१० पुष २०८१, बुधबार

पूर्वमन्त्री शाक्यको सायरी विमोचन: कवि दुर्गालालदेखि उपमेयर र चिकित्सकसम्मका कविता बाचन


काठमाडौं । बागमती प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री डा. अजयक्रान्ति शाक्यद्वारा लिखित नेपालभाषाको सायरी संग्रह ‘जि मैन थें नायाच्वना (म मैन झैं पग्लिरहेँ)’ विमोचन भएको छ । शाक्यको सायरी संग्रह विमोचन अघि नेपालभाषाका ११ कविहरूले कविता वाचन गरेका थिए । नेपालभाषा, नेपाली लगायत नेपालमा बोलिने विभिन्न मातृभाषा र संस्कृतिको अध्ययन अनुसन्धान गर्ने उद्देश्यले तीन वर्ष अघि स्थापना भएको ‘नेपालमण्डल लिट्रेचर कल्चर ट्रष्ट’ नामक संस्थाद्वारा कविता वाचनसँगै शाक्यको सायरी संग्रहको विमोचन कार्यक्रमको आयोजना गरेको थियो । ट्रष्टका अध्यक्ष श्याम स्मृतिले नेपाल संवत ११४४ नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान तथा नेपालभाषामा आयामिक कविता बाचनसँगै पुस्तक विमोचन कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो ।

कार्यक्रम अलिक फरक ढंगले सुरुवात गरिएको थियो नेपालभाषाका सर्वाधिक सम्मानित ८८ को वय कटिसकेका जनकवि दुर्गालाल श्रेष्ठले मञ्चमा गएर आफ्नो चिरपरिचित शैलीमा जोशिलो कविता वाचन गरेपछि कार्यक्रम आरम्भ भएको थियो । कार्यक्रमको आरम्भ श्रेष्ठले आफ्नो जोसिलो कविताबाट सुरुवात गेपछि काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, पेशाले चिकित्सक रहनुभएकी शिक्षण अस्पतालकी कार्डियोलोजिष्ट डा. स्मृति शाक्यलगायतले पनि मञ्चबाट पहिलो पटक नेपाल भाषामा पहिलो कविता बाचन गर्नुभएको थियो । काठमाडौं महानगरपालिकाका उपमेयर डंगोलले परिचित मुस्कानसहित काठमाडौंको भविष्य र त्योसँग जोडिएको आफ्नो सपनाको कविता सुनाउनुभयो । उहाँले कवितामार्फत मञ्जुश्रीदेखि यहाँका कला, संस्कृति, सम्पदा र भोलिको काठमाडौंको परिकल्पनामा आधारित कविताले स्रोतालाई मुग्ध बनाएको थियो ।

म यस्तो सपना देखिरहेको छु,
जहाँ,
मम्मी–डेडी भनेर पुकार्ने नातिनातिनाहरू
भोलि ‘ए आमा ! ए बाबा !’ भन्दै
आफ्ना अग्रजलाई बोलाउन थाल्नेछन् ।

उपमेयर डंगोलले करीब १० मिनेट लगाएर कविता बाचन गरिसकेपछि दर्शकदीर्घाको अघिल्लो लहरमा बस्नु भएका कवि दुर्गालाल पनि मुस्कुराउनुभयो र डंगोललाई धन्यवाद दिनुभयो ।स्कुले जीवन बाहेक यसरी सार्वजनिक मञ्चमा डंगोलले कविता वाचन गर्नुभएको रहेनछ । यसरी पहिलो अवसर प्राप्त हुँदा उहाँमा पनि उमगंको भाव झल्किएको थियो ।डंगोल मात्रै हो मुटुरोग विशेषज्ञ डा. स्मृतिले पनि नेपाल भाषामा पहिलो पटक कविता वाचन गर्नुभएको थियो । सामाजिक सञ्जालको जालमा मानसिक, सामाजिक रूपले फँस्दै गइरहेको नेपाली समाजको डरलाग्दो यथार्थलाई उहाँले आफ्नो कवितामा चित्रण गर्नुभएको थियो ।

त्यसैले त, जिन्दगीको सत्य पनि भरच्यूअल बन्दै छ
जिन्दगीका आदर्शहरु पनि यसैले डुबाउँदै छ ।
भच्र्यूअल संसारमा जीवन जिउने बानी बसेर
ती आप्mना साथीभाई नातागोताहरु सब विर्सेर

कोशौं टाढाका भरच्युअल साथीहरु बनाउँदै
गर्व गर्छन् मेरा त लाखौं साथी भए भन्दै
चार जना मानिसहरु सँगै हुंदा पनि
आ–आफ्नै भरच्यूअल दुनियामा भुल्दै

कहिल्यै नदेखेका नबोलेका साथीहरुसँग रमाउँदै
भुल्दै त छैनौं आफैलाई, बास्तविक दुनियालाई विर्सेर
सामाजिक संजालको भूमरीमा फसेर
व्यस्त रहन्छौं यथार्थ विर्सेर ।

उहाँको यो कविता सुनेर दशर्कदीर्घामा तालिले हल नै गुञ्जायमान भएको थियो । नेपालभाषाका लोककवि राजभाइ जकःमिले नेवाः एकता दिवसको सन्दर्भलाई जोडेर नेवाः अधिकार प्राप्तिको कविता सुनाउनुभएको थियो ।कार्यक्रममा नेपालभाषाका वरिष्ठ कविहरू नारद वज्राचार्य, सुरेश किरण, रजनी मिला, अञ्जना ताम्राकार, दर्शनवीर शाक्य र हिसिलिना महर्जनले पनि कविता वाचन गर्नुभएको थियो । कविता बाचनपछि पूर्वमन्त्री डा. अजयक्रान्ति शाक्यद्वारा लिखित नेपालभाषाको शायरी संग्रह ‘जि मैन थें नायाच्वना (म मैन झैं पग्लिरहेँ)’ विमोचन गरिएको थियो । कार्यक्रममा कविता वाचन गर्नुहुने सबै कवि कवयित्रीहरूले उहाँको पुस्तकको सामुहिक रुपमा लोकार्पण गर्नुभएको थियो ।
उहाँको शायरी संग्रह ‘जि मैन थें नायाच्वना’ मा नेपालभाषा र त्यसैको अंग्रेजीमा अनूदित शायरीहरू संग्रहित रहेका छन् ।

कवि डा. शाक्यले सोही संग्रहमा समावेश भएका पाँच वटा शायरी वाचन गर्नुभयो । कार्यक्रममा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ लगायत धेरै साहित्यानुरागीहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो ।कुनै सभापति, कुनै प्रमुख अतिथि आमन्त्रण नगरी अनौपचारिक शैलीमा सञ्चालन गरिएको उक्त कार्यक्रममा कविता वाचन गर्नुभएका सबै कवि कवयित्रीहरूलाई कार्यक्रममा उपस्थित विशिष्ट व्यक्तिहरू पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ, पूर्व राजदूत डा. अन्जान शाक्य, न्हूदँ समारोह समितिका अध्यक्ष प्रा.डा. नरेशमान वज्राचार्य, वरिष्ठ कवयित्री प्रतिसरा साय्मि, वडा अध्यक्षहरू न्हुछेकाजी महर्जन, उदय चुडामणि वज्राचार्यले मायाको चिनो प्रदान गर्नुभएको थियो । ट्रष्टका अध्यक्ष श्याम स्मृतले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो ।


प्रकाशित मिति: ६ माघ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?