बाजुरा ः बाजुराका चार नगरपालिका र पाँच गाउँपालिकाले आर्थिक वर्ष ०८३/८४ का लागि बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन्। बुधबार सम्पन्न नगर तथा गाउँसभामा उपप्रमुख तथा उपाध्यक्षहरुले आगामी वर्षको बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखिएको बताएका छन्।
जिल्लाको सदरमुकाम रहेको बडीमालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु ५१ करोड ६९ लाख १९ हजार बजेट विनियोजन गरेको छ। नगर उपप्रमुख नन्दाकुमारी थापाले नगरसभामा बजेट प्रस्तुत गर्दै आधारभूत सेवा सुदृढीकरण, सडक, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको जानकारी दिइन्।
बुढीगंगा नगरपालिकाले रु ५६ करोड ५७ लाख १४ हजार बजेट सार्वजनिक गरेको छ। नगर उपप्रमुख माया खड्का (कुँवर) ले प्रस्तुत गरेको बजेटमा कृषि उत्पादन वृद्धि, खानेपानी, स्वास्थ्य सेवा विस्तार तथा भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ।
त्रिवेणी नगरपालिकाले रु ५४ करोड ९५ लाख ७२ हजार बजेट सार्वजनिक गरेको छ। नगर उपप्रमुख कमला कुमारी जैशी (न्यौपाने) ले चालुतर्फ रु ३५ करोड १८ लाख ४४ हजार र पुँजीगततर्फ रु १९ करोड ७७ लाख २८ हजार विनियोजन भएको जानकारी दिइन्।
बुढीनन्दा नगरपालिकाले रु ५७ करोड ६ लाख ९६ हजार बजेट प्रस्तुत गरेको छ। नगर उपप्रमुख रामबहादुर बोहराले चालुतर्फ रु ३७ करोड ९४ लाख ४८ हजार तथा पुँजीगततर्फ रु १९ करोड ८ लाख ४८ हजार विनियोजन गरिएको बताए। यो जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा ठूलो बजेट हो।
गौमुल गाउँपालिकाले रु ४० करोड ३१ लाख २९ हजार बजेट प्रस्तुत गरेको छ। उपाध्यक्ष सीता थापाले चालुतर्फ रु २८ करोड ६० लाख २७ हजार र पुँजीगततर्फ रु ११ करोड ७१ लाख २ हजार विनियोजन गरिएको जानकारी दिइन्। गाउँपालिकाले जनमुखी, विकासमुखी तथा समृद्धिमुखी कार्यक्रमलाई केन्द्रमा राखेर बजेट निर्माण गरेको जनाएको छ।
हिमाली गाउँपालिकाले रु ४३ करोड ६८ लाख ३९ हजार बजेट ल्याएको छ। उपाध्यक्ष राजकला सार्कीले चालुतर्फ रु २५ करोड ६८ लाख २१ हजार र पुँजीगततर्फ रु १८ करोड १ हजार विनियोजन गरिएको जानकारी दिइन्।
स्वामीकार्तिक खापर गाउँपालिकाले रु ४४ करोड १६ लाख २ हजार बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले ग्रामीण सडक, कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी बढाउने नीति लिएको जनाएको छ।
जगन्नाथ गाउँपालिकाले रु ३८ करोड ६३ लाख १ हजार बजेट प्रस्तुत गरेको छ। उपाध्यक्ष मरुकला बिष्टले चालुतर्फ रु २३ करोड ६८ लाख १० हजार ५०० र पुँजीगततर्फ रु १४ करोड ९४ लाख ९० हजार ५०० विनियोजन गरिएको बताइन्।
खप्तड छेडेदह गाउँपालिकाले आगामी वर्षका लागि रु ५३ करोड १५ लाख ६९ हजार बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले कृषि, पर्यटन तथा पूर्वाधार विकासलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ।
जिल्लाका सबै स्थानीय तहले प्रस्तुत गरेका बजेटमा शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, खानेपानी, सडक तथा पुल निर्माण, पर्यटन विकास, उद्यमशीलता प्रवर्द्धन, युवा स्वरोजगार र विपद् व्यवस्थापनलाई प्रमुख प्राथमिकतामा राखिएको छ।
आगामी आर्थिक वर्षमा स्थानीय सरकारहरूले आधारभूत सेवा सुदृढ गर्दै नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित बजेट सार्वजनिक गरेका हुन्।
प्रकाशित मिति: ११ असार २०८३, बिहीबार