बाजुरा: बाजुराका विभिन्न गाउँमा केही वर्षअघिसम्म बाटोभरी पाटीपौवा र धर्मशाला भेटिन्थे । स्वर्गीय आफन्तका स्मृतिमा बटुवाले थकाइ मार्ने देउराली डाँडा, रुखका छहारीमा पौवा र धर्मशाला बनाउने चलन थियो । यसरी चौतारा निर्माण गर्दा, विशेष गरी चैत वैशाखमा घँैटोमा खुदोपानी तथा पानी राख्दा धर्म हुने विश्वास थियो ।
तर अब ती सबै इतिहास भइसकेका छन् । कहीँकतै भग्नावशेष मात्रै देख्न पाइन्छन् । पछिल्लो समय त्यस्ता संरचना निर्माण हुनै छाडे । निर्माण भएकासमेत संरक्षण नगर्दा भत्किएर लोप भएका छन् । सडक विस्तारसँगै ऐतिहासिक महत्त्वका पाटी, पौवा तथा धर्मशाला लोप भएका हुन् । बाटोमा केहीवर्ष अगाडी जीर्ण अवस्थामा देखिएका धर्मशाला हराउन थालेका छन् ।
यात्रा गर्ने बटुवाको सुविधाका लागि निर्माण गरिएका परम्परागत धर्मशाला लोप हुँदै गएका हुन् । नुन र तेल ल्याउनका लागि हाट जानेहरु तथा देश प्रदेश गर्नेहरुको बास बस्ने व्यवस्थाका लागि समाजका दानी तथा परोपकारी व्यक्तिले धर्मशाला बनाउने र नाम कमाउने प्रचलन थियो । पछिल्लो पुस्ताले भने यस्ता कार्यमा भने खासै चासो नदेखाउँदा यस्ता संरचना लोप हुँदै गएका छन् ।
बडीमालिका नगरपालिका–७ को चुथीदेखि पोरखेलेकसम्म पहिला धेरै धर्मशाला देखिन्थ्ये । तर अहिले केही जीर्ण भग्नावशेषमा छन् भने केहीको अस्थित्व नै छैन । पहिलेका पुस्तालाई दैनिक उपभोग्य सामग्री ल्याउन महिनौं दिन लाग्ने गरेको र बाटोमा बटुवाका लागि नजिक बस्ती गाउँ नभएको ठाउँमा ती धर्मशाला उपयोगी मानिन्थे । बटुवालाई बास बस्न सहज हुने गरी गाउँका परोपकारी व्यक्तिले बनाएका ती धर्मशाला अहिले देखिन छोडेको स्थानीय रामबहादुर धामीले बताए ।
गोरेटो, घोरेटो बाटोका विभिन्न खण्डकमा धर्मशाला निर्माण गर्ने गरेको उनको भनाइ छ । ‘मनमा शान्ति हुने र पछिल्लो पुस्ताका लागि पनि राम्रो सन्देश दिने गरी गाउँका अगुवाले जिल्लाका विभिन्न ठाउँका सडकमा धर्मशाला बनाउने गरेका थिए’ बडीमालिका नगरपालिका–७ का सुरेन्द्र धामीले भने । पहिलेका मानिस साइतमा जाँदा बाटोमै रात परेपछि त्यसै धर्मशालामा बास बस्ने गर्दथे । यसले गर्दा एकातर्फ पैसा वचत हुन्थ्यो भने अर्कोतर्फ सुरक्षित हुने गरेको धामीको भनाइ छ ।
बाजुराका विभिन्न ठाउँमा देखिने धर्मशाला अहिले विस्तारै भत्किँदै गएका छन् । बाजुराको पोरखेलेख, पौवा, नाटेश्वरी, बुढाबगर र टोटासाल लगायतका धर्मशालासमेत पछिल्लो समयमा लोप हुँदै गएका छन् । ती धर्मशाला केही भत्किइसकेका छन् भने केही अहिले पनि भग्नावशेष अवस्थामा छन् । बाजुराको पोरखेलेखमा रहेको धर्मशाला पनि अहिले भग्नावशेष अवस्थामा देखिएको छ ।
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेका हिमाली, जगनाथ, स्वामीकार्तिक खापर, बुढीनन्दालगायत स्थानीयलाई टाढासम्मको यात्रा गर्दा वा हाट जाँदा रात परेपछि त्यसैमा बास बस्ने गरेको स्थानीय बुढापाका बताउँछन् । बाबुबाजेले छिमेकी देश भारत तथा नेपाल सहर (काठमाडौं) आउँदा जाँदा वा खाद्यान्न सामग्री लिन हाट जाने आउने हटेरु अर्थात् बटुवाका लागि बास बस्न सहज हुने गरी धर्मशाला बनाएको बताइन्छ । बाजुरा, अछाम, टोडी, डडेलधुरा हुँदै कञ्चनपुरसम्म धर्मशाला तथा थकान मार्नका लागि बरपिपल चौतारी बनाउने परम्परा रहेको पाइन्छ ।
अहिले गाउँमा गाडी पुगेसँगै यस्ता धर्मशाला पनि भग्नावशेष अवस्थामा रहेको बुढीनन्दा नगरपालिका–९ का स्थानीय केशर बोहराले बताए । उनले भने, ‘हाम्रा पुस्ताले भारतको टनकपुर, नेपालको राजापुर, दिपायल, डोटीबाट हाट ल्याउने समय बास बस्न सहजताका लागि बनाएका धर्मशाला पछिल्लो पुस्ताले चासो नदेखाएकाले विस्तारै लोप हुँदै गएका हुन् ।’ पहिला बाजुराको सबै सरकारी काम काज दिपायल, डोटी नै हुने गथ्र्यो । त्यतिबेला यहाँका स्थानीय सो कामका लागि दिपायल नै आउजाउ गर्थे ।
त्यहाँ जाने आउनेलाई बाटोमा बस्न सहज हुने गरी विभिन्न ठाउँमा धर्मशाला बनाउने गरेको बोहराले बताए । पछिल्लो समय विकास निर्माणमा आएको परिवर्तनसँगै गाउँका बस्तीमा मोटर बाटो जोडिँदै गएपछि धर्मशाला पनि विस्तारै लोप हुँदै गएका छन् । पहिलेका पुस्ता घरबाट आउँदा हाटबाट फर्किंदा जहाँ धर्मशाला छन् त्यतिसम्म अनिवार्य पुग्ने गरी हिँड्ने व्यवस्था मिलाइन्थ्यो । उनीहरू टनकपुर, राजापुर दिपायललगायतका विभिन्न ठाउँबाट हाट ल्याउन गएको बेला त्यही धर्मशालामा खाना पकाएर खाने त्यसैमा बास बस्ने गर्थे ।
प्रकाशित मिति: ६ बैशाख २०८३, आईतवार