बाजुरा: बाजुराको सदरमुकाम मार्तडी बजार अनुगमन गरिएको छ । आइतबार कोष तथा लेखा नियन्त्रक कार्यालय बाजुराको आयोजनामा मार्तडीमा रहेका पसलहरुको अनुगमन गरिएको हो । दैनिक उपभोग्य साम्रगी राखिएका खाद्य तथा तरकारी, कपडा, इलेक्ट्रोनिक, सुनचाँदी लगायतका सम्पूर्ण पसलहरु मापदण्ड अनुसार सञ्चालन भए नभएको, दर्ता भए नभएको, सम्म कर तिरेको वा नतिरेको लगायत दैनिक उपभोग्य वस्तुहरुको म्याद नाघेका सामान राखे नराखेको कुराहरु मापदण्ड बनाएर बजार अनुगमन गरिएको जनाएको छ । उपभोक्तालाई स्वच्छ, गुणस्तरीय तथा सुरक्षित उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले गरिएको अनुगमनमा विभिन्न किराना पसल, होटल, औषधि पसल तथा दैनिक उपभोग्य सामग्री बिक्री हुने व्यवसायहरूमा निरीक्षण गरिएको छ ।
बजार अनुमगनमा कोलेनिका बाजुराका निमित्त कोष नियन्त्रक धनबहादुर थापा, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनी, प्रहरी निरीक्षक गगनसिंह भाट, घरेलू तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि लगायत सहभागी थिए ।
यस्तै विभिन्न मापदण्डका आधारमा अनुगमन गरिएको र अनुमगनका क्रममा अधिकांश पसल प्रक्रिया नपुगाएका व्यवसायीहरुलाई मापदण्ड पुर्याउन आग्रह सहित सचेत गराइएको निमित्त कोष नियन्त्रक धनबहादुर थापाले बताए । त्यसमा दर्ता नभएका तथा स्थायी लेखा नम्बर नलिएका पसलहरु धेरै भेटिएको भन्दै ७ दिनभित्र स्थायी लेखा नम्बर लिन पत्र दिइएको उनले बताए । अनुगमनका क्रममा पसलहरूमा राखिएका खाद्य तथा पेय पदार्थको म्याद, मूल्यसूची, सरसफाइको अवस्था, बिल–बिजक तथा व्यवसाय दर्तासम्बन्धी कागजात जाँच गरिएको कोलेनिकाले जनाएको छ ।
अनुगमन टोलीले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने खाद्य सामग्रीमा विशेष ध्यान दिन व्यवसायीहरूलाई आग्रह गरेको छ। साथै मूल्यसूची अनिवार्य रूपमा राख्न, गुणस्तरहीन तथा म्याद नाघेका वस्तु बिक्री नगर्न र उपभोक्तामैत्री सेवा दिन निर्देशन दिइएको छ । कोलेनिकाले बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन नियमित रूपमा अनुगमनलाई निरन्तरता दिइने जानकारी दिएको छ । बजारमा हुने कालोबजारी, कृत्रिम अभाव तथा अस्वस्थ प्रतिस्पर्धा नियन्त्रणका लागि सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको समेत जनाएको छ । अनुगमनले व्यवसायीहरूलाई जिम्मेवार बनाउने र उपभोक्ताले सुरक्षित वस्तु उपभोग गर्न पाउने विश्वास सहित विभिन्न समयमा मार्तडी बजार अनुगमन गरिदैँ आएको छ ।
प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार