बाजुरा: जिल्ला प्रहरी कार्यालय बाजुराले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न क्षेत्रमा जंगली जनावरको आक्रमणबाट बच्ने उपाय, लागुऔषध दुव्र्यसन नियन्त्रण, विषादी च्याउको पहिचान तथा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी चौकी काँडा, डोगडी, बार्जुगाड तथा अस्थायी प्रहरी पोस्ट आटीचौर र रिठाबजारले स्थानीय समुदायलाई लक्षित गर्दै जनचेतनामूलक कार्यक्रम आयोजना गरेका हुन्।
कार्यक्रममा प्रहरीले वर्षायाममा बढ्ने जंगली जनावरको आक्रमणबाट सुरक्षित रहने उपाय, अपरिचित तथा विषादी च्याउ सेवन गर्दा हुन सक्ने जोखिम, लागुऔषध दुव्र्यसनका सामाजिक तथा कानुनी असर, साथै बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि अपनाउनुपर्ने सावधानीबारे जानकारी दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ।
प्रहरीले समुदायको सक्रिय सहभागिताबाट मात्र अपराध नियन्त्रण, सडक सुरक्षा अभिवृद्धि तथा जनधनको क्षति न्यूनीकरण गर्न सकिने भएकाले यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालन गरिएका यस्ता गतिविधिले नागरिकमा सुरक्षा सचेतना अभिवृद्धि हुनुका साथै सुरक्षित र जिम्मेवार समाज निर्माणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार