२२ असार २०८३, सोमबार

गौमुल–३ मा सार्वजनिक सुनुवाइ सम्पन्न, सेवा प्रवाह थप प्रभावकारी बनाउने प्रतिबद्धता


सुशिल राेकाया/बाजुरा: गौमुल गाउँपालिका वडा नं. ३ ले चालु आर्थिक वर्ष २०८२/८३ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गर्दै स्थानीय सरकारका कामकारबाहीलाई थप पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउने प्रतिबद्धता जनाएको छ।

आइतबार वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा वडा कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका विकास निर्माणका योजना, बजेट कार्यान्वयन, प्रशासनिक सेवा प्रवाह तथा भौतिक एवं वित्तीय प्रगतिको विवरण सार्वजनिक गरेको थियो। वडा सचिव मनिषा रोकायाले प्रतिवेदन प्रस्तुत गर्दै वडाले सम्पन्न गरेका कार्यक्रम, खर्चको अवस्था र सेवा प्रवाहबारे जानकारी दिनुभएको थियो।

सार्वजनिक सुनुवाइमा सहभागी स्थानीयवासीले विकास निर्माणका योजनाको गुणस्तर, खानेपानी व्यवस्थापन, शैक्षिक सुधार, स्वास्थ्य सेवाको प्रभावकारिता, सामाजिक सुरक्षा भत्ता वितरण तथा सेवा प्रवाहसँग सम्बन्धित विषयमा प्रश्न उठाउँदै रचनात्मक सुझाव दिएका थिए। उनीहरूले योजनाहरू समयमै सम्पन्न गर्न, अनुगमनलाई प्रभावकारी बनाउन तथा विकास निर्माणमा गुणस्तर सुनिश्चित गर्न वडा कार्यालयको ध्यानाकर्षण गराएका थिए।

उठाइएका जिज्ञासा र गुनासाबारे स्पष्ट पार्दै वडा अध्यक्ष गोरख बहादुर बोहराले नागरिकबाट प्राप्त सुझाव र प्रतिक्रियालाई आगामी योजना तथा निर्णय प्रक्रियामा समेटिने बताउनुभयो। उहाँले अधुरा विकास आयोजना शीघ्र सम्पन्न गरिने, सेवा प्रवाहलाई अझ छिटो, सहज र पारदर्शी बनाइने तथा विकास निर्माणका सबै काममा जनसहभागितालाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“सार्वजनिक सुनुवाइ औपचारिक कार्यक्रम मात्र होइन, जनताको आवाज सुन्ने र त्यसलाई कार्यान्वयनमा लैजाने प्रभावकारी माध्यम हो,” अध्यक्ष बोहराले भन्नुभयो, “नागरिकले दिएका सुझावलाई आत्मसात गर्दै वडा कार्यालयलाई अझ उत्तरदायी र परिणाममुखी बनाइनेछ।”

कार्यक्रममा सहभागीहरूले नियमित सार्वजनिक सुनुवाइले स्थानीय तहमा सुशासन प्रवर्द्धन, पारदर्शिता अभिवृद्धि, जनप्रतिनिधिको उत्तरदायित्व सुदृढीकरण तथा नागरिक र स्थानीय सरकारबीचको विश्वासलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।

वडा अध्यक्ष गोरख बहादुर बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य, स्थानीय समाजसेवी, बुद्धिजीवी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षाकर्मी, आम नागरिक तथा अन्य सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो।


प्रकाशित मिति: २२ असार २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives