७ पुष २०८१, आईतवार

महिलामन्त्री यादवद्वारा पदभार ग्रहण


१७ चैत ,काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री महिन्द्र राय यादवले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय नीति तर्जुमा समिति गठन गर्ने निर्णय गरेका छन्‌ ।

मन्त्री यादवले आज पदबहाल गर्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई समाजले हेर्ने दृष्टिकोणमा रुपान्तरण गर्न आवश्यक रहेको बताए। “महिलाको अधिकारको लागि बनाउनुपर्ने कानुन, वर्तमान मन्त्रालयका यथास्थितका समस्यालाई सामूहिक छलफल गरी समाधान गर्छौँ । जनतालाई सुशासनको अनुभूति दिलाउँछौँ ।” उनले भने ।

मन्त्री यादव यसअघि २०५४ सालमा राज्यमन्त्री, २०६४ मा सिँचाइमन्त्री, २०६७ मा उद्योगमन्त्री र सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी पाएका थिए। गत मङ्सिर ४ को निर्वाचनमा सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

उनि पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा आबद्ध छन्‌ । मन्त्री यादवको जन्म विसं २०११ मा सर्लाहीको हरिपूर्वा नगरपालिकामा भएको हो ।

विसं २०३७ मा नेकपा(एमाले)को सदस्यका रुपमा उनको राजनीतिक यात्रा सुरु भएको थियो । उनले २०६२/६३ सालको आन्दोलनपछि एमाले परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टी(तमलोपा) स्थापना गरे । तर केही समयपछि तमलोपा परित्याग गरी तराई मधेस सद्भावना पार्टीको स्थापना र त्यसपछि राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको सदस्य बनेका थिए।

मन्त्री यादवले मध्यावधि निर्वाचन २०५१ र प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ सालमा नेकपा(एमाले)बाट प्रतिनिधिसभामा उम्मेदवार तथा सर्लाहीबाट निर्वाचित हुदै संसदीय यात्रा सुरु गरे ।

विसं २०६४ को संविधानसभा सदस्यमा सर्लाहीबाट निर्वाचित भएकि उनले दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पनि सर्लाही–४ बाट निर्वाचित भए ।

विसं २०७४ को निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।


प्रकाशित मिति: १७ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?