२४ बैशाख २०८३, बिहीबार

नेपाल टेलिकमको ‘नमुना जिल्ला’ टावर छन्, नेटवर्क आउँदैन


बाजुरा: नेपाल टेलिकमले २०८० सालमा बाजुरासहित १९ जिल्लालाई नमुना दूरसञ्चारयुक्त जिल्ला बनाउने घोषणा गरेको थियो । यद्यपि, नमुना दूरसञ्चार जिल्ला बाजुरामै मोबाइल फोन नेटवर्कको समस्या छ । सदरमुकाम मार्तडीदेखि दुर्गम गाउँसम्म फोन नलाग्ने, लागे पनि आवाज नसुनिने, फोरजी सेवा नचल्ने र घाम लागेपछि मात्रै नेटवर्क आउनेजस्ता समस्याले बाजुराका नागरिक सास्ती भोगिरहेका छन् ।

जिल्लाको प्रशासनिक केन्द्र मार्तडीमै कमजोर नेटवर्कको समस्या रहँदा दुर्गम गाउँबस्तीको अवस्था झन् दयनीय बनेको छ । दक्षिणी, पूर्वी तथा उत्तरी भेगका अधिकांश पालिकामा दूरसञ्चार सेवा प्रभावहीन रहेको बडीमालिका नगरपालिका–१ का डवल दानीले बताए । हिमाली गाउँपालिका–१, २ र ३, बडीमालिका नगरपालिका–१, पाटा, वडा नं. ५ मना, वडा नं. ६ कोर्ध, गौमुलका दुर्गम गाउँलगायत क्षेत्रमा फोन नेटवर्र्क कमजोर रहेको स्थानियको भनाइ रहेको छ ।

कतिपय ठाउँमा टावरमा विद्युत् नै नभएकाले फोन गर्न बिहान घाम लाग्ने अग्ला डाँडामा पुग्नुपर्ने बाध्यता रहेको हिमाली गाउँपालिकाका स्थानीय साजन थापाले बताए । हिमाली गाउँपालिका–३ गुम्बा गाउँमा सबैभन्दा बढी समस्या रहेको थापाको भनाइ छ । अन्य गाउँमा कम्तीमा घाम लागेपछि केही समय नेटवर्क टिपे पनि गुम्बामा भने कहिल्यै नेटवर्क नआउने गरेको थापाको गुनासो छ ।

२०७५ सालमा बिच्छ्याको कोट गाउँमा निर्माण गरिएको बिच्छ्या टावर २०८२ जेठ १९ गतेदेखि बिग्रिएपछि स्थानीय थप समस्यामा परेका छन् । हाल नयाँ टावर निर्माण गरिएको भए पनि विद्युत् अभावका कारण सञ्चालनमा आउन नसकेको हिमाली गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी बुढीगंगा, त्रिवेणी, खप्तड छेडेदह, गौमुल गाउँपालिका–१ र ३ लगायतका क्षेत्रमा पनि फोन लागे पनि नसुनिने, पटकपटक काटिने समस्या रहेको स्थानीयको भनाइ छ । नेपाल टेलिकम बाजुराका अनुसार जिल्लाभर हाल २७ वटा टेलिकम टावर सञ्चालनमा छन् । तर भौगोलिक विकटता, विद्युत् अभाव, सीमित क्षमता र बढी प्रयोगकर्ताका कारण सेवा प्रभावकारी हुन नसकेको कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्यांकअनुसार आठवटा टावर स्थानीय लघु जलविद्युत्, १२ वटा सोलारबाट, एक वटा राष्ट्रिय प्रसारण लाइन, तीनवटा सोलार र राष्ट्रिय विद्युत् संयुक्त रूपमा तथा दुईवटा सोलार र स्थानीय विद्युतबाट सञ्चालनमा छन् । नेपाल टेलिकम बाजुराका प्रमुख ईश्वर सिंहका अनुसार मार्तडीको पुरानो १७ मिटर टावर सानो भएकाले सेवा प्रभावित भएको बताएका छन् ।

अहिले ५० मिटर अग्लो नयाँ टावर निर्माण भइसकेकाले केही दिनभित्र जडान सम्पन्न भएपछि सदरमुकामको समस्या समाधान हुने अपेक्षा गरिएको उनले बताए । उनले हिमालीको बिच्छ्या र कुवाडीमा बनेका नयाँ टावर पनि प्राविधिक टोली आएर चाँडै सञ्चालनमा ल्याइने जानकारी दिए । नयाँ टावर जडानका लागि अत्तरियास्थित प्रादेशिक निर्देशनालयबाट प्राविधिक टोलीले बनाउने भएकाले केही दिनमा धेरै ठाउँमा फोन नेटवर्कको समस्या समाधान हुने बताए ।

नेपाल टेलिकमले २०८० सालमा बाजुरासहित १९ जिल्लालाई नमुना दूरसञ्चारयुक्त जिल्ला बनाउने घोषणा गरेको थियो । सोहीअनुसार बाजुरामा १७ स्थानमा नयाँ टावर राख्न सर्भे गरिएको जनाएको छ । जिल्लाको खप्तड राष्ट्रिय निकुञ्ज, हिमाली–१, ३ र ५, बडीमालिका–१, ३, ६ र ७, गौमुल–१, ३ र ५, स्वामीकार्तिक खापर–४, खप्तड छेडेदह–६, बुढीनन्दा–१, बुढीगंगा–३, त्रिवेणी–९ लगायत क्षेत्रमा टावर स्थापनाका लागि सर्भेको काम केही ठाउँमा सम्पन्न भइको र केही ठाउँमा अन्तिम चरणमा पुगेको नेपाल टेलिकम बाजुराले जनाएको छ ।

टेलिकमले जिल्लाका ९० प्रतिशतभन्दा बढी मानव बस्तीमा गुणस्तरीय मोबाइल नेटवर्क र एनटी फाइबर सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । तर अहिले पनि धेरै नागरिक अग्ला डाँडामा चढेर फोन गर्न बाध्य छन् । सरकार र नेपाल टेलिकमले ‘नमुना जिल्ला’को रूपमा घोषणा गरे पनि दुर्गम बस्तीका लागि भरपर्दो नेटवर्क अझै सपनाजस्तै बनेको स्थानीयको गुनासो छ ।


प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives