी आयोजना बन्द हुन पुगेको स्थानीयको भनाइ छ । सहकारीले २० वर्षका लागि सम्झौता गरेर सेवा सञ्चालन गरिरहेको भए पनि २०७८ माघ ४ गते सम्झौता खारेज गरी प्राधिकरणले स्वामित्व फिर्ता लिएपछि आयोजना पूर्णरूपमा बन्द भएको पण्डितले जानकारी दिए ।

स्थानीय सरोकारवालाका अनुसार प्राधिकरणले सञ्चालन नगर्ने भए आयोजना स्थानीय तह वा अन्य निकायलाई हस्तान्तरण गर्नुपर्ने माग गरिएको छ । तर बन्द भएको पाँच वर्ष बितिसक्दा पनि मर्मत तथा संरक्षणका लागि कुनै पहल नभएको गुनासो उनीहरूको छ । विद्युतगृहसँगै जोडिएको नहरसमेत प्रयोगविहीन बनेको छ । गत आर्थिक वर्ष मात्र लाखौं रुपैयाँ खर्च गरेर मर्मत गरिएको नहर अहिले फेरि बिग्रिएको र त्यसमा ढल मिसिँदा मार्तडी बजार दुर्गन्धित बनेको स्थानीयको आरोप छ ।

यसले झाडापखालालगायत सरुवा रोग फैलिने जोखिम बढाएको उनीहरूको भनाइ छ । स्थानीय टेकबहादुर बुढाका अनुसार नहरको उचित व्यवस्थापन नहुँदा बजारको सरसफाइमा समेत चुनौती थपिएको बताएका छन् । यसैबीच, द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीले दुईपटक विद्युतगृहमा बम विस्फोट गराउँदा संरचनामा क्षति पुगेको समेत भए पनि सहकारीले आफ्नै लगानीमा सञ्चालनमा ल्याएको थियो ।

बाजुराको पहिलो विद्युत् आयोजना पूर्वाधार मात्र होइन, जिल्लाको विकास यात्राको एउटा ऐतिहासिक चिन्ह पनि हो । यसको व्यवस्थापन गर्न नसक्दा अहिले यो आयोजना इतिहास बन्ने अवस्थामा पुगेको छ । यदि समयमै यसको संरक्षण र पुन:उपयोगको योजना नबनाइएमा करोडौंको लगानीसँगै बाजुराको ऊर्जा इतिहासको एउटा महत्त्वपूर्ण अध्याय हराउने देखिन्छ ।


प्रकाशित मिति: ६ बैशाख २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives