बाजुरा– बुढिगंगा नगरपालिकाको बार्षिक प्रगति समिक्षा तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाले आर्थिक बर्ष ०८०/०८१ को बजेट र पालिकाले गरेका गतिबिधी प्रगती बारे समिक्षा गरेको हो । नगरपालिकामा जम्मा १ सय ३३ वटा आयोजना मध्ये २ लाख भन्दा कमका आयोजना ५२ वटा, २ देखि ५ लाख सम्मका ६३ वटा आयोजना, ५ देखि १० लाख सम्मका १३ वटा आयोजना र १० देखि ५० लाख सम्मका ५ वटा आयोजना रहेको नगरपालिकाले जनाएको छ ।
कुल ६२ करोड १२ लाख ४८ हजार बजेटमा खर्च ५५ करोड ५१ लाख ३१ हजार जुन कुल बजेटको ८९.३५ प्रतिशत खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्य्र नाथले बताए । जसमा कुल चालु बजेट रु ३९.५ करोडमा खर्च ३६.२५ करोड (९१ प्रतिशत) र कुल पुजिगतमा २२.६१ करोडमा खर्च १९.२५ करोड (९० प्रतिशत भएको प्रमुख प्रशासकिय अधिकृत नाथले बताए ।
नगरपालिकाले आर्थिक बर्ष ०८०/०८१ मा शिक्षा तथा युवा खेलकुदमा बढि जोड दिएको र प्रगती सन्तोसजनक बन्दै गएको जनाएको छ । शिक्षा, युवा तथा खेलकूदका क्षेत्रमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विद्यालय कक्षा/तह समायोजन गरिएको छ । ७ वटा विद्यालयको तह घटुवा गरी शिक्षक दरबन्दी र विषय मिलान गरिएको छ भने कक्षा समायोजन तथा मर्ज गरिएका विद्यालयहरूलाई प्रोत्साहन अनुदान प्रदान गरिएको छ । सबै सामुदायिक विद्यालयमा कक्षा ३, ५, ८ र १० मा अंग्रेजी, गणित, विज्ञान विषयहरूको उपचारात्मक कक्षा सञ्चालन गरिएकोमा प्रगती बढ्दै गएको नगरपालिका प्रमुख राम बहादुर बानियाले बताएका छन ।
त्यसै गरि राष्ट्रिय खेलकुद परिषद् को प्रशिक्षणमा १५ दिने खेल प्रशिक्षण सञ्चालन गरी एक विद्यालय एक खेलकूद शिक्षक उत्पादन उत्पादन गरिएको छ भने नगरप्रमुख वृहत् भलिबल प्रतियोगिता आयोजना सम्पन्न गरिएको छ । नगर स्तरीय रनिङ शिल्ड प्रतियोगिता आयोजना गरी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिएर बुढीगंगा नगरपालिकाले कुल १३ वटा पदकहरू जित्न सफल भएको छ । स्थानीय स्काउट गठन गरिएको नगर प्रमुख बानियाले बताए ।
नगरपालिका र संघ संस्थाहरूको पहलमा यस नगरपालिकाका ५६८ जना बालबालिकालाई शैक्षिक सामाग्री तथा विद्यालय पोशाक र ७७ जना बालबालिकालाई नगद सहयोग गरी विद्यालय निरन्तरतामा सहयोग गरिएको छ । १९ वटा आ.वि.मा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार गरिएको छ । विद्यालय स्तरका विद्यार्थीहरूलाई मार्सल आर्ट्स, बक्सिङ र भलिबल खेल प्रशिक्षणका लागि ४ जना खेल प्रशिक्षकहरू नियुक्त गरी परिचालन गरिएको छ । ५०० जना युवाहरूलाई लागु औषध नियन्त्रणका अभियानहरूमा परिचालन गरिएको छ भने २० जना युवाहरूलाई सीपमुलक स्वरोजगार तालिम दिइएको छ । यस आ.व. मा ७८६ जना अभिभावकहरूलाई अभिभावक शिक्षा प्रदान गरिएको नगर उप प्रमुख माया कुवर खड्काले बताएकी छन । प्रारम्भिक बालविकास सहजकर्तालाई ३ दिने र आधारभूत तहका शिक्षकहरूलाई ५ दिने क्रियाकलापमा आधारित क्षमता विकास तालिम दिइएको छ भने सबै सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरूलाई क्ष्ऋत् सम्बन्धी तालिम प्रदान गरिएको उप प्रमुख खड्काले बताईन ।
विद्यालय तथा नगरस्तरीय परीक्षा व्यवस्थापन गरिएको छ भने विद्यालयको शैक्षिक तथ्याङ्क अद्यावधिक गरिएको छ । ८४ जना शिक्षकको कार्य सम्पादन मूल्याङ्कन गरिएको छ । शैक्षिक क्यालेण्डर, शिक्षक डायरी, विद्यार्थी गृहकार्य डायरी, निरन्तर मूल्याङ्कन अभिलेख पुस्तिका प्रकाशन गरी विद्यालयहरूलाई हस्तान्तरण गरिएको छ । कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम र स्थानीय पाठ्यक्रम स्रोत सामाग्री निर्माण तथा छपाइ गरिएको छ भने विद्यालय दिवा खाजा कार्यक्रमलाई व्यवस्थित गरिएको छ । प्रारम्भिक बाल कक्षामा पाठ्यक्रममा आधारित पाठ्यपुस्तकको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
त्यसै गरि आधारभूत स्वास्थ्य तथा सरसफाइका क्षेत्रमा बाजुरा स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टरको व्यवस्थापन गरिएको जनाएको छ । जटिल रोगहरू निदानको लागि बिरामीहरूलाई स्वास्थ्य उपचारमा सहयोग र आर्थिक रूपमा विपन्न बिरामीहरूलाई आर्थिक सहयोग गरिएको छ । देवलसैन स्वास्थ्य चौकीमा भिडियो एक्स-रे सेवा सुचारू गरिएको छ भने धुरालसैनमा बर्थिङ सेन्टर सुचारू गरिएको छ । पालिकाका ५ वटा ठाँउबाट टेलिमेडिसिन सेवा संचालन गरिएको प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र नाथले बताएका छन ।
स्वास्थ्य सेवाका ५ जना नयाँ कर्मचारीहरू भर्ना गरिएको छ भने स्वास्थ्य बिमालाई अनिवार्य गर्नका लागि प्रत्येक वडाहरूमा बिमा स्वयमसेवकहरू परिचालन गरिएको छ । विभिन्न उपचार शिविरहरू सञ्चालन गरिएको छ, जसमा आँखा उपचार शिविरबाट ५०० जनाले तथा हाडजोर्नी उपचार सम्बन्धी शिविरबाट ३०० जनाले सेवा प्राप्त गरेका छन् । टेलिमेडिसिन सेवालाई ५ वटा स्वास्थ्य संस्थाहरूमा विस्तार गरिएको छ । यस आ.व.मा ५६८ बालबालिकाको सामान्य र २ जना बालबालिकाको जटिल उपचार गरिएको छ ।
लागु औषध नियन्त्रण सम्बन्धी सचेतना अभियान, मनोपरामर्श, सामाजिक सचेतना र सुशासनका लागि अभिमुखीकरण र घरदैलो अभियान सञ्चालन गरिएको छ । तीनवटा स्वास्थ्य चौकी र दुईवटा प्रहरी चौकीमा मनोसामाजिक परामर्श तथा लागु औषध नियन्त्रण डेस्क स्थापनामा सहयोग गरिएको छ भने ३० वटा शैक्षिक संस्था, १० वटा वडा कार्यालय र १० वटा स्वास्थ्य संस्थाहरूमा डस्टबिनहरू सहयोग गरिएको छ । लागु औषध नियन्त्रण सम्बन्धी सामाजिक सचेतना, मनोपरामर्श सम्बन्धी सामाजिक अभियान र विद्यालय शिक्षा प्रदान गरिएको छ ।
त्यस्तै कृषि, सहकारी र पशुपालनका क्षेत्रमा नगरपालिकाले २ हजार ५ सय जना कृषकलाई मल, ५ सय जनालाई मौसमी बिउँबिजन, १ हजार ५ सय जनालाई हाइब्रिड बिउँ, ६ सय ४२ जनालाई आलु तथा गहुँको बिउँ, ६ जना किसानलाई साना सिँचाइका सामाग्रीहरू अनुदान स्वरूप प्रदान गरिएको जनाएको छ । १८ जना उत्कृष्ट कृषकलाई पुरस्कार प्रदान गरिएको छ । कृषि उत्पादनलाई विद्यालय दिवा खाजा कार्यक्रमका प्रत्यक्ष जोडिएको छ । करिव १५ हजार कागति,एभोगार्डो लगायतका विरुवा वितरण गरिएको जनाएको छ ।
एक वडा दुई प्राविधिक कार्यक्रम लागु गरी प्रत्येक वडामा २ जना कृषि र पशु प्राविधिक परिचालन गरिएको र विभिन्न ४ ठाउँमा कृषि पाठशाला सञ्चालन गरी १ सय कृषकहरूलाई आधुनिक कृषि प्रणालीमा जोडिएको छ भने ९ सय ५० जना कृषकहरूलाई सूचीकरण गरिएको नगरपालिकाले जनाएको छ ।
सिँचाइ, विद्युत तथा खानेपानी तर्फ साझेदार संस्थाहरूको साझेदारीमा सिँगाडा र बानेगाउँमा लिफ्ट सिँचाइ सञ्चालन गरिएको छ भने सराप्लामा लिफ्टिङ खानेपानीको व्यवस्थापन गरिएको छ । विभिन्न ६ ठाउँमा साना सिँचाइ प्रवर्द्धन गरिएको छ भने सिँगाडा र नुवाघरमा सिँचाइ कुलो निर्माण गरिएको छ । खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयको सहयोगमा बुढीगंगा-५, नुवाघरमा १ घर १ धारा कार्यक्रम सुचारु गरिएको नगरपालिकाले जनाएको छ ।
महिला, बालबालिका तथा सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान, अन्तराष्ट्रिय महिला दिवस जस्ता कार्यक्रमहरू सञ्चालन गरिएको छ । ज्येष्ठ नागरिकहरूको आरोग्यताका लागि ३६ जना ज्येष्ठ नागरिकहरूलाई वैद्यनाथ धाम तीर्थयात्रा, १० वटा वडाहरूमा सामुदायिक मनोसामाजिक विमर्शकर्ता खटाई लैंगिक हिंसा रोकथाम सम्बन्धी ८ हजार ५ सय ७६ जनालाई अभिमुखीकरण गरिएको नगरपाकिाले जनाएको छ । २ सय ३६ वटा लैङ्गिक हिंसा प्रभावितहरूको पहिचान गरी ४२ जनालाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्र मार्फत सेवा प्रदान गरिएको र बुढीगंगा नगरपालिकाका १० जना हिंसा पिडित महिलाहरुलाई प्रति महिला २० हजार बरावरका बाख्रा वितरण गरिएको जनाएको छ । उपप्रमुख महिला लक्षित कार्यक्रम अन्तर्गत २० जना हिंसा पीडित महिलाहरूलाई आयआर्जनका लागि उन्नत जातका बाख्रा वितरण गरिएको छ ।
रोजगारी प्रवर्द्धन, वातावरण तथा विपद् व्यवस्थापन कार्यक्रम अन्तरगत प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत १ सय २ जना बेरोजगारहरूलाई १०० दिनको न्यूनतम रोजगारी सुनिश्चित गरी राज्यले तोकेको न्युनतम ज्याला प्रदान गरिएको छ । २० वटा श्रममा आधारित आयोजनाहरूको निर्माण सम्पन्न भएका छन् । भुकम्पबाट क्षतिग्रस्त घरधूरीका लागि ४ सय १ वटा अस्थायी टहरा निर्माण गरी हस्तान्तरण गरिएको छ भने मनसुनजन्य विपदबाट प्रभावित १९ घरपरिवारको बासस्थान निर्माण कार्य जारी रहेको जनाएको छ ।
प्रकाशित मिति: २ श्रावण २०८१, बुधबार