२४ बैशाख २०८३, बिहीबार

माघे सङ्क्रान्ति, थारूको नयाँ वर्ष, सुदूरपश्चिमेली र कर्णालीवासीको चेली तिहार


सुशिल राेकाया: माघे सङ्क्रान्ति नेपाली समाजमा विविध सांस्कृतिक, धार्मिक र सामाजिक महत्व बोकेको पर्वका रूपमा मनाइँदै आएको छ। प्रत्येक वर्ष माघ १ गते मनाइने यो पर्व सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनका रूपमा चिनिन्छ। यस दिनदेखि उत्तरायण सुरु हुने धार्मिक विश्वास रहँदै आएको छ।
माघे सङ्क्रान्ति विशेषगरी भूमिपुत्रका रूपमा चिनिने थारू समुदायको नयाँ वर्ष ‘माघीका रूपमा मनाइन्छ। थारू समुदायमा यस अवसरमा पुराना ऋण–दायित्व टुंग्याउने, गाउँको बडघर (मुखिया) चयन गर्ने, नयाँ कृषि वर्षको सुरुआत गर्ने तथा पारिवारिक र सामुदायिक मेलमिलाप गर्ने परम्परा रहेको छ।
माघी पर्वले थारू समुदायको सामुदायिक एकता, आत्मनिर्भर जीवनशैली र सांस्कृतिक पहिचानलाई उजागर गर्दछ। त्यसैगरी माघे सङ्क्रान्ति सुदूरपश्चिम र कर्णाली प्रदेशमा चेली तिहार वा माघे तिहारका रूपमा मनाइन्छ। यस दिन माइतीघरले विवाह भएर टाढा गएका चेलीबेटीलाई बोलाएर तिहारझैँ सम्मानपूर्वक मीठा–मीठा परिकार खुवाउने, माया र अपनत्व व्यक्त गर्ने माईत नआएका चेलीबेटीलाई मिठा- मिठा खाने परिकार माईत बाट चेलिबेटीको घर सम्म पुर्‍याउन जाने चलन छ।
चेली तिहार कुनै लिखित मितिबाट सुरु भएको पर्व नभई सुदूर कर्णालीका बाजुरा, अछाम,बझाङ डोटि, हुम्ला, जुम्ला मुगु आदि जिल्लाका पहाडी समाजमा सदियौँदेखि मौलिक परम्पराका रूपमा चल्दै आएको सांस्कृतिक अभ्यास हो। माघे सङ्क्रान्तिलाई पुण्यकाल मानिने भएकाले यस दिन चेलीलाई खुवाउँदा पुण्य प्राप्त हुने धार्मिक विश्वास पनि रहँदै आएको छ। साथै तिल, चाकु, घ्यू, खिचडी, तरुल, सखरखण्डजस्ता परिकार खाने चलनले जाडो मौसममा शरीरलाई तातो र स्वस्थ राख्ने जनविश्वास छ। नदी, कुण्ड तथा तीर्थस्थलमा स्नान गरी दान–पुण्य गर्ने प्रचलन पनि व्यापक रूपमा देखिन्छ।

यसरी माघे सङ्क्रान्ति एकैपटक थारू समुदायको नयाँ वर्ष, सुदूरपश्चिम र कर्णालीवासीका लागि चेली सम्मानको पर्व, तथा सम्पूर्ण नेपाली समाजका लागि धार्मिक र सांस्कृतिक एकताको प्रतीक पर्वका रूपमा स्थापित भएको छ। फरक–फरक भूगोल र समुदायमा फरक शैलीमा मनाइए पनि यस पर्वले नेपाली समाजको बहुलता, पारिवारिक आत्मीयता र सामाजिक सद्भावलाई मजबुत बनाउँदै आएको छ।


प्रकाशित मिति: १ माघ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives