बाजुरा: नेपालको इतिहासमै महत्वपूर्ण मानेर प्रत्येक वर्ष मनाइने संविधान दिवसलाई यसपटक भव्य र अर्थपूर्ण ढंगले मनाउन नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाजुराले आह्वन गरेकाे छ । नेकपा एमाले केन्द्रीय कमिटिको निर्देशन अनुसार जिल्ला सदरमुकाम मार्तडीमा बिबिध कार्यक्रम गरि दिवस मनाउन नेकपा एमाले बाजुराले आह्वन गरेकाे हो । २०७२ साल असोज ३ गतेको संविधानलाई नेपालको लोकतान्त्रिक यात्राको महत्वपूर्ण उपलब्धि मान्दै एमालेले यस दिनलाई केवल औपचारिकता नभई जनचेतना र एकताको पर्वका रूपमा स्थापित गर्न खोजेको छ।
कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न गतिविधिहरूको योजना बनाइएको सुदुर पश्चिम प्रदेश कमिटि सचिवालय सदस्य गगन रावलले बताएका छन । यसले नयाँ पुस्तामा संविधानप्रतिको गर्व, कर्तव्य र सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको नेकपा एमाले सुदुर पश्चिम प्रदेश कमिटि सचिवालय सदस्य रावलले बताएका छन ।
एमाले बाजुराका उपाअध्यक्ष जनक कुमार बोहराका अनुसार संविधानले देशलाई स्थायित्व, समानता र समृद्धिको बाटोमा अघि बढाउने आधार तयार गरेको छ। यस अवसरमा अन्य राजनितक दलहरु संग सहकार्य गरि दिवस मनाउने र अन्य दलहरुको कार्यक्रम नभए एमाले बाजुराले अनिबार्य मनाउने तयारी गरिएको बताए । उनले भने, “संविधानलाई केवल कानुनी दस्तावेजका रूपमा मात्र होइन, जनताको सपना र बलिदानको परिणामका रूपमा बुझ्नुपर्छ। यसलाई जनस्तरमा प्रचार–प्रसार गर्नु हाम्रो जिम्मेवारी हो।” । युवाहरूमा संविधानप्रतिको आत्मीयता र जिम्मेवारीबोध गराउन देउडा, गजल, कबिता जस्ता प्रतियोगिता जस्ता शैक्षिक तथा सांस्कृतिक कार्यक्रम राखिने नेकपा एमाले जिल्ला कमिटि उपाअध्यक्ष बोहराले बताए ।
यस वर्षको संविधान दिवसका अवसरमा सदरमुकाम मार्तडीमा भव्य सभा आयोजना गरिने नेकपा एमाले जिल्ला कमिटि बाजुराका सचिव काशी विकले बताए । सो सभामा जिल्लाभरका पार्टी नेतादेखि कार्यकर्ता, व्यवसायी, बुद्धिजीवी, विद्यार्थी र सर्वसाधारण नागरिकलाई सहभागी गराउने तयारी गरिएको उनले बताएका छन । यसका साथै, गाउँ–गाउँसम्म संविधानको सन्देश पुर्याउन समेत कार्यक्रमको आयोजना गरिने एमाले बाजुराले जनाएको छ ।
यसबाहेक संविधान दिवसकै अवसरमा सदरमुकाममा विशाल र्याली, सांस्कृतिक प्रदर्शन र पर्चा–प्रचारमार्फत जनस्तरमा संविधानको महत्व उजागर गरिने जनाएको छ । पार्टीका अनुसार, संविधानले दिएको अधिकार र दायित्वबारे नागरिकलाई जानकारी दिने उद्देश्यले घर–घरमा समेत सन्देश पुर्याउने उदेस्य रहेको नेकपा एमाले जिल्ला कमिटि बाजुराले जनाएको छ ।
एमाले बाजुराले अन्त्यमा सबैलाई संविधान दिवसका कार्यक्रममा सहभागिता जनाई राष्ट्रिय एकता, समानता र समृद्धिको यात्रामा हातेमालो गर्न आह्वान गरेको छ। नेकपा एमाले जिल्ला कमिटी बाजुराको सभा हलमा पार्टी जिल्ला कमिटी उपाअध्यक्ष जनक कुमार बोहराको अध्यक्षतामा बसेको बैठकमा नेकपा एमाले सुदुर पश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गगन रावल प्रमुख अतिथि रहेका थिए । बैठकमा नेकपा एमालेका पार्टी जिल्ला कमिटि पदाधिकारी तथा सदस्य, गाउ तथा नगर कमिटि पदाधिकारी, जनबर्गिय संगठनका प्रमुख तथा प्रतिनीधीहरुको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: २ आश्विन २०८२, बिहीबार