८ पुष २०८१, सोमबार

देशको मुड बुझे मात्रै टिक्छ कांग्रेस


-अजयबाबु शिवाकोटी

नेपाली कांग्रेस केन्द्रीय समितिको यो वैठक महाधिवेशन भएको २ बर्ष र हाम्रो समेत सहभागिता रहेको सरकार बनेको १ बर्ष पुरा भएको समयमा बस्दै छ। यो समय सरकार र पार्टी नेतृत्वको समिक्षाको समय पनि हो। हामी आम नागरिकको नजरमा कति खरो उत्रियौ र कति चुनौतीको सामना गर्नुपर्ने छ यो वैठकमा उठान हुने नै छ। आम नागरिक सरकारसँग कति खुसी छन् र कार्यकर्ता र शुभेच्छुकहरु पार्टी नेतृत्वसँग कति खुसी छन् यो पनि समिक्षा गर्नुनै छ। यहि बीचमा जाजरकोट र रुकुम पश्चिममा भूकम्पले प्रभावित भएकाहरुको अस्थायी आवास टहरा निर्माणको काममा खटाएर सेवा गर्ने मौका दिएकोमा समेत पार्टी केन्द्रीय कार्यालय र महामन्त्रीज्यूहरुलाई धन्यवाद दिन्छु।

आज नेपाली कांग्रेस ९ मन्त्री सहित सबैभन्दा ठूलो साझेदारको रुपमा संघीय सरकारमा सहभागी छ। ४ वटा प्रदेशमा कांग्रेस नेतृत्वको सरकार छ। ३३२ पालिकामा कांग्रेस नेतृत्वमा छ भने २६ सय भन्दा बढी वडामा पनि हाम्रै साथीहरु नेतृत्वमा छन्। सबैतिर हामी नै हामी नेतृत्वमा रहेको यो बेलामा आज हाम्रै साथीहरु समेत अत्यन्तै निराश देखिन्छन्। असोजको वैठक यता व्यक्तिगत रुपमा घुमेका २२ जिल्लाका स्थानीय नागरिक र पार्टी कार्यकर्तासँगको अन्तरक्रियाका क्रममा मैले पाएको साझा कुरा भनेको आम नागरिक व्यवस्थासँग भन्दा पनि व्यवस्था परिवर्तन गरेर अवस्था बदल्न नसक्ने नेतासँग रिसाएका छन्। नागरिक सबैभन्दा बढी कुशासनका कारण रिसाएका छन्। हाम्रै कार्यालय भन्दा केहि किलोमिटर पर भौतिक योजना मन्त्री प्रकाश ज्वालाको गाडी तोडफोड मात्र होइन आगजनी भएको छ। मन्त्री ज्यान जोगाएर भागे पनि २ आन्दोलनकारीको सरकारी गोली लागेर ज्यान गयो। रिसाएका नागरिक यो तहको बिद्रोहमा उत्रनु सामान्य कुरा होइन। आम नागरिकमा सरकार र सरकारी निकायमा पुगेकाहरु भ्रष्टाचार गर्नै पुगेका हुन भन्ने बुझाइ व्याप्त छ।

भ्रष्टाचार चरम सीमामा रहेको बुझाई बढ्दै छ। प्रत्येक हप्ता जसो आउने भ्रष्टाचारका नयाँ नयाँ काण्डहरुले यो आम बुझाइलाई थप मलजल गरेको छ। सत्तामा पटक पटक भएका नाताले उनीहरुले यो कुशासनको कारक हामीहरुजस्तै पटकपटक सरकारमा पुगेका दलहरुलाई ठानिरहेका छन्। तर पटक पटक सरकारको नेतृत्व गर्ने मौका पाउँदा र सरकारका विभिन्न मन्त्रालय र निकायहरुको नेतृत्व गर्न पाउँदा पनि न हामीले आफूले गरेको कामको प्रचार गर्न सक्यौ न भविष्यप्रति थप आशा जगाउने गरि भरोसा दिलाउन सक्यौं? अझै पनि पुरानै सोच र शैलीमा नागरिकलाई ‘मूफतको माल’ सम्झिरहेका छौं।

एनसेल, टेरामक्स, स्टक एक्सचेन्ज, सहकारी, सुनकाण्ड जस्ता अनेक काण्डहरु संचारमाध्यममा छ्यापछ्याप्ती हुँदा हातमुख जोर्न संघर्षरत नागरिकहरु सरकारको आरती उतारेर बस्दैनन्। सुशासनले भन्दा पनि नयाँ नयाँ काण्डहरुले भ्रष्टाचारका पुराना काण्डहरुलाई ओझेलमा पार्दै गएको छ। संचारमाध्यममा आएका काण्डहरुलाई मात्र समेट्ने हो भने पनि औंलामा गन्न गाह्रो छ। सबै काण्ड शिर्ष नेतृत्व र उनका संरक्षीतहरुकहाँ गएर टुंगिन्छ भन्ने बुझाई आम नागरिकमा व्याप्त छ। छानविनका लागि बनाइएका आयोग या समिति काण्डहरुलाई विषयान्तर गरेर नागरिकको आँखामा धुलो हाल्नका लागि हो भन्ने भाष्य जवर्जस्त स्थापित हुँदै गएको छ। वीर अस्पतालमा अक्सिजन किन्न पैसा छैन, सय बर्षदेखि विरामीलाई खुवाउँदै आएको खाना खोसिएको छ। पहिलाको लाहुर अहिलेको रसिया भएको छ। ५०-६० लाख तिरेर नागरिक डंकी रुट हुँदै अमेरिका जानेको लाईन छ। राज्य संचालकहरुले यसैगरि विश्वास गुमाउँदै गएको अवस्था छ। आर्थिक घाटाको परिपूरण होला तर आम नागरिकमा सरकार र राज्यका संचालकहरुप्रति गुम्दै गएको विश्वासको संकट (Trust Deficit) को परिपूरण कसरी हुन्छ यो वैठकले पहिल्याउनु पर्छ।

मूलमै धमिलो भएपछि तल्लो तहमा पानी सफा होस भन्ने कामना मात्र हुँदो रहेछ। संघीय सरकारमा भ्रष्टाचार र अनियमितताका अनेक काण्ड सतहमा आइरहँदा प्रदेश र स्थानीय तह पनि आफ्नो हैसियत अनुसारको अनियमितता र भ्रष्टाचारमा संलग्न रहेको आरोप लाग्न थालेको छ। शुरुमै २० देखि २५ प्रतिशत सम्म कमिसन लिएर प्रदेशबाट वजेट विनियोजन गरिएका बिषय अब नौला रहेनन्। संघीयताको कुरा गर्ने तर कानून नबनाइदिएर यसको औचित्य माथि हामीले नै प्रश्न उठाइदिएका छौं। संघीयतालाई कमजोर बनाउन हामीहरुले नै मलजल गरेपछि यसलाई खराब भन्नेहरुले काखी नपड्काएर के ताली बजाउँछन् ?

वैठकमा सूचना प्रविधिको प्रयोग गरि विभिन्न शक्तिहरुले पार्टी बिरुद्ध आक्रामक अभियान चलाइएका कारण हामीहरु रक्षात्मक बन्नुपरेको चर्चा पनि भयो। तर यो चर्चामा सूचना प्रविधी प्रयोग गरेर हामीप्रति आक्रामक भइरहेको वर्ग चाहि कुन हो भन्ने कुरा हामीले छुटाएका छौं। हामीले रोग कुन हो भन्ने पहिचान गरेपछि पनि त्यसको कारण निर्मूल गर्न लाग्दैनौ भने समस्या सुल्झिने भन्दा पनि झन बढ्ने नै हुन्छ।

नयाँ पुस्तासँग कांग्रेस अभियानको आवश्यकता

आज कुनै पनि विषयलाई इन्टरनेटका प्लेटफर्महरु भाइरल बनाउनेदेखि नयाँ नयाँ भाष्य स्थापित गराउने काममा यूवा पुस्ता नै सक्रिय छ र प्रभाव राख्छ। खासगरि यो वैठकमा प्रतिनिधित्व नभएको उमेर समूह आज सबैभन्दा प्रभावशाली देखिदै गएको छ। राजाको प्रत्यक्ष शासन गर्ने लालसाकै बीचमा २०५९ पछि विकसित घटनाक्रमकै समयमा जन्मिएको पुस्ताले आज पहिलो पटक मत हालेको छ। यो पुस्ताले आफू जन्मिएको समयको न इन्टरनेट काटिएको अवस्था भोग्यो न पत्रपत्रिकाको कार्यालयमा सेनाले समाचार सम्पादन गरेको थाहा पायो। न नागरिक सरकारहरु एक शाही घोषणामा बर्खास्त भएको देख्यो। न नागरिक अधिकारहरु र स्वतन्त्रताहरु कसरी कुण्ठित गरियो त्यो थाहा पायो। राजनीतिक रुपमा बुझ्ने हुँदै गर्दा भरपुर उपभोग गर्न पाएको यो स्वतन्त्रताका लागि अग्रज पुस्ताले कति मूल्य चुकाएको थियो यो जान्नु अघी नै त्यही पुस्ताले बाटो विराउँदा विकृत भएको राजनीति र कुशासनको अनेक काण्ड देख्न नयाँ पुस्ता वाध्य भएको छ। र यहि समयको यो पुस्ता आज तपाइ हामीप्रति आक्रामक भएको छ। जस्लाई हामीले चिनेर पनि नजर अन्दाज गरेका छौं। त्यो अरु कोहि होइन तपाई हाम्रै भाइवहिनी र छोराछोरी हुन्। तर ती आज किन हाम्रा कुरा भन्दा अरुका कुरा पत्याइरहेका छन्? किन तपाइलाई मुख दिएर मन अन्तै दिइरहेका छन्? कसरी यहि पुस्तालाई संघीय लोकतान्त्रिक गणतन्त्रका विरोधीहरुले सबैभन्दा बढी वहकाइ रहेको छ? हो यहि कुराको उत्तर खोज्ने प्रयास यो वैठकमा हुनुपर्छ। फगत सूचना प्रविधीको प्रयोग गरेर काग्रेसलाई रक्षात्मक बनाइयो भन्ने कुराको अर्थ रहन्न्न। नयाँ पुस्ता हो सूचना प्रविधीको प्रयोग जति गर्छ विवेकी पनि उत्तिकै छ भन्ने मान्नुपर्छ। यो पुस्ता की तपाईलाई कन्भिन्स गर्छ की तपाईले उसलाई कन्भिन्स गर्नुपर्छ। तर हाम्रा गतिविधी, आचरण र व्यवहारका कारण यो विवेकी पुस्ता हामीबाट टाढा भइरहेको छ। पार्टीमा नयाँ पुस्ताको प्रवेश न्यून किन छ? किन हाम्रा कार्यक्रममा यूवाहरुको संख्या घट्दो छ समिक्षा गर्न पर्दैन? आज सबै नेताहरुले विगारे बरु नेपाली हुनुको गौरव त हिजो थियो भनेर ‘ब्रेन वास’ गर्ने सामग्री जसरी इन्टरनेटमा भाइरल भइरहेको छ त्यसबाट नयाँ पुस्ता सबैभन्दा बढी वहकिएको छ। के यसलाई हामीले गम्भिरतापूर्वक लिएका छौं? विवेकसँगै विद्रोही चेत भएको र तीक्ष्ण बुद्धिको नयाँ पुस्ता हाम्रो प्राथमिकतामा हो भने समुदायमा कांग्रेस जस्तै नयाँ पुस्तासँग नेपाली कांग्रेस अभियान पनि तत्काल ल्याइयोस। नयाँ पुस्तासँग कांग्रेस संवादमा जाने निर्णय होस।

कार्यकालको समिक्षा

नेपाली कांग्रेसको महाधिवेशन भएको २ बर्ष पुरा भएर तेस्रो बर्षमा लागेको छ। विधानत २०८२ मंसिर भित्र १५ औं महाधिवेशन गर्न अब समयवद्ध कार्यतालिका ल्याउनु ढीलो गर्नुहुन्न। ४ बर्षे कार्यकालको आधा समय व्यतित गर्दा विधान कार्यान्वयनमा यो कार्यसमिति चुक्दै आएको छ। पार्टीको साउनमा सम्पन्न वैठकले तय गरेको कार्यतालिका अनुसार विधान कार्यान्वयनमा मूल नेतृत्वले गर्नुपर्ने कामको स्मरण गराउँदै समयमसीमा समेत तोकेको थियो। तर निर्णयको पूर्ण कार्यान्वयनमा उदासिनता आज पनि उस्तै छ। सभापतिज्यू आज पनि काम गर्ने हुटहुटी भएका केन्द्रीय समिति भित्रका थुप्रै साथीहरु काम नपाएर बसेका छौं। केहि विभागीय प्रमुख विभाग विस्तारका लागि सभापतिको मुख ताकेर बसेका छन्। दोहोरो जिम्मेवारीमा नभएका साथीहरुलाई पार्टी काममा लगाउँदा त्यसले पार्टीलाई नै फाइदा पुग्छ होला भन्ने कुरामा चाँडो ध्यान जाओस सभापतिज्यू।

केन्द्रीय समितिले लगभग पूर्णता पाइसके पनि अझै कोषाध्यक्षको नियुक्तीमा अलमल बुझ्न सकिएको छैन। कतिपय भातृ संस्थाहरु भीमकाय बनाएका छौं, कतिपय विस्तार हुन सकेका छैनन्। निश्चित समय तोकेर गठन गरिएका भातृ संस्थाहरु महाधिवेशन गर्न असफल छन्। भातृ संस्थाहरु पार्टी नेतृत्वको अनुकुलतामा राख्ने हो र ति संस्थाहरुको महाधिवशेन आर्थिक हिसावले पनि खर्चिलो भएको हो भने अबका दिनमा भातृ संस्थाहरुको गठन केन्द्रीय सभापतिले केन्द्रीय समितिको परामर्शमा निश्चित समयको लागि तोक्ने व्यवस्था यो केन्द्रीय समितिले गरोस। महाधिवशेनको जिम्मेवारी लिएर आएको नेतृत्व आफ्नो समय मात्र लम्वाएर पदमा टासिइरहने अवस्थाको अन्त्य गरियोस। कार्यकाल सकिएका शुभेच्छुक संस्थाहरुलाई पनि महाधिवेशन गर्न निर्देश गरियोस वा नयाँ तदर्थ समिति बनाएर काममा लगाइयोस।

सरकार र कांग्रेसका मन्त्रीहरु

एक बर्षे कार्यकाल प्रधानमन्त्री पुष्पकमल दाहालले पुरा गरेका छन्। हाम्रा मन्त्रीहरुले पनि केहि समयमा पुरा गर्नु होला। प्रधानमन्त्रीले अपेक्षा अनुसार काम गर्न नसकेको र अब क्रम भंग हुने पुरानै कथन दोहोर्‍याउनुभएको छ। प्रमले अपेक्षा अनुसारको काम हुन नसकेको भन्नुको मतलव सरकारको मुख्य हिस्सेदार दल काग्रेसका मन्त्रीहरुले समेत काम गर्ने नसकेको आरोप पनि हो। नागरिक तहमा र पार्टीका कार्यकर्ता र शुभेच्छुक तहमा सरकारमा कांग्रेस भएको अनुभुती नभएको कुरा आइरहँदा स्वयं मन्त्रीहरुले चाहि यसलाई कसरी लिनुभएको छ? आम नागरिक, पार्टी पंक्ति र स्वयं प्रधानमन्त्रीले अपेक्षा गरे जस्तै काम गर्न केले रोकिरहेको छ? मुखमा लगाम नलागेका, सामाजिक सद्भाव भड्काउने प्रवृतीका मन्त्री बाहेक किन अरु मन्त्रीहरु प्राय गुमनाम जस्तै हुनुहुन्छ? सरकारमा रहेकाहरुको पर्फर्मेन्सले नै पार्टीका बारेमा पर्सेप्सन बन्ने हुनाले उहाँहरुलाई यदि तर भन्ने छुट छैन। काम गर्ने मौका पाएको बेलामा काम गरे अर्को चुनावको चिन्ता गर्नु पर्दैन। तीनै तहका सरकारमा रहेका हाम्रा साथीहरु र पार्टीबीचमा समन्वयका लागि पार्टीले तत्काल संयन्त्रको गठन गरोस।

राष्ट्रिय सभाको लागि मापदण्ड

सबैको चासो र जोड राष्ट्रिय सभाको उमेद्वार र उमेद्वारको लागि मापदण्ड बनाउनु पर्छ भन्नेमा छ। के यस्तो मापदण्ड बनाउँदा केन्द्रीय कार्यालय परिसरमा भेट भएका द्वन्दमा दुवै हात गुमाएका म्याग्दीका सुरेन्द्र खत्री जस्ता द्वन्दपिडित र अपाङ्गता भएका साथीले मैले पनि न्याय पाए भन्ने गरि बन्छ की यहाँ भित्र वैठकमा भएकाहरुको लागि मिल्नेगरि मात्र बनाइन्छ। हामीले उमेद्वार बनाउँदा पटकपटक अवसर पाएका, गत चुनावमा प्रत्यक्ष वा समानुपातिकमा उमेद्वार भएकाहरुलाई नै ल्याउने मापदण्ड बनाइन्छ की पार्टीमा लागेका तर अवसर नपाएकालाई समेट्ने गरि पनि बनाइन्छ? नयाँ अनुहार र आफ्नो क्षेत्रमा केहि विशिष्ट योगदान गरेकाहरुलाई हेरेर पनि मापदण्ड बनाइन्छ? देश कांग्रेसलाई हेरिरहेको छ। कांग्रेसले देशको मुड बुझ्छ की बुझ्दैन ? देशको मुड बुझे मात्रै पार्टी पनि टिक्छ हामी पनि टिक्छौ । नेतृत्वको ध्यान जाओस।

-नेपाली काँग्रेस केन्द्रीय समिति वैठकमा प्रस्तुत प्रस्तावमाथि केन्द्रीय सदस्य शिवाकोटीको धारणा


प्रकाशित मिति: १३ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?