नेपाली माटोले अनेक उपकारी नारीहरु जन्माएको छ। त्यस्तै एक उल्लेखनीय उपकारी नारी हुन् – कृष्णचन्द्र देवी सिंह राणा। कृष्णचन्द्र देवी सिंह राणाको जन्म विक्रम संवत् १९८० चैत्र ३० गते बाजुराको कुडिकोटमा भएको थियो। उनी तत्कालीन कुडिकोटे राजा श्री मुकुन्दबहादुर सिंहकी नातिनी श्री वीर बहादुर सिंह कि पुत्री थिइन्। उनको विवाह १९ वर्षको उमेरमा २००० साल वैशाख २४ गते जनरल केशर शमशेर राणासंग भएको थियो। कृष्णचन्द्र देवी केशर शमशेर भन्दा ३२ वर्ष कान्छी थिइन्। कृष्णचन्द्र देवीसित विवाह हुँदा केशर शमशेर “सदर्न कमान्डिङ जनरल” थिए।
त्यो बेला उहाँको डोला बाजुराबाट काठमाडौ झिकाएर विवाह गरिएको थियो। भनिन्छ- कृष्णचन्द्र देवीको डोलालाई केशर शमशेरले आफ्ना छोरा साम्राज्य शमशेरको निम्ति भनेर मगाएका थिए। काठमाडौमा कृष्णचन्द्र देवीको रुपको निकै चर्चा भएपछि लोभिएर उनले आफै बिहे गरेका थिए भनिन्छ। यद्यपि यो कुरो रे मात्रै पनि हुन सक्छ। किनकि ठूलाबडाको विषयमा त्यत्तिकै पनि कथा बनेर चर्चा गरिने चलन छ। तर नारीको रुपले महर्षि र देवर्षिहरु पनि लोभिने हुँदा केशर शमशेर पनि लोभिएनन् होला पनि भन्न त सकिन्न।
जेहोस् जुद्ध शमशेरको शासनको जगजगी भएको बेला सदर्न कमान्डिङ जनरल केशर शमशेर र कृष्णचन्द्र देवीको विवाह निकै चर्चित भयो। केशर शमशेर तत्कालीन श्री ५ महाराजाधिराज त्रिभुवनका भिनाजु थिए। उनले राजाकी जेठी दिदी अधिराजकुमारी लक्ष्मी राज्यलक्ष्मी देवी शाहसित १२ वर्षकै उमेरमा बिहे गरेका थिए। त्यो समयमा राजाको छोरीमाथि कसैले पनि सौता हाल्ने आँट गर्दैन थिए। तर राणा शासनको जगजगी भएको बेला केशर शमशेरले शक्तिको तुजुकले राजकुमारीमाथि सौता हालीहाले। पछि राजकुमारी लक्ष्मी र केशरको सम्बन्ध विच्छेद भयो।
केशर शमशेर प्रधानमन्त्री चन्द्र शम्शेरका साहिला छोरा थिए। पिता चन्द्र शमशेर प्रधानमन्त्री हुँदा उनको जनरलकै पदीय स्तर भए पनि उनले शाही सङ्ग्रहालयको महानिर्देशक र काठमाडौ नगरपालिकाको मेयर जस्ता पदमा काम गरेका थिए। पछि २००५ साल वैशाखमा आफ्ना दाजु मोहन शमशेर प्रधानमन्त्री भएपछि केशर शमशेर सेनाको दोश्रो ठूलो पद जंगीलाठ भए।
२००७ सालको परिवर्तनपछि चन्द्र शमशेरका सबै छोराहरु देश छाडेर गए। तर केशर शमशेर भने नेपाल मैं रहे। देश नछाडेको हुँदा उनको राजासंग सम्बन्ध सुध्रियो। उनी २००८ सालमा वैशाखमा प्रधान सेनापति, २००८ मंसिरमा रक्षामन्त्री र २००९ श्रावणमा परामर्श दातृ समितिको अध्यक्ष (प्रधानमन्त्री जस्तै) बनाइए। २०१३ सालमा श्री ५ महेन्द्रको शुभ राज्याभिषेक समितिका अध्यक्ष भएका जनरल केशर शमशेरलाई राजाबाट सेनाको फिल्ड मार्शलको उपाधि प्रदान भएको थियो।
बाजुरा जस्तो दुर्गम कुडिकोटको राजपरिवार मा जन्मेकी कृष्णचन्द्र देवी श्रीकृष्ण भगवानजस्तै निकै आकर्षक थिइन्। उनको सुन्दरता र सरलताको निकै चर्चा हुन्थ्यो। उनका श्रीमान केशर शमशेर विश्व भ्रमण गर्ने पहिलो नेपाली भनेर चिनिन्छन्। केशर शमशेरको विभिन्न देशको भ्रमणमा कृष्णचन्द्र देवी पनि सहभागी थिइन्। त्यतिखेर विश्वका धेरै देशमा पुग्ने उनी एक मात्र नेपाली नारी थिइन्।
केशर शमशेर २००२ सालदेखि २००४ सालसम्म बेलायतको लागि नेपालको राजदुत भएको बेला कृष्णचन्द्र पनि पतिसंगै बेलायत मैं बसेकी थिइन्। त्यो बेला लण्डनमा रहेका संसारका राजदूतपत्नीहरु मध्ये सबैभन्दा आकर्षक र सुन्दरी भनेर उनको लण्डनमा समेत निकै चर्चा भएको थियो।
दुर्गम ठाउँमा जन्मेर पनि काठमाडौ आएर सबैको आकर्षणको केन्द्रविन्दु हुन सक्नु र संसार भ्रमण गर्न पाउनुमा कृष्णचन्द्र देवीलाई भाग्यले पनि साथ दिएको हो। उनी भाग्यले “हर हाइनेश” को उपाधि पाउन पनि सफल भएकी थिइन्।
“हिज/हर हाइनेश” राजपरिवारका निकटका सदस्य र राणाकालमा राणा प्रधानमन्त्री र उनकी मुख्य पत्नीलाई दिइने उपाधि हो। तर यो उपाधि केशर शमशेर पनि पाउन सफल भएका थिए। २००७ सालपछि प्रजातन्त्र, कुटनीति, शिक्षा, प्रशासन र सेनाको सुदृढीकरणमा उनले दिएको योगदानबाट खुसी भएर राजाले उनलाई “हिज हाइनेश” को उपाधि दिएका थिए। त्यो उपाधि पाएपछि राजामा दाम चढाएर दर्शन गर्ने बेलामा उनले पत्नी कृष्णचन्द्र देवीलाई पनि लिएर गएका थिए। राजालाई दर्शन गर्ने बेलामा आफ्नी पत्नीको परिचय गराउँदै उनले भनेछन् – “सरकार ! मौसूफको अनुकम्पाले मेरी पत्नी पनि हर हाइनेश हुन पाइन् । सरकारको जय होस्” ।
राजाले उनलाई “होइन तिमीलाई मात्रै त्यो उपाधि दिएको हुँ उनलाई दिएको होइन” भन्ने कुरा भएन।
त्यो बेलादेखि दुबै पतिपत्नीले “हिज र हर हाइनेश” लेख्न थालेका थिए।
कृष्णचन्द्र देवीका पति केशर शमशेर आफ्नो समयका ठूला पुस्तक र ऐतिहासिक सामाग्रीका संकलक थिए। उनको केशर महललाई नेपालको सबैभन्दा ठूलो पुस्तकालय र सङ्ग्रहालय मानिन्थ्यो।
केशर शमशेरको २०२१ साल जेष्ठ १५ गते निधन भएपछि कृष्णचन्द्र ४१ वर्षकै उमेरमा विधवा हुन पुगिन्। उनले आफ्ना पतिको स्मृतिमा आफू बस्ने केशर दरबार र केशर पुस्तकालय श्री ५ को सरकारलाई दान गरिदिएकी थिइन्। त्यतिखेर केशर महलले ३१ रोपनी जमिन चर्चेको थियो भने केशर पुस्तकालयमा २६ हजार पुस्तक रहेका थिए। अहिले त्यही दरबारमा शिक्षा मन्त्रालय रहेको छ।
उपकारी नारी हर हाइनेश कृष्णचन्द्र देवी राणाको निधन ७७ वर्ष पुग्नुभन्दा एक दिन अगाडि २०५७ साल चैत्र २९ गते भएको थियो।
उनले चार सन्तान जन्माएकी थिइन्। उनकी पहिलो छोरी इन्दिरा मल्ल जसको विवाह श्री ५ वीरेन्द्रका पार्श्ववर्ति शान्तकुमार मल्लसंग भएको थियो। त्यसपछि छोरा कयूर शम्शेर जन्मिए। जो श्री ५ वीरेन्द्रका जुँवाइ गोरख शमशेरका पिता हुन्। कृष्णचन्द्र देवीले त्यसपछि छोरी सोमप्रभा शाहलाई जन्माइन्। जसको विवाह श्री ५ ज्ञानेन्द्रका पार्श्ववर्ति प्रकाशविक्रम शाहसंग भएको थियो। उनका सबैभन्दा कान्छा छोरा लोकभक्त राणा हुन् ।
अचम्म यो छ कि नेपाली समाजले यस्ता परोपकारी व्यक्तिलाई सम्झिन पनि अल्छी मान्ने गरेको छ।