बाजुरा :त्रिवेणी नगरपालिकाको १९ अाैँ नगरसभा तथा आगामी आर्थिक वर्ष २०८३/०८४ काे बजेट अधिवेशन चालु आर्थिक बर्षका लागि कुल ५४ करोड ९५ लाख ७२ हजार रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ। बुधबार (आज) सम्पन्न नगरसभाको बैठकमा नगर उपप्रमुख कमला कुमारी जैसी (न्यौपाने) ले उक्त बजेट तथा कार्यक्रम सभासमक्ष प्रस्तुत गरेकी छन ।
बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख जैसीले नगरको समग्र विकास, आर्थिक समृद्धि र जनभावनालाई समेटेर बजेट तयार पारिएको बताउनुभयो। बजेटसँगै उनले त्रिवेणी नगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८३, विनियोजन विधेयक २०८३ र आर्थिक वर्ष २०८२/०८३ को हालसम्मको न्यायिक समितिको प्रतिवेदन समेत सभामा पेश गरेकी थिइन।
सभामा प्रस्तुत आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम र पेश गरिएका विभिन्न विधेयकहरूमाथि सदस्यहरूबीच विस्तृत छलफल भएको थियो। छलफल पश्चात् नगरसभाले ती सबै प्रस्ताव र विधेयकहरूलाई सर्वसम्मत रूपमा पारित गरेको छ।
नगरपालिकाले आर्थिक बर्षकाे बजेटले कृषि उत्पादन, स्थानीय उद्यम प्रवर्द्धन, शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ। नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रमअनुसार पालिकाले स्थानीय उत्पादनको बजारीकरण, स्वरोजगारका अवसर सिर्जना, शैक्षिक गुणस्तर सुधार, स्वास्थ्य सेवामा पहुँच विस्तार तथा आधारभूत पूर्वाधार निर्माणलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गर्ने नगरप्रमुख कर्ण बहादुर थापाले बताएका छन् ।
गत असार ८ गतेदेखि प्रारम्भ भएको त्रिवेणी नगरपालिकाको यस नगरसभा अधिवेशन आज असार १० गते बजेट तथा महत्त्वपूर्ण विधेयकहरू पारित गर्दै सफलतापूर्वक सम्पन्न भएको छ। नयाँ बजेट पारित भएसँगै नगरपालिकालाई आगामी आर्थिक वर्षका विकास निर्माण र प्रशासनिक कामहरू अगाडि बढाउने बाटो खुला भएको बताएका छन् ।
प्रकाशित मिति: ११ असार २०८३, बिहीबार