बाजुरा: मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत बाउली खोलामा निर्माणाधीन मोटरेबल पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण करिब पाँच वर्षदेखि अलपत्र छ । समयमै निर्माण सम्पन्न नहुँदा स्थानीय विशेषगरी वर्षायाममा, सास्ती खेप्न बाध्य छन् ।
जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले विकास निर्माणका काममा ढिलासुस्ती हुनु गम्भीर विषय भएको बताए । उनले ठेकेदार कम्पनीले जिम्मेवारीपूर्वक समयमै काम सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै अब पनि लापरबाही जारी रहे सम्बन्धित निकायमार्फत कडा कारबाही अघि बढाइने चेतावनी दिए ।
साथै, अनुगमनलाई निरन्तरता दिइने र कामको प्रगति नजिकबाट नियालिने उनले बताए । सम्झौताअनुसार १६ महिनाभित्र सम्पन्न गर्नुपर्ने पुल हालसम्म पूरा हुन नसकेको भन्दै प्रमुख जिल्ला अधिकारी निरौलाले निर्माण कम्पनीलाई जिम्मेवार ढंगले काम गर्न निर्देशन दिएका छन् । उनले अब पनि प्रगति नभए कानुनी कारबाहीका साथै कालोसूचीमा राख्न सिफारिस गरिने चेतावनी दिएका छन् ।
उनका अनुसार आगामी तीन महिनाभित्र उल्लेखनीय प्रगति नभए कडा कदम चालिनेछ । सुदूरपश्चिम प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत पर्ने उक्त पुलको हालसम्म करिब २१ प्रतिशत मात्र भौतिक प्रगति भएको सडक डिभिजन कार्यालयका इन्जिनियर देवेन्द्र स्वाँरले जानकारी दिए । उनका अनुसार ठेकेदारको चरम लापरबाहीका कारण निर्माण कार्य प्रभावित भएको हो ।
पुल निर्माणका लागि प्रयोग गरिएका केही सरिया खोलाको बहावका कारण क्षतिग्रस्तसमेत भएको बताइएको छ । धनगढी, कैलालीस्थित टिडिआर–जुगल कौशिक जेभीले २०७८ कात्तिक १५ गते ५ करोड ५८ लाख ८८ हजार २ सय ७० रुपैयाँमा सम्झौता गरी २०७८ फागुन १५ भित्र निर्माण सम्पन्न गर्ने जिम्मा लिएको थियो । तर सम्झौताको अवधि सकिएको लामो समय बितिसक्दा पनि निर्माण कार्य पूरा हुन सकेको छैन ।
निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि काममा सुधार नदेखिएपछि पुन आर्थिक वर्ष २०८२ फागुन ३० गतेसम्मका लागि म्याद थप गरिएको थियो । तर हालसम्म पनि उल्लेखनीय प्रगति हुन सकेको छैन । कार्यालयका अनुसार हालसम्म ९० लाख ५६ हजारभन्दा बढी रकम भुक्तानी भइसकेको छ ।
पुल नहुँदा पूर्वी तथा उत्तरी क्षेत्रका चार स्थानीय तहका बासिन्दा, बडीमालिका–७ का नागरिक तथा छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका सर्वसाधारणसमेत प्रभावित भएका छन् । बडीमालिका नगरपालिका–८ का स्थानीय मानबहादुर ऐडीका अनुसार पुल नहुँदा विशेषगरी वर्षायाममा यातायात आवतजावतमा निकै समस्या हुने गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाजुराले बाउली खोलाको पुल मात्र नभई जिल्लामा अधुरा रहेका अन्य निर्माण आयोजना पनि यथाशीघ्र सम्पन्न गराउन ठेकेदार कम्पनीसँग समन्वय र सहकार्य भइरहेको जनाएको छ । यसैबीच, बाउली खोलानजिकै रहेको अनाई खोलामा निर्माण गरिएको पक्की पुल भने सम्झौता भएको एक वर्षभित्रै सम्पन्न भई सञ्चालनमा आइसकेको छ । यसले समयमै काम सम्पन्न भए विकास निर्माण सम्भव हुने स्पष्ट उदाहरण प्रस्तुत गरेको छ ।
प्रकाशित मिति: ६ बैशाख २०८३, आईतवार