विवाहका बखत बेहुलालाई बेहुलीले सातवटा प्रतिज्ञा गराउँदी रहिछ । त्यति बेलाको संवाद यस्तो रहेछ
(१) बेहुली — ‘तीर्थ–व्रत र दानधर्ममा मलाई साथै लैजान्छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’ बेहुला — ‘म तिमीलाई साथमै लैजान्छु ।’
(२) बेहुली — ‘मेरा मातापितालाई आफ्नै मातापितासरह सम्मान गर्छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’ बेहुला — ‘म सम्मान गर्नेछु ।’
(३) बेहुली — ‘घरका सम्पूर्ण आवश्यकताहरू पूरा गर्न सक्छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’ बेहुला — ‘म पूरा गर्नेछु ।’
(४) बेहुली — ‘मसँग सल्लाह गरेर घरायसी व्यवहार र आर्थिक कारोवार गर्छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’ बेहुला — ‘म सल्लाह गर्नेछु ।’
(५) बेहुली — ‘तिम्रा र मेरा साथीहरूका अगाडि मेरो अपमान गर्दैनौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’ बेहुला — ‘म अपमान गर्दिनँ ।’
(६) बेहुली — ‘बुढी हुँदा पनि मेरो हेरचाह र भरणपोषण गर्न तयार छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’ बेहुला — ‘म हेरचाह र भरणपोषण गर्नेछु ।’
(७) बेहुली — ‘परस्त्रीलाई मातासमान दृष्टि राख्छु भनेर वाचा गर्छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’ बेहुला — ‘म परस्त्रीलाई मातासमान मान्नेछु ।’
संस्कृत भाषामा लेखिएकाले र पुरोहितले पढिदिने हुनाले त्यति बेला के भनिएको हुन्छ भन्ने कुरा बेहुला–बेहुलीले बुझ्दैनन् । बुझ्ने हो भने पारिवारिक द्वन्द्व बढ्ने थिएन कि !
प्रकाशित मिति: १६ मंसिर २०८०, शनिबार