२४ बैशाख २०८३, बिहीबार

बडीमालिकामा पर्यटन विकासका लागि पौने दुई अर्ब बजेट प्रस्ताव


बाजुरा: भू–स्वर्गका रूपमा व्याख्या गरिएको सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र बडीमालिकामा पर्यटन विकास गर्न पौने दुई अर्ब रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले गठन गरेको बडीमालिका पर्यटन पूर्वाधार विकास तथा पर्यटन प्रवर्धन कार्यदलले पाँच महिना अध्ययन गरेपछि एक अर्ब ७९ करोड रुपैयाँ बजेट प्रस्तावसहितको प्रतिवेदन तयार गरेको हो । कार्यदलले बुधबार उक्त प्रतिवेदन प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शिवराज भट्टलाई बुझाएको छ ।

प्रदेश सभा सदस्य पदमबहादुर शाहीको संयोजकत्वमा रहेको उक्त समितिले बडीमालिका क्षेत्रमा पर्यटन विकास गर्न पदमार्ग, पुल, शौचालय, धर्मशाला, विश्रामस्थललगायतका संरचना निर्माण गर्न उक्त बजेट आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख गरेको छ । ‘बडीमालिकाको पर्यटन विकासका लागि दीर्घकालीन रूपमा पक्की सडक निर्माण गर्नुपर्नेछ,’ प्रतिवेदनमा भनिएको छ, ‘पूर्वाधार विकासले आवागमन सहज हुने र पर्यटक संख्या उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ ।’

बडिमालिकामा पर्यटन विकासले स्थानीय तहमा रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजारीकरण, राजस्व वृद्धि र विशेष गरी महिला तथा सीमान्तकृत समुदायको सशक्तीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ । कार्यदलका संयोजक शाहीले फोहोर व्यवस्थापन, सरसफाइ, वातावरण संरक्षण, जलाधार संरक्षण तथा प्रचारप्रसारजस्ता क्रियाकलाप सञ्चालन गर्न उक्त रकम आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख गरिएको बताए ।

बाजुरा जिल्लाबाट प्रदेश सभामा प्रतिनित्व गरेका उनले विगतको अनुभव र सरोकारवालासँगको छलफलका आधारमा प्रतिवेदन तयार पारिएको बताए । उनले मौसम प्रतिकूल भएकाले कार्यदल बडीमालिका मन्दिरसम्म पुग्न नसकी सोता पाटनसम्म मात्र पुगी अध्ययन प्रतिवेदन तयार गरिएको जनाए । उनीसँगै बाजुराबाटै प्रदेश सभा सदस्य रहेका पूर्वआर्थिक मामिलामन्त्री नरेशकुमार शाही र प्रदेश सभा सदस्य जुना दानीसहित सरोकारवाला निकायका प्रतिनिधि सहभागी कार्यदलमा १४ जना सदस्य थिए ।

पूर्वाधार विकास नहुँदा बडिमालिका धार्मिक यात्राको गन्तव्यमा सीमित
पर्यटन पूर्वाधार विकास हुन नसक्दा बडिमालिकामा वर्षमा एकपटक जनैपूर्णिमाको दिन मात्रै चहलपहल हुने गरेको छ । भौगोलिक कठिनाइ र असहज पदमार्गको कारण त्यहाँ वर्षैभरि पर्यटक आवागमन हुन सक्दैन । तीनै तहका सरकारले पर्यटन विकासका लागि कार्यक्रम बनाए पनि पर्याप्त बजेट विनियोजन हुन नसक्दा बडिमालिका चर्चामै सीमित छ ।

पछिल्लो समयमा प्रधानमन्त्री बालेन्द्र शाहले फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनको प्रचारका क्रममा बडिमालिकालाई ‘स्वीटजर ल्यान्डको बाउ’ भनेपछि बडिमालिकाले सामाजिक सञ्जालमा समेत व्यापक भारइल भएको छ । तर, योजना र बजेटको अभावमा पर्यटक अझै पाउन सकेको छैन ।

समुद्री सतहबाट १४ हजार मिटर उचाइमा रहेको बडिमालिका ट्रेकिङ तथा धार्मिक यात्राका लागि प्रसिद्ध हुने बताइन्छ । पदयात्रीका लागि सुरक्षा र सुविधा व्यवस्थापन हुन नसक्दा बडिमालिका जनैपूर्णिमामा मात्रै तीर्थालु जानेका गरेका छन् । बडिमालिकामा पर्यटन विकासको चर्चा वर्षौंदेखि भइरहेको भए पनि तीनै तहका सरकारले सो क्षेत्रमा ट्रेकिङ ट्रेल, आवास, खानेपानीलगायतका पर्यटन पूर्वाधार निर्माण गर्ने निर्माणमा बजेट विनियोजन नगर्दा बडिमालिकाले जनैपूर्णिमाको बेला मात्रै श्रद्धालुबाट दर्शन पाउने गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले तयार गरेको १० वर्षे पर्यटन गुरुयोजनाले पनि बडिमालिकामा पर्यटन विकासका लागि पर्यटकको आवास गृह, खानेपानी, सुरक्षा, ट्रेकिङ रुट चिन्ह र ट्रेकिङ रुटसम्बन्धी सम्पूर्ण सूचना भएको बेवसाइट पहिलो प्राथमिकताका साथ बनाउने उल्लेख भए पनि उक्त कार्य हुन सकेको छैन । आर्थिक वर्ष २०७९/८० बाट लागू भएको उक्त गुरुयोजना कार्यान्वयन नगरी प्रदेश सरकारले अध्ययनको नाममा कार्यदल गठन गरी अध्ययन गराएको हो ।

पर्यटन विषय गुरुयोजनाअनुसार वार्षिक कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्नेमा पुन: अध्ययन गराउनु भनेको बजेट खर्च गर्नु मात्रै रहेको एक पर्यटन व्यवसायीले बताए । बडिमालिका–खप्तड, बडिमालिका–रामारोशन, बडिमालिका–बढीनन्दा, बडिमालिका–रारा ट्रेकिङ रुट निर्माण गर्ने चर्चा पटकपटक उठे पनि त्यस विषयले मुर्त–आकार लिन सकेको छैन । त्यस विषयमा सम्भाव्यता अध्ययन पनि भएका छैनन् ।

बडिमालिका–मार्तडी केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरी डीपीआर निर्माण गरिएको भनिए पनि त्यस विषयमा ठोस पहल हुन सकेको छैन । साथै सुदूरपश्चिम प्रदेश सरकारले बडिमालिका पदमार्गमासहितको ट्रेल बनाउन बजेट विनियोजन गर्दै आए पनि स–साना रकम विनियोजन भएको हुँदा उक्त कार्य सम्पन्न हुन सयौं वर्ष लाग्ने देखिन्छ ।


प्रकाशित मिति: ६ बैशाख २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives