८ पुष २०८१, सोमबार

बाँदर आतङ्कबारे पोखरा महानगरका मेयरलाई खुला पत्र


काठमाडौं। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई २६ वडाका सदस्य सुदिप ढुङ्गानाले खुला पत्र लेखेका छन् ।

पछिल्लो समय पोखरामा बाँदर आतङ्क र यसले पारेको असरबारे गहिरो बहस भइरहेका बेला वडा सदस्य ढुङ्गानाले मेयरलाई खुला पत्र लेखेका हुन् । उनले लेखेको खुला पत्र जस्ताको तस्तै ।

मेयर साहेब,
नमस्कार,
हामी निर्वाचित भएर आए पछिको ११ औँ नगर सभादेखि हरेक नगर सभामा अधिकांश सभा सदहरुले बाँदर आतङ्क र यसले पारेको असरको बारेमा आवाज बुलन्द पारेका थियौँ, तर आजको दिनसम्म यहाँको जुन पहल कदमी हुनुपर्थ्यो, कति भयो भन्ने तपाईँलाई नै थाहा होला। अचानाको पिर खुकुरीलाई थाहा नहुने रहेछ। म नगर सभासदमात्र नभई कृषक भए पनि आफैँले देखेभोगेको तितो सत्य बोली रहेको छु । जुन अधिकांश महानगर भित्रको ग्रामीण महानगर बस्तीको पीडा रहेको छ। तपाईँलाई थाहानै छ, हाम्रै वडालगायतका महानगरका विभिन्न वडामा बेसी र समथर भूभागहरू छन्। जहाँ १२ मासे सिँचाइको व्यवस्था छ अनि जेठो बुढोदेखि सबै खाले बालीहरू ,तरकारी र फलफुल तीन सिजन फल्ने गर्दछ। जहाँ बाँदरको आतङ्कको पहुँच पुग्दैन, त्यस्तो ठाउँलाई आवास क्षेत्र घोषणा गर्नुभयो। त्यस्को उल्टो पहाडी इलाका जहाँ आकाशे पानी परेपछी र मूल उम्रेपछी मात्र खेतीपाती गर्न सकिन्छ । उल्टै खानेपानी त मुस्किल छ, लगाएको बालीनाली माथि बाँदर आतङ्क छ,त्यस्तो ठाउँलाई खेतीयोग्य जमिन बनाइदिनु भएको छ ।

मेयर साहेब, हजुर पनि भरतपोखरीकै डाँडामा जन्मी, हुर्की, पढी आज यो ठाउँमा आइपुग्नु भएको छ । हुन त तपाईँको अहिलेको अधिकतम बसाइ नयाँ बजारमा भएर पनि होला, हालको गाउँको बाँदर आतङ्क पूर्ण रूपमा थाहा नहुन सक्छ, तर म हिजो कन्धानी डाँडामा जन्मी, हुर्की, पढी यहासम्म आइपुग्दा हिजो जहाँ हुर्के बढे र पढे, आज पनि त्यही बस्छु जसका कारण आज मैले बाँदर आतङ्क देखेको र भोगेको छु। बारीमा म एक्लै बाँदर धपाउन जाँदा एक पटक बादरले म माथी आक्रमण गरि नग्रा गाडेको अझै डोब छ। तपाईलाइ थाहा होला बाँदरको नग्रा मात्र गड्यो भने कति घातक हुन्छ भनेर। एउटा बच्चा स्कुल गएर आउँदा बाँदरको आक्रमण भयो र त्त्यसलाइ तलमाथि केही भयो भने त्यसको जिम्मा कसले लिन्छ रु आज बाबुनानी र अभिभावकलाई समेत स्कुल जाँदादेखि फर्कदासम्म मनोत्रास छ। पहिला पहिला बच्चाहरूलाई कोक्रोमा सुताएर आमाले खेतबारीमा काम गर्ने चलन थियो। तपाईँ हामी पनि सानोमा स्कुल जाँदा बाँदर बाटोमा भेटिन्थे तर पहिला त्यस्तो थिएन। अहिले काम त के, कतिखेर आएर आक्रमण गर्छ भन्ने डर। झन् महिला र केटाकेटीलाइ त पटक्कै नटेर्ने। आज तपाईँ र मेरो डाडामात्र हैन महानगर भित्रका दुर्गम महानगर बस्तिहरु बेगनास, माझठाना, कालिका, आर्बा, मौजा, भलाम, अर्मला, हर्पाक, घार्मी,पुरन्चौर, चुरुङा, उपल्लो हेम्जा, सराङकोट,कास्कीकोट, चापाकोट, हर्पन, पुम्दीभुम्दी, मट्टिखान, निर्मलपोखरीसहितका हरेक ठाउँहरु बिकास निर्माणलगायतका अत्यावश्यक सुबिधा त छँदै छ, झन् बाँदर आतंकले गाउँकोअवस्था बिकराल छ।

आज हामी महानगरबासीहरु धेरै खाद्य सामाग्री आयात माथि भरपर्नुको कारण के रु युबा बिदेश पलायन गराउने बाटो हामीले नै गरेका छैनौ र १ गाउँ घरमा खेतीपाती गर्‍यौँ। मकै छरेदेखि नै बादरले बीउ खोतल्न थाल्छ। मकै पाकिन्जेलसम्म सबै सखाप। दिनभर कुरेर बस्यो, कुनबेला झुक्याएर बाँदरले सखाप पार्छ। धान बीउ छरेदेखि काट्ने बेलासम्म उहीँ हालत, कोदो ,गहु, तोरीलगायत सबै बालीको अवस्था त्यस्तै छ । कि खाने, नखाए बिगारेर भत्काएर छोड्ने।तरकारीको कुरै नगरौँ, आलु, प्याज, केराउ, काउली बन्दा, काँक्रो, लौका, सिमी ,घिरौलाको अवस्था त्यस्तै । सार्ने बेलादेखि बचिला लाउने बेलासम्म झुक्याएर सखाप पार्ने। मैले घरमा उत्पादन गरेको लशुन प्याजले बर्ष दिनभरी खान पुग्थ्यो, तर अहिले प्याजको बेर्ना सार्न नपाइ सखाप हुन्छ जसले गर्दा भारतबाट आयातित प्रतिकिलो १६० रुपैंयाँसम्म तिरेर खानु परेको छ। कृषि क्रान्तिको भजन गाउँदै गर्दा यो कृषकको समय, मल, बीउ बिजनलगायत हल खेतालाको पारिश्रमिकको जिम्मा कसले लिने रु ती कृषकहरुलाइ क्षतिपूर्ति र बिमा रकमको व्यवस्था गरेका छौ त। बारीमा लगाएको खेती नष्ट गरेर नपुगेर भान्छाको खानाको कसौँडीसम्म नछाड्ने यी बॉदरहरु गॉउको बस्तीका लागि क्यान्सरकै रुप्मा रहेकोअधिकांश जनताहरुको भनाइ छ।

मेयर सहेब,

तपाइलाई अवगत नै छ,अहिले ग्रामीण भेगबाट बेशी र समथर भु–भागमा बसाइसराइ अत्याधिक बढिरहेको छ। गाउँको जग्गा बाझो राखेर बस्ने अनि दुईवटा खुर्सानी र तरकारीका बोट छतमा उमारेर सामाजिक सन्जालमा पोस्ट गरेर मख्ख पर्ने र कृषि क्रान्तिको नारा रट्ने, हाम्रो गाउँ र समाज कता गइरहेको छ। तितो सत्य हामीले अलि बिर्सियौँ कि । हो जनाबरको पनि आफ्नो अधिकार हुन्छ, त्यसलाइ पनि मध्यनजर गर्दै बैकल्पिक ब्यवस्थापन गर्नुपर्दछ तर हामी मानवहरुले नै आधिकारिक नाममा दैनिक मानव जीबनमा नै उथलपुथल गर्ने, कृषि पेशाबाट नै पलायन हुनुपर्ने, गाउँ घर नै छोडेर हिड्नुपर्ने बाध्यात्मक अवस्थालाई रोक्ने तपाई हाम्रो दाइत्व होइन र ?

नेपालकै ठूलो महानगरका बासिन्दा हामी ठूलो बाँदर आतङ्कमा छौं भन्दै गर्दा र तपाइँले रुख कटान सम्बन्धी गरिएको सम्प्रेषणमा तत्काल बैकल्पिक व्यवस्था गरिएन भने भविष्यमा हामीले घोषणा गर्दै गरेको पर्यटकीय राजधानीमा गाउँ घरमा उत्पादन भएको अर्गानिक तरकारी, फलफुल र खानेकुरा भन्दै बिदेशबाट आयतित गरेको खानेकुरा खुवाउने दिन छिट्टै आउनेछ। बाँदर आतङ्कबाट बच्नको लागि तत्काल सुनुवाइ होस भनी जोडदार माग गर्दछु। धन्यवाद । जय पोखरा ।

तपाईँकै नगर सभा सदस्य
सुदिप राज ढुङ्गाना


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?