बाजुरा: सदरमुकाम मार्तडी नजिक शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा माेटरसाइकल चालक गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार साँझ करिब साढे ७ बजेको समयमा बडिमालिका नगरपालिका–९ स्थित विनोद स्मृति प्रतिक्षालय नजिकै साफेँ–मार्तडी सडकखण्डमा मार्तडीबाट बाम्का तर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको हो।
त्रिवेणी नगरपालिका–७ कोसेडी निवासी अन्दाजी ३४/३५ वर्षीय खडक ऐडीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ ब २३६९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक छेउमा राखिएको पिल्लरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय बाजुराका इनिस्पेक्टर नरेश बहादुर शाहीले बताएका छन।
दुर्घटनापछि मोटरसाइकल सडकमै पल्टिएको थियो भने चालक ऐडी सडकबाट करिब २० मिटर तल खसेर गम्भीर घाइते भएका थिए। घटना लगत्तै प्रहरी टोलीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पतालमा लगीएकाे इनिस्पेक्टर शाहीले बताएका छन । हाल घाइते चालकको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने अवस्था बेहोस रहेको इनिस्पेक्टर शाहीले जानकारी दिएका छन्। दुर्घटनामा मोटरसाइकलको अगाडिको तथा पछाडिको भागमा क्षति पुगेको जनाएकाे छ।
प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार