८ पुष २०८१, सोमबार

एनआरएनए प्रवक्ताको उपमहासचिवमा उम्मेदवारी घोषणा,बलियो पकड बनाउँदै


काठमाडौँ । आगामी अक्टोबरमा तय भएको गैरआवायीय नेपाली संघ (एनआरएनए) को ११ औँ महाधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढ्न थालेको छ । एनआरएनएका अभियन्ताहरु आफ्नो पक्षमा माहोल बनाउन विश्वभर प्रचारप्रसारदेखि उम्मेदवारी घोषणालाई तीव्र बनाएका छन् । चुनावको माहोलका बीच गैरआवासीय नेपाली संघका प्रवक्ता सोम सापकोटा भने संगठनलाई चुस्त र चलायमान बनाउनसमेत व्यस्त छन् । विश्वभरका गैरआवासीय नेपालीलाई एकताबद्ध गर्ने र संगठनसँग जोड्दै भाइचारालाई बलियो बनाउने कार्यमा उनी सक्रिय छन् ।

एनआरएनएभित्र मिलनसार, मृतुभाषी र अरु अभियन्ताहरुको विश्वास जित्न सफलसापकोटाको जनसम्पर्क निकै सशक्त रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । यतिबेला उम्मेदवारहर आफू जहाँ रहेका छन् त्यही स्थानबाट आफ्नो पक्षमा माहोल बनाउन डेलिगेट्सलाई सम्पर्क गर्नेदेखि प्रचार प्रसारमा व्यस्त छन् । सापकोटा गैरआवासीय नेपाली संघमा तथ्यमा जानकार र जनसम्पर्कमा अब्बल सदस्यका रुपमा मानिन्छन् । हरेक सदस्यसँग व्यक्तिगत सम्पर्क रहेका उनी मुद्दामा गम्भीर छलफल र निष्कर्ष निकाल्नका लागि माहिर मानिन्छन् ।

एनआरएनएको आगामी अक्टोबरमा हुने महाधिवेशनमा उपमहासचिव पदको उम्मेदवार समेत रहेका सापकोटा आफ्नो उम्मेदवारीको प्रचारमा मात्रै सीमित छैनन् उनी समग्र एनआरएनएको सुदृढीकरण र एकताका समेत सक्रिय छन् । विश्वभरका एनआरएनए अभियन्तासँग निरन्तर सम्पर्कमा रहिरहने र उनीहरुलाई संस्थामा आबद्ध गराउन प्रेरित गर्ने उनको विदेशी संघसंस्था र राजनीतिककर्मीहरुसँग पनि राम्रो सम्बन्ध रहेको छ ।

हुन पनि विदेश बसाइको २८ वर्षको अवधिमा उनी आधा दर्जन हाराहारीको देशमा बसेर त्यहाँको वातावरणसँग भिजिसकेका छन् । सन् १९९६ मा नेपालबाट अवसरको खोजीमा स्ट्जिरल्याण्ड पुगेका उनी त्यहाँ एक वर्ष बसेपछि जर्मनी बसाइँ सरे । त्यहाँ पनि दुई वर्ष बसेपछि छोटो समय हल्याण्डमा रहँदै पछि बेल्जियम पुगे । बेल्जियम हुँदै १९९९ को अप्रिलदेखि पोर्चुगलमा बसाइ सरेका सापकोटा जहाँ पुगे त्यहा पुगेर नेपाल र नेपाली समूदायको पक्षमा खुलेर लागिपरे । रोचक त के छ भने उनी पोर्चुगलमा १३ औँ नम्बरको नेपालीको रुपमा त्यहाँ पुगेका थिए । जहाँ अहिले ७० हजारको हाराहारीमा नेपाली रहेको अनुमान गरिएको छ ।

त्यहाँ पुगेसँगै सामाजिक गतिविधिमा व्यस्त उनले पोर्चुगल नेपाल फ्रेण्डसिप एसोसिएसन गठन गरेर नेपाल र पोर्चुगललाई जोड्ने काम गरे । यसैगरी गैरआवासीय नेपाली संघ, जनसम्पर्क समिति, नेपाली समाज पोर्चुगल लगायतमा उनी सक्रियताका साथ लागिपरे भने त्यहाँ आफ्नो छुट्टै पहिचान बनाउन सफल भए ।

त्यसपछि २००९ मा डेनमार्क पुगेका उनले एनआरएनए डेनमार्कलाई जन्माउँदै अध्यक्ष बने भने त्यहाँ पनि बिर्सनै नसकिने केही काम गर्न सफल गरे । त्यसमध्ये एउटा कोप १५ मा सक्रियतासाथ नेपाललाई विश्वसामू चिनाउन नेतृत्वदायी भूमिका खेलेका थिए, सापकोटाले । सो क्रममा उनले नेपाल पर्यटन बोर्डको जनप्रतिनिधि भएर नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

डेनमार्कमा ७ वर्ष बिताएका उनले सोही समयमा जहाँ नेपाली त्यहाँ गैरआवासीय नेपाली संघ भन्ने नाराका साथ स्वीडेन र चेकरिपब्लिकमा राष्ट्रिय समन्वय समिति गठन गरेका थिए । यस्तै थप अवसर र पारिवारिक दायित्व पुरा गर्ने क्रममा २०१७ मा बेलायत पुगे । बेलायतका साथसाथै व्यवसायको सिलसिलामा २०२० मा माल्टा पुगेका उनले आफ्नै सक्रियतामा एनआरएनएको राष्ट्रिय समन्वय समिति बनाए ।

सोही क्रममा माल्टा र नेपाललाई जोड्नका लागि माल्टा नेपाल चेम्बर अफ कमर्स गठन गरेर दुई देशबीचको व्यापारलाई जोड्नका लागि समन्वयकारी भूमिका खेलेका थिए । यस्तै माल्टा नेपाल फ्रेण्डसिप एसोसिएसन गठन गरेर समग्र देशलाई नै जोड्ने काम गरेबापत उनलाई नेपाल पर्यटन बोर्डले माल्टाको मानार्थ जनप्रतिनिधि नै चयन गरेको थियो । छोटो समय माल्टा बसाइका क्रममा उनले नेपाल र माल्टाको सम्बन्ध सुधारमा सकारात्मक भूमिका खेल्दै भिजिट नेपाल २०२० का लागि विभिन्न कार्यक्रमहरु आयोजना गरेका थिए ।
विभिन्न देशमा रहँदा उनले पर्यटनसँग सम्बन्धित संगसंगठनहरु, एनजीआई तथा आईएनजीओसँगको सम्बन्ध र नेपालमा पर्यटन प्रवद्र्धनका लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । भिजिट नेपाल २०११ मा महत्त्वपूर्ण योगदान गरेका सापकोटा भिजिट नेपाल युरोप क्याम्पेन २०१७ को कोअर्डिनेटर भएर काम गरेका थिए । भूकम्पबाट थिल्थिलो भएको पर्यटनलाई माथि उठाउन पनि भूमिका खेलेका थिए । भूकम्पको बेला नेपाल सुरक्षित छ भनेर सन्देश प्रवाह पनि उनले बताएका थिए । घरदेशलाई परदेशसँग जोड्न पनि उनको महत्त्वपूर्ण भूमिका रहेको छ ।
नेपाली उत्पादनलाई युरोप क्षेत्रमा लगेर बजारीकरण गर्न पनि उनको भूमिका रहेको छ । गोल्डेन एभरेस्ट मिनीमार्टलगायतका व्यवसाय सञ्चालन गरेर नेपालको प्रोमोसन गर्दै नेपालका उत्पादनलाई बेच्न उनले भूमिका खेलेका छन् । पछिल्लो समय बेलायतलाई कर्मभूमि बनाएर विश्वभर आफ्नो जनसम्पर्क बढाउन सफल सापकोटा २०२२ मा मन्त्रिपरिषद्को निर्णयअनुसार वेल्सका लागि नेपालको टुरिजम सद्भावना राजदूत नियुक्त भएका थिए ।

२८ वर्षे प्रवास बसाइमा उनी जहाँ जहाँ पुगे सो देशका स्थानीय सरकार, मिडिया, गैरआवासीय नेपाली, सामाजिक संघसंस्था, एनजीओ तथा आईएनजीओ, उद्योगीलगायतसँग समन्वय गर्दै नेपालसँग निरन्तर जोडिने प्रयास गरिरहे । यतिमात्रै होइन उनले भारतमा रहेको करिब ५० लाख नेपाली समूदायलाई समेत कुनै न कुनै माध्यमबाट एनआरएनएमा जोड्नुपर्छ भन्ने उद्देश्यसहित पहलकदमी लिँदै आएका छन् ।

यस्तै विश्वका विभिन्न देशभा रहेका गैरनेपाली तर नेपालीभाषीहरुलाई समेत कहीँ न कहीँ नेपालसँग जोड्ने र दोस्रो पुस्तालाई फ्री भिसामार्फत अध्ययन तथा अवसरका लागि नेपाल ल्याउनपर्छ भन्ने मान्यता उनको रहिआएको छ । त्यसका लागि प्रययत्नशील रहेका सापकोटा कुनै पनि किसिमले नेपालीलाई हित हुने गरी अभियान सञ्चालन हुनुपर्ने धारणा राख्छन् ।


प्रकाशित मिति: १२ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?