८ पुष २०८१, सोमबार

फेवा नववर्ष महोत्सवमा काठमाडौँवासीलाई निम्तो


२५ चैत ,गण्डकी । होटल सङ्घ पोखरा नेपालको आयोजनामा यही चैत २९ गतेदेखि वैशाख १ गतेसम्म पोखराको लेकसाइडमा हुने १८औँ संस्करणको फेवा नववर्ष महोत्सवमा काठमाडौँवासीलाई निम्तो दिइएको छ ।

नेपाली संस्कृतिको संरक्षण गर्दै नयाँ वर्षलाई धुमधामका साथ मनाउन लेकसाइडको फिस्टेल गेटबाट हल्लनचोकसम्म आयोजना हुने महोत्सवमा भाग लिन काठमाडौँवासीलाई आग्रह गरिएको हो ।

पर्यटन, संस्कृति र खानालाई जोड दिँदै आयोजना गर्न लागिएको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिएका छन्‌ । महोत्सवका अवसरमा सङ्घअन्तर्गतका होटलले २० प्रतिशत छुटको समेत व्यवस्था गरिएको बताउँदै उनले यसले कोभिड–१९ पछि सुस्ताएको पर्यटनलाई पुनरुत्थान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पोखरामा हाल होटलको क्षमताको ८० देखि ९० प्रतिशतसम्म पर्यटक हुनुपर्नेमा मुस्किलले ३० प्रतिशत रहेको उनले जानकारी दिए । पृथ्वी राजमार्गको सुस्त र अव्यवस्थित स्तरोन्नति एवं माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाले यहाँको पर्यटन व्यवसाय प्रत्यक्ष प्रभावित बनेको उनको भनाइ छ ।

सन् २०२० मा भ्रमण वर्ष मनाउने नाममा सरकारले व्यवसायीलाई होटल क्षेत्रमा लगानी थप्न उक्साउँदा अहिले व्यवसायी समस्यामा परेको गुनासो गर्दै अध्यक्ष सुवेदीले भने, “बैंकले पनि ऋण लिन जोडबल गर्दा र सात प्रतिशतको ब्याज अहिले मनोमानीरूपमा १६ प्रतिशत पुर्याउँदा होटल क्षेत्र मारमा परेको छ ।”

होटल सङ्घ नेपालका द्वितीय उपाध्यक्ष प्रवीणबहादुर पाण्डेले पोखरालाई साहसिक पर्यटनको राजधानीका रूपमा विकास गरिनुपर्ने बताए । पर्यटन व्यवसायले विदेशी मुद्रा भित्र्याउन मद्दत गर्ने स्मरण गराउँदै उनले यस क्षेत्रलाई उद्योग सरहको मान्यता सरकारले दिनुपर्ने माग गरे ।

सङ्घका केन्द्रीय सदस्य एवं होटल सङ्घ पोखरा नेपालका पूर्वअध्यक्ष भरतराज पराजुली, सङ्घका महासचिव एवं प्रचार संयोजक राजेन्द्र ढकाललगायतले महोत्सवले पोखराको पर्यटनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

बाह्रसिङ्गे वियर प्रायोजक र अन्नपूर्ण केवलकार प्रालि सहप्रायोजक रहेको महोत्सवको नेपाल पर्यटन बोर्डले प्रवद्र्धन एवं पोखरा महानगरपालिका सहयोगी रहेको छ ।


प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?