२४ बैशाख २०८३, बिहीबार

ठेक्का लिँदै अलपत्र पार्दै बाग्मतीका मुख्यमन्त्री बानियाँकाे निर्माण कम्पनी


बाजुरा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका परिवारले सञ्चालन गरेको बानियाँ निर्माण सेवाले सुदूरपश्चिममा ठेक्का लिँदै योजना अलपत्र छोड्ने गरेको तथ्य फेला परेको छ ।

उक्त निर्माण सेवाले पूर्वाधार विकास कार्यालय अछामबाट मात्रै चारवटा ठुला सडक आयोजनाको ठेक्का अलपत्र पारेको छ । बानियाँले जयगढ–माझेठाना–रामारोशन सडक र चिसापानी–जंगलघाट–बडिमालिका सडकको एक/एक र मार्तडी–कोल्टी–पिलुचौर सडकको दुई ठेक्का अलपत्र पारेको हो ।

चिसापानी–जंगलघाट–बडिमालिका सडकको जंगलघाट–तुर्माखाद–बाँसकाँडासम्मको २४ किलोमिटर स्तरोन्नति गर्न २०७७ जेठ ९ गते नौ करोड ४७ लाख ७८ हजार ६४१ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । २०७८ असार १६ गतेसम्म काम सक्नुपर्ने गरी सम्झौता भएको उक्त सडकखण्ड निर्माणका लागि ६ पटक म्याद थप गरिए पनि ८८ प्रतिशत मात्रै छ । बानियाँले उक्त सडकमा काम गरेबापत आठ करोड ४२ लाख ९७ हजार ८२२ रुपैयाँ भुक्तानी लिएको छ ।

यसैगरी, जयगढीदेखि रामारोशनसम्मको २१.१५ किलोमिटर सडक कालोपत्रे गर्न २०७७ असार २९ गते बानियाँले ४८ लाख ३९ हजार ६७ हजार ३८२ रुपैयाँमा ठेक्का लिएको थियो । २०८० असार १६ गतेसम्म ठेक्का सम्पन्न गर्नेगरी बानियाँले पिएस कन्स्ट्रक्सनसंगको जेभीमा ठेक्का लिएको थियो तर दुईपटक म्याद थप भइसक्दा पनि उक्त सडकको काम ५० प्रतिशत पनि पूरा भएको छैन ।

दुईपटक म्याद थप गर्दा १८.६६ प्रतिशतले भेरिएसन बढेको छ । यसले गर्दा ९ करोड तीन लाख १५ हजार ८५७ रुपैयाँले ठेक्का अंक बढेको छ । बानियाँले यो ठेक्काबापत २८ करोड ३६ लाख ५३ हजार ५५० रुपैयाँ भुक्तानी र आठ करोड ५० लाख पेस्की लिइसकेको छ । बाँनियाँले यो ठेक्काको ६ करोड ९० लाख ६५ हजार १८१ रुपैयाँ पेस्की तिर्न बाँकी छ ।

२०७६ कात्तिक नौ गते मार्तडी–कोल्टी–पिलुचौर सडकको नौ किलोमिटरदेखि १४ किलोमिटरसम्मको ५ किलोमिटर खण्ड निर्माण बानियाँ निर्माण सेवाले कुशेश्वर कन्स्ट्रक्सनसँग जेभी गरेर १२ करोड ११ लाख ७८ हजार ४९७ रुपैयाँमा ठेक्का लिएको थियो । २०७८ असार १७ गते सम्पन्न हुनेगरी ठेक्का सम्झौता भए पनि तीनपटक म्याद थप गर्दा पनि ४३ प्रतिशत मात्रै काम भएको छ ।

उक्त ठेक्कामा पाँच करोड २५ लाख एक हजार ८५८ रुपैयाँ भुक्तानी र दुई करोड सात लाख ५२ हजार पेस्की भुक्तानी भएको छ । बानियाँले एक करोड तीन लाख ७६ हजार रुपैयाँ पेस्की तिर्न बाँकी छ । यसैगरी, सोही सडकको १४ देखि ४० किलोमिटरसम्मको २६ किलोमिटर खण्ड कालोपत्रे गर्न बानियाँले पिएस कन्सट्रक्सनसँगै जेभी गरी २०७७ असार २९ गते ५० करोड १६ लाख ९५ हजार ४५६ रुपैयाँमा ठेक्का लिएको थियो ।

२०८० असार १६ गतेसम्म ठेक्का सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि दुईपटक म्याद थप गरिसक्दासम्म ४७ प्रतिशत मात्रै काम भएको छ । तर बानियाँले २३ करोड ४५ लाख ९१ हजार ७१५ रुपैयाँ भुक्तानी र आठ करोड ७८ लाख रुपैयाँ पेस्कीसमेत लिएको छ । पूर्वाधार विकास कार्यालय अछामले सात करोड ४२ लाख आठ हजार ६५६ रुपैयाँ पेस्की फिर्ता गर्न बाँकी रहेको जनाएको छ ।

यो मात्रै नभई सुदूरपश्चिम प्रदेशमा बानियाँले लिएको अन्य ठेक्कासमेत अलपत्र रहेको बताइएको छ । अछाम बाजुरामा प्रदेशको सडकका १२ वटा बहुवर्षीय ठेक्का अलपत्र छन् । गत मंसिरमा मुख्मन्त्री कमलबहादुर शाहले ती १२ वटै ठेक्कामा निर्माण व्यवसायीलाई छलफलमा बोलाएपछि बाँकी काम थपिएकै म्यादभित्र रही ठेक्का सम्पन्न गर्ने जनाएका थिए ।

तर, बानियाँ निर्माण सेवमाले काम नै सुरु नगरेपछि मुख्यमन्त्री शाहको निर्देशनमा पूर्वाधार विकास कार्यालय अछामले बानियाँसँगको ठेक्का तोड्ने तयारी थालेको छ । कार्यालयका इन्जिनियर दुर्गाप्रसाद उपाध्यायले मार्तडी–कोल्टी–पिलुचौर सडकको दुवै ठेक्का तोड्न सूचना निकाल्ने तयारी भइरहेको र बानियाँलाई समेत पत्राचार गरिएको जनाए । उनले निर्माण व्यवसायीले काम नगरेकै कारणले अछाम–बाजुराका बहुवर्षीय ठेक्का अलपत्र परेको बताए ।

मार्तडी–कोल्टी–पिलुचौर सडकको ठेक्का सम्पन्न गर्न गत आर्थिक वर्ष २०८१/८२ मा उक्त सडकमा १५ करोड बजेट विनियोजन गरिएकोमा १३ करोड ५० लाख बढी फ्रिज भएको थियो । चालु आर्थिक वर्ष २०८२/८३ मा २० करोड बजेट विनियोजन भए पनि खर्च भएको छैन ।


प्रकाशित मिति: ६ बैशाख २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives