२७ पुष २०८१, शनिबार

विश्व बैंक र आईएमएफको बैठकमा सहभागी नेपाली प्रतिनिधिमण्डल स्वदेश फिर्ता


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डल विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्रा कोर्ष (आइएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी भएर आज आइतबार नेपाल फर्किएको छ । बैठक मोरोक्कोको माराकेशमा आयोजना भएको थियो ।

बैठकमा वर्षभरि कार्यसम्पादनमा देखिएका समस्या तथा हाँसिल भएका प्रगतिको समीक्षा गर्दै आगामी वर्षको रणनीतिका विषयमा प्रतिनिधि मुलुकबीच छलफल भएको थियो । संसारभरिका अर्थमन्त्रीहरु विश्व बैंकको गभर्नरको हैसियतमा सहभागी भएका थिए । यो वार्षिक बैठकहरुको साइडलाइनमा सहभागीवीच सामुहिक तथा द्विपक्षीय हितका विषयमा छलफल तथा अन्तर्राष्ट्रिय समुदायसँगको सञ्जालमा जोडिने अवसर समेत प्राप्त भएको थियो ।

नेपालले साइडलाइनमा आइएफसीका क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलिटी, कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्युंग हो, युरोपियन युनियनका कमिसनर जुट्टा उर्पियालिनेन, आइएमएफका डेपुटी म्यानेजिङ डाइरेक्टर बो ली, विश्वबैंकका क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजर र विश्वबैंक कै विकास वित्त तर्फका उपाध्यक्ष आकिहिको निशिओसँग फरक–फरक दिन र समयमा भेटवार्ता गरेको थियो ।

विद्युतीय पूर्वाधारको महत्व र पूर्वशर्त, मानव पूँजी विकासमा लगानी, सहुलियतपूर्ण ऋणमा साना तथा जोखिममा रहेका राष्ट्रको पहुँच, मौसम परिवर्तनका सम्भाव्य प्रभावित २० देशको समूहको छलफलमा समेत नेपाली प्रतिनिधि मण्डलका सदस्यहरु बाँडिएर सहभागी भएका थिए । नेपाली प्रतिनिधि मण्डलमा अर्थमन्त्रीको नेतृत्वमा अर्थ सचिव र सहसचिव सहितका सदस्य र नेपाल राष्ट्रबैंक तर्फबाट गभर्नर सहितको टोली सहभागी भएको थियो ।

आइएफसीका क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलिटीसँग अर्थमन्त्री सहितको टोलीले गरेको बैठकमा निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने, सम्भाव्य परियोजनाहरूको पाइपलाइन विकास गर्ने, नवप्रवर्तनीय वित्तिय उपकरणहरू साथै इक्विटी एक्सपोजरमा विविधीकरण गर्दै सार्वजनिक निजी साझेदारीमा परियोजना विकासका लागि प्राविधिक सहयोग परिचालन गर्ने, स्थानीय मुद्रामा आधारित बन्ड मार्फत थप पुँजी परिचालन गर्ने र आइएफसीको आगामी कन्ट्री पाटनरसीप फ्रेमवर्कमा यी कुरा समावेश गर्ने विषयमा छलफल भएको थियो ।

आईएमएफका डेपुटी म्यानेजींग डाइरेक्टर बो लीसँगको भेटमा अर्थमन्त्रीले वित्तीय सुशासन, पारदर्शिता तथा नेपाली सन्दर्भ र परिवेश अनुसारको सुधार आवश्यक भएको विषय उठाउनु भएको थियो । ऋण लिंदाका कतिपय पूर्व सर्तहरुमा नेपालको आवश्यकता अनुसारको सुधार पनि हुनुपर्ने र स्थानीय आवश्यकता, क्षमता र सन्दर्भ अनुकूलको सुधार मात्र दीगो र प्रभावकारी हुनसक्ने विचार राख्नु भएको थियो।

त्यसैगरी अर्थमन्त्री महतले यूरोपियन युनियनका कमिस्नर जुट्टा उर्पियालिनेनसँगको द्विपक्षीय छलफलमा नेपालको हवाइ क्षेत्रलाई इयूको सुरक्षा चासोको सूचिबाट हटाई नेपाली ध्वजावाहकलाई यूरोपको आकाशमा उडान भर्न अनुमति दिनुपर्ने कुरा सशक्त रुपमा राख्नुभयो र यस विषयमा प्राविधिक तहमा छलफल अगाडि बढाउने सहमति भयो ।

कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङ हो सँगको भेटमा अर्थमन्त्री डा महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरूले नाफा कमाइरहेकोले कोरियन कम्पनीहरूलाई पनि लगानी गरी लाभान्वित हुन आग्रह गर्नुभयो । चालू आ व को बजेटमा राखिएको निजी क्षेत्रको लगानीलाई थप सहजीकरण गर्ने नीतिले निरन्तरता पाउने, भारतले वार्षिक १० हजार मेगावाट विजुली खरिद गर्ने निर्णय गरिसकेकोले जलविद्युत, प्रशासरण लाइन, आइ टि, कृषि, पर्यटन लगायतका क्षेत्रमा नेपालमा राम्रो आम्दानी गर्न सक्ने अवसर रहेको, नेपाली कामदारले कोरियाको अर्थतन्त्रमा योगदान गरिरहेको र कोरियन कम्पनिले नेपालमै लगानी गर्न सके झन बढी लाभान्वित हुन सक्ने लगायतका विचार प्रस्तुत गर्नुभएको थियो।

त्यसैगरी कोरियन पक्षलाई पूर्वाधार विकासमा सहुलियतपूर्ण कर्जा, अनुदान, तथा क्षमता विकासमा सहयोग गर्न समेत अनुरोध गर्नुभयो। कोरियन पक्षले दोहोरो कर मुक्ति सम्वन्धी सम्झौता गर्न र कोरियाले सन २०३० मा आयोजना गर्न लागेको बुसान वर्ल्ड एक्सपो मा सहयोग एवम समर्थन गर्न नेपाललाई अनुरोध समेत गरेको थियो । उच्चस्तरीय भ्रमण आदान प्रदानको प्रस्तावमा सहमति जनाउदै कोरियाको श्रम कानून राम्रो रहेको र यसमा अझ सुधार गर्न तथा नेपाली वायुसेवालाई पनि कोरियामा सिधा उडान गर्न दिन अर्थमन्त्री डा. महतले कोरियन पक्षलाई अनुरोध गर्नुभयो ।

विश्व बैक र आइएमएफमा नेपाल सहित ११ देशको भोटिंग ग्रुपका कार्यकारी निर्देशक विम्पी सपुत्रा र याती कुर्निआतीले गर्नु भएको प्रस्तुतिमा प्रतिकृया दिंदै अर्थमन्त्री डा महतले नेपाल जलवायु परिवर्तनको गैरअनुपातिक असरबाट प्रभावित रहेकोले ऋण सहायता अझ बढी सहुलियतपूर्ण बनाउनुपर्ने र क्षमता विकासका कार्यक्रममा लगानी गर्नुपर्ने कुरा उल्लेख गर्नुभयो । विश्व बैंकले तयार गरेको ‘प्लेबुक’ मा सहुलियत दर बढाउँदै जाने कुराको प्रतिबद्धता ठोस रुपमा प्रतिविम्बित हुनुपर्ने कुरामा अर्थमन्त्रीले जोड दिनुभयो ।

त्यसैगरी अन्तर्राष्ट्रिय मुद्रा कोषको वित्तीय सुविधाहरु परम्परागत कोटाको आधारमा वितरण गर्ने अभ्यासका कारण कम प्रतिनिधित्व भएका मुलुकको आवश्यकता प्रतिविम्वित हुन नसकेकोले कोटा पुनरावोलकन प्रकृयामा पुनर्विचार हुनुपर्ने प्रस्ताव पनि राख्नुभयो ।

विश्वबैंकका क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजर र विकास वित्त तर्फका आकिहिको निसिओ सँगको छुट्टै छलफलमा माथिल्लो अरुण जलविद्युत आयोजनामा रु १ खर्व ३० अर्वसम्म सहुलियतपूर्ण ऋण उपलव्ध गराउने प्रतिवद्धता जाहेर भयो भने आइडिएको २१ औं रिप्लेनिस्मेन्ट बैठक नेपालमा आयोजना गर्न अर्थमन्त्रीले राख्नुभएको प्रस्तावमा विश्ववैंक सकारात्मक रहेको थियो ।


प्रकाशित मिति: २८ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार