२४ बैशाख २०८३, बिहीबार

सर्वसम्मत प्रतिनिधी छनौट एकताको प्रमाण हो : एमाले बाजुरा


बाजुरा : नेकपा एमाले बाजुराले सर्वसम्मत प्रतिनिधी छनौटले पार्टी भित्रको बलियो एकताको सन्देश दिएको बताएको छ । १६ जना महाधिवेशन प्रतिनिधी छनौटमा कुनै प्रकारको समूहको गन्ध र विवाद नदेखिनु नै पार्टी भित्रको एकता बलियो रहेको प्रमाणित हुनु भएको अध्यक्ष लालबहादुर ओलीले बताएका छन् ।

प्रेस चौतारी बाजुराले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले बाजुरा अध्यक्ष लालबहादुर ओलीले बाहिर गरिएको हल्ला र भ्रम जस्तो विभाजन र विवाद एमाले भित्र नरहेको दाबी गरेका छन् । जबजको मर्मलाई नै संवोधन हुने गरि लोकतन्त्रको सर्वश्रेष्ठ सर्वसम्मतीको विधीलाई कार्यान्वयन गर्न एमाले बाजुुरा सफल भएको अध्यक्ष ओलीले बताएका छन् ।

नेकपा एमाले बाजुराले पार्टीको ११ औं महाधिवेशनका लागि मंसिर १३ गते ७ जना खुला, ४ जना महिला, ४ जना दलित र एक जना ४० मुनिको युवा गरि १६ जना प्रतिनिधी सर्वसम्मत चयन गरेको छ । पार्टी नीति र नेतृत्वको रक्षा, संकट सामना गर्न आवश्यक आपसी सहकार्य र एकतालाई ध्यानमा राखेर प्रतिनिधीले विवेक प्रयोग गर्ने गरि सहमतिमा प्रतिनिधी छनौट गरिएको हो, अध्यक्ष ओलीले भन्नु भयो ।

महाधिवेशनको चुनावी प्रक्रिया पछि पेश गरिएका उम्मेदवारीलाई आधार मानेर समर्थन र असमर्थनको निर्णय लिने जिम्मेवारी प्रतिनिधीमा रहने बताउँदै ओलीले त्यो भन्दा अघिसम्म सबैले बलियो एमाले र एकतावद्ध एमाले बनाउने जिम्मेवारी प्रतिनिधीको हुने ओलीको भनाई छ ।

प्रेस चौतारी बाजुरा अध्यक्ष लक्ष्मीराज पाध्यायको अध्यक्षतामा सञ्चालन भएको सम्मेलनमा पार्टी सचिव काशी विकले महाधिवेशन प्रतिनिधीको आधिकारीक सूची प्रस्तुत गरेका थिए । बाजुराबाट खुला तर्फ लालबहादुर ओली, जनक कुमार बोहरा, बल्देव रेग्मी, गगन रावल, मनबहादुर विष्ट, भरत थापा, मेघराज शाही छनौट गरेको छ ।

नौ वटै पालिका र सबै कलष्टरलाई संवोधन हुने गरि सर्वस्वीकार्य निर्णय गरेको दाबी गरेको एमाले बाजुराले खुला महिलामा सीता थापा, देवु खाती, पार्वती थापा विष्ट र जनजाती महिला बसन्ती गुरुङ छनौट गरेको छ । भने दलित तर्फ काशी विक, अमर विक, गौरी सार्की र राजकला सार्की छनौट भएका छन् । ४० मुनिको युवाबाट नरेश रोकाया छानिएका हुन् ।

बाजुरा जिल्ला पदाधिकारी रहेका उपसचिव हरिबहादुर रोकाया छुटाइएको बारे पत्रकारले गरेको प्रश्नमा अध्यक्ष ओलीले भूगोल मिलाउनु पर्ने बाध्यतासँगै हरिबहादुर रोकायाले आफू खुसी अरुका लागि व्यवस्थाको बाटो खुला गरिदिएकोले अनावश्यक प्रचार नगर्न सुझाव दिएका छन् ।

पार्टी संकटमा रहेको बेला आपसी विवाद र विभाजनमा कार्यकर्ता नलाग्ने र सबैलाई विश्वासमा लिएर एकतावद्ध एमाले बनाउने संकल्प गर्न ओलीले आग्रह गरेका छन् । बाजुराबाट नयाँ नेतृत्वका लागि पनि युवाहरु तयार हुने र पुरानालाई समेत निरन्तरता दिएर अघि बढ्नु पर्ने बताउँदै ओलीले बाजुराले नेतृत्व पाउने हकमा सबैको सहयोग र साथ रहने बताएका छन् ।

सर्वसम्मत प्रतिनिधी छनौटले बाह्य गरिएको हल्ला र भ्रम चिर्न एमाले बाजुरा सफल भएको छ । भने गुटले गाँजिएको बाजुरा भनेर लागेको आरोप लगाउनेहरुलाई पनि गतिलो झापट निर्णयबाटै दिन सफल भएको छ ।

आफूसँग हारेका भरत थापा पनि प्रतिनिधी बनाएको बारे पत्रकारले अध्यक्ष ओलीलाई प्रश्न गरेका थिए । जवाफमा ओलीले आन्तरिक प्रतिस्पर्धालाई लिएर कोही कसैलाई निषेध र प्रतिसोध लिइराख्नु पर्ने विषय नरहने र पार्टीसबैको सामुहीकताले मात्रै चल्ने भएकोले अनावश्यक शंका र आलोचना गर्नु गलत भएको बताएका छन् ।

नेकपा एमालेले यस अघि १० औं महाधिवेशनका लागि पनि प्रतिनिधी सर्वसम्मत छनौट गरेको थियो । भने नवौ महाधिवेशनमा चुनाव भएको थियो । प्रेस चौतारी बाजुराका सचिव शुशिल रोकायाले कार्यक्रम सञ्चालन गरेका थिए । पत्रकार सम्मेलनमा पार्टी संगठन विभाग प्रमुख अमर बहादुर खड्का, जिल्ला कमिटी सदस्य कृष्ण खड्का, मानबहादुर कार्की, युवासंघ बाजुराका संयोजक बिस्न कार्की लगायत पत्रकारहरु सहभागी थिए ।


प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives