सुशिल राेकाया– गौमुल गाउँपालिका वडा नम्बर ३ मा निःशुल्क दुई दिने एकीकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा कार्यालयको समन्वय, पालिका स्वास्थ्य शाखाको आयोजना तथा आधारभूत स्वास्थ्य केन्द्र माझपालीको सहजीकरणमा शिविर सञ्चालन गरिएको हो । “स्वास्थ्य जाँच गरौँ, स्वस्थ रहौँ” भन्ने मूल नारासहित सञ्चालन गरिएको शिविरमा स्थानीय नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो । आर्थिक समस्या तथा भौगोलिक कठिनाइका कारण उपचारबाट वञ्चित नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको वडा अध्यक्ष गोरख बहादुर बोहरा ले जानकारी दिएका छन ।
दुई दिनसम्म सञ्चालन भएको शिविरमा अल्ट्रासाउन्ड, ल्याब परीक्षण, आँखा जाँच लगायतका बिभिन्न सेवा प्रदान गरिएको थियो । शिविरमा क्षयरोग परीक्षण सेवा २४ जनाले लिएका थिए भने आँखा जाँच सेवा १८२ जनाले लिएका छन् । त्यस्तै, साधारण तथा गर्भवती अल्ट्रासाउन्ड सेवा १८ जनाले लिएका थिए । ओपीडी सेवातर्फ १४८ महिला र ९३ पुरुष गरी जम्मा २४१ जनाले सेवा लिएको आयोजकले जनाएको छ । शिविरमा सर्वसाधारणलाई स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक औषधि वितरण समेत गरिएको थियो ।
साथै, बालबालिकाको नियमित खोप सुनिश्चितता, खोप अभियानको प्रभावकारिता तथा दिगोपनाबारे जानकारी गराउँदै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको वडा अध्यक्ष बोहराले बताए। शिविरमा घटमुना आधारभूत अस्पतालमा कार्यरत डाक्टर कमल हमाल, जिल्ला अस्पताल बाजुराका डाक्टर हिमाल कार्की लगायतका स्वास्थ्यकर्मीहरूले सेवा प्रदान गरेका थिए । वडा अध्यक्ष गोरख बहादुर बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी सेवाग्राही नागरिक र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार