२४ बैशाख २०८३, बिहीबार

संसार देख्न पाएपछि…


गोरखाको बारपाक सुलीकोट गाउँपालिका–१ र २ मा पर्ने बारपाकका ७० जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । यही पुस ११ गतेदेखि १३ गतेसम्म चलेको सो शिविरमा आँखा जाँच गराएकामध्ये शल्यक्रिया गर्नुपर्ने सबैको निःशुल्क शल्यक्रिया सम्पन्न गरिएको गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कृष्ण भट्टले जानकारी दिनुभयो । शिविरमा चार सय ५० जनाले आँखाको निःशुल्क उपचार सेवा लिएको उहाँको भनाइ छ ।

शिविरमा ९७ वर्षकी वृद्धाकोसमेत मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको जनस्वास्थ्य निरीक्षक भट्टले बताउनुभयो । त्यस्तै दुवै आँखाको दृष्टि गुमाउनुभएकी ७७ वर्षीय थरमाया विकको दुवै आँखाको मोतियाविन्दुको शल्यक्रिया सफल भएको उहाँले जानकारी दिनुभयो । झण्डै चार वर्षदेखि दृष्टि दुवै आँखाको दृष्टि गुमाउनुभएकी विक शल्यक्रिया सफल भएपछि दृष्टि फिर्ता भएकामा खुसीले गद्गद् हुनुभएको थियो । “आँखाको पट्टी खोलेपछि वृद्धा विक खुसीले नाच्नु नै भयो”, उहाँले भन्नुभयो, “लामो समयपछि फेरि संसार देख्न पाएकामा उहाँमा खुसीको सीमा नै थिएन ।” नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका मेडिकल डाइरेक्टर एवं नेत्ररोग विशेषज्ञ डा कमलबहादुर खड्काको नेतृत्वको टोलीले आँखा परीक्षण तथा शल्यक्रिया गरेको उहाले बताउनुभयो ।

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोग तथा बारपाकस्थित बौद्ध बहुद्देश्यीय सहकारी संस्था, मुटु फाउण्डेसन काठमाडौँ र मनोज एशोसिएसन फ्रान्सले सहयोग शिविर सम्पन्न भएको हो । शिविरमा उपचार गराएकालाई आवश्यकताका आधारमा चस्मा र औषधिलगायत निःशुल्क वितरण उहाँले जानकारी दिनुभयो । गाउँपालिकाको समन्वयमा पालिकाभित्रका वडा नं ३ देखि ८ सम्मका वडामा भने यसअघि नै निःशुल्क आँखा शिविर सम्पन्न भइसकेको जनाइएको छ ।


प्रकाशित मिति: १५ पुष २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives