१९ मंसिर २०८२, शुक्रबार

गोरुलाई छुट्टी दिने पर्व ‘मैझाडो’


‎आज भन्दा धेरै,धेरै वर्ष अगाडी अर्थात् ६ सय ६७ वर्ष पहिले धल्काँडा स्थित कालिका भगवती मन्दिरमा ७ (राठी) जात जम्मा भए । पुसको महिनामा जम्मा भएका सबै स्थानीयले एक आपसमा सल्लाह गरे । अब हामी एकजुट हौं र बसौं भनेर छलफल सुरुहरु भए ।राठी अर्थात् जात धामी, बोहरा, मज्याडी बोहरा, माझपाले रोकाया, पडीकोटे रोकाया, गदाडी सार्की, दयाल जेठारा जम्मा भए । अब के गर्ने भनेर आपसी सल्लाह भयो ।सातै राठीले भगवतीको गातमा माथि गहुत हालेर हात धुदाँ तल भुईँमा कैलाश र धल्पुरो देवताको शक्तिकरण,सशक्तीकरण दुध बन्यो र धर्म बाँधियो ।त्यसपछि दुई परिवार तल्ला आँले र बेहरीका परिवार हामी यस्तो धर्म नमान्ने अर्थात् हात नधुने भनेर बाहिरिए । तर उनीहरु मैझाडोमा नलाग्ने र त्यो दिनबारमा देवताको सेवाका लागि आउने भनेर नलाग्ने निधाेँ गरे ।

‎त्यसपछि पनि मानाकोट पडीकोटका रोकाया र गदाडी सार्की र बझाङ्गी दयाल जेठारा मैझाडो नमान्ने गरी अलग्गिए तर धर्म मानिरहनेमा उनीहरु लागे । त्यसपछि क्रमशः चार (राठी) जात धामी, बोहरा, मज्याडी बोहरा र रोकाया मात्र मौलिक पर्व मैझाडो मनाउने गरी एक जुट भए ।चारै राठी कैलाश देवतालाई दिनबार माग्ने गरी फेरि देवता कहाँ लगन माग्न गए । कैलाश देवताले दिनबार लगन दिएपछि त्यसपछि खेतबारीमा कार्तिके बाली भित्र्याउने र हिउँदे अन्नबाली छर्न स्थानीयहरु निस्के र अन्नबाली छरेर सकाउँछन् ।

‎गाउँभरिका सबैले अन्नबाली छरेर सकेपछि स्थानीयबीच सल्लाह भयो । मौलिक पर्वको रुपमा किसान दिवस मनाउनुपर्छ भनेर छलफल भयो । छलफलबाट प्रत्येक वर्षको मंसिर ७ गते मौलिक पर्व मैझाडो मनाउने निर्णय भयो ।कैलाश देवताले दिएको लगन अनुसार त्यसपछि चार (राठी) जातका बल्द गोरुहरु एकै ठाउँमा जम्मा गरे । जम्मा गरेपछि गाउँको बुढ्याली अर्थात् देवताका धामीले मंसिर ७ गते कालिका भगवतीको मन्दिरमा गएर गाउँभरिकालाई घण्ट बजाएर एकै पटक एउटै स्वरमा (बल्द) ४ सय गोरुको काँध माथि राखेको (जु) खुन आवाज दिन्छन् ।

‎यति बुढ्यालीले बजाएको घण्ट र बोलाएको स्वरमा सबैले एकसात गोरुको काँध माथिको जुवा नखोलेमा अनिष्ट हुन्छ भन्ने धार्मिक मान्यता बस्यो त्यो इतिहास हालसम्म निरन्तर कायमै रहेको छ । (जु) एकसात खोएका स्थानीयले आफ्नो घरमा विभिन्न मिठामिठा परिकार पकाएर मैझाडो मनाउने र घरपरिवार एकसात बसेर खाएर मैझाडो पर्व मनाउने स्थानमा जान्छन् ।

‎बल्द गोरुको (जु) खोएपछि त्यो रातभर स्थानीयले डेउडा, मागल, फाग, भुवा, चाली लगायत विभिन्न संस्कृतिहरुलाई रातभर स्थानीयले जगेर्ना गर्न थाल्छन् । त्यसरी नै गौमुल गाउँपालिका–३ स्थित धल्काँडामा किसान पर्व मैझाडो मनाउने क्रम हालसम्म चलिआएको स्थानीयहरु बताउँछन् ।
‎उबेला धल्काँडामा मैझाडो, दहकोटमा चौधस, मानाकोटको दसैं, जुगाडामा गौरा, बार्जुकोटको दसैं, ताप्रामा हरिनो र मार्तडीमा अनन्ते हुने चलन थियो । असारमा लगाएको धान, कोदो, मकै लगायत बाली भित्र्याएर गहुँ, जौ लगाएपछि गोरुलाई आराम दिने र किसान स्वयं पनि आराम गर्ने दिनका रूपमा मैझाडो मनाईन्छ ।

‎२०७० साल यता स्थानीय,गाउँलेकै पहलमा यो पर्व ‘किसान दिवस’ का रूपमा भव्यताका साथ निरन्तर मनाइँदै आएका छन् । मैझाडोका दिन धल्काँडामा अवस्थित कालिका भगवती मन्दिरमा मेला लाग्छ । मेलामा बाजुरा मात्र नभई बझाङ, बैतडी, डडेल्धुरा र दार्चुलादेखि मानिसहरू हेर्न आउने गर्छन् ।

‎प्रविधिको विकास, बदलिँदो जीवनशैली र युवामा देश छोड्ने लहडका बीच यस्तो मौलिक पर्वलाई निरन्तरता दिनु चुनौती रहेको स्थानीयहरु भन्छन् । पछिल्लो समय त्यहाँका स्थानीयले मैझाडो पर्वलाई मौलिक पर्वको रुपमा हालसम्म निरन्तर मनाउने गरेका छन् ।

‎इतिहास र वर्तमानमा केही फरक तरिकाले मैझाडो पर्व मान्दै आएका छन् । केही वर्ष यता मैझाडो पर्वमा विभिन्न साँस्कृतिक कार्यक्रम र जनचेतनामूलक गतिविधिका साथ कार्यक्रमलाई व्यवस्थित गर्दै लिएको स्थानीय आफ्ना सामाजिक सांस्कृतिक मूल्यहरूमा आफ्नो पनि पहिचान खोज्नुभन्दा आयातीत संस्कृतिमा रमाउनुमा गर्व गरिरहेका हामीले भावी पुस्तालाई कस्तो संस्कृति र संस्कार दिइरहेका छौँ भन्ने पनि सोच्न भ्याउँदैनौँ ।

‎‎हाम्रा मौलिक पर्वहरू न केवल मनोरञ्जनका साधन हुन् न त आर्थिक हैसियतको प्रतिस्पर्धाका माध्यम नै हुन् । यिनमा त सामाजिक सद्भाव तथा मानव कल्याणको भाव निहित हुन्छ । ‘सर्वै भवन्तु सुखिनः’ भन्ने पूर्वीय दर्शन संस्कृतिभित्रको कल्याणकारी भावको प्रसार अहिलेको आवश्यकता बनेको देखिन्छ ।पूर्वीय दर्शन, संस्कृति, त्यसभित्रका मिथक र बिम्बहरूको अपव्याख्या गर्दै पुँजीवादी अर्थतन्त्र र विश्वव्यापीकरणले स्थापित गर्न खोजेको एकल संस्कृतिको प्रभावबाट हाम्रो संस्कृतिलाई जोगाइराख्नु पनि आजको चुनौती बनयसका लागि हरेक पिँढीले आफ्नो मौलिक परम्परालाई मूल मर्ममा प्रहार नहुने गरी आवश्यकता अनुसार परिमार्जन गर्दै निरन्तरता दिएर नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्ने देखिन्छ भने यसमा नयाँ पुस्ता गम्भीर बन्नुपर्दछ ।


प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार