सुशिल राेकाया: रोजगारीको सिलसिलामा विगत चार वर्षदेखि भारतमा रहँदै आएका एक नेपाली युवकको बैङ्गलोरमा विभत्स कुटपिट गरी हत्या भएको छ। बाजुरा जिल्ला, गौमुल गाउँपालिका वडा नं. ३ निवासी २१ वर्षीय गजेन्द्र विश्वकर्माको उपचारका क्रममा दुःखद निधन भएको हो।
मृतकका आफन्तले दिएको घटना विवरण अनुसार, गत असार २९ गते साँझ मृतक विश्वकर्मा आफ्ना आफन्तलाई भेट्न भनी गल्लीमा हिडिरहेका थिए। सोही क्रममा बाजुरा जिल्लाकै बुढीनन्दा नगरपालिका वडा नं. १०, पान्डुसैन डाँडा निवासी एकै घरका तीन दाजुभाइ मिलेर उनीमाथि निर्घात कुटपिट गरेका थिए। कुटपिटमा संलग्न अभियुक्तहरूमा २६ वर्षका नरेन्द्र चंदारा, २२ वर्षका राम चंदारा र २० वर्षका गोबिन्द चंदारा रहेका छन्। कुटपिटको घटना हुनु अघि सोही दिन सामान्य आपसी विवाद भएको बुझिएको छ ।
कुटपिटबाट गम्भीर घाइते भएका विश्वकर्मालाई असार २९ गते साँझ नै उपचारका लागि कर्नाटक राज्यको कागदारपुर, बैङ्गलोरस्थित श्री लक्ष्मी अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारकै क्रममा असार ३१ गते बुधबार उहाँको दुःखद मृत्यु भएको जानकारी प्राप्त भएको छ।
मृतकको शव हालसम्म पनि सोही अस्पतालमा नै रहेको पारिवारिक स्रोतले जनाएको छ। कुटपिटमा संलग्नहरूमध्ये दुई जनालाई भारतिय प्रहरीले पक्राउ गरिसकेको छ भने अन्य ब्यक्तिहरू अझै फरार रहेका छन्। यस दुःखद घटनाप्रति मृतकका परिवारले गम्भीर ध्यानाकर्षण गराउँदै निष्पक्ष अनुसन्धानको माग गरेका छन्। मृतकका दाइ रामचन्द्र विश्वकर्माले फरार अभियुक्तलाई यथाशीघ्र पक्राउ गरी घटनाको सत्यतथ्य बाहिर ल्याउन र संलग्न सबै दोषीहरूलाई प्रचलित कानुनबमोजिम कडा कानुनी कारबाही गर्न माग गर्नुभएको छ।
साथै, पीडित परिवारले न्याय प्राप्त गर्नका लागि आवश्यक कानुनी, प्रशासनिक तथा शव नेपाल ल्याउने वा अन्य समन्वयात्मक सहयोगका लागि नेपाल सरकार, सम्बन्धित नेपाली नियोग तथा संघ-संस्था, प्रवासी नेपाली सम्पर्क मञ्च, भारत (कर्नाटक राज्य समिती) समक्ष विनम्र अनुरोध गरेका छन्।
प्रकाशित मिति: ३२ असार २०८३, बिहीबार