बाजुरा– बाजुराको मार्तडी–कोल्टी सडक खण्ड स्तरोन्नतिमा ढिलाइ हुँदै गइरहेको छ । पटकपटक उक्त सडकको स्तरोन्नतिमा तीव्रता ल्याउने भन्दै जिल्लाका सरोकारवालासँगै जनप्रतिनिधिबाट अनुगमन गरिँदै आए पनि काम हुन सकेको छैन ।
सडक निर्माणको जिम्मा लिएका दुईवटा ठेकेदार कम्पनीको लापरबाहीका कारण सो सडक निर्माणमा ढिलाइ भएको सरोकारवाला बताउँछन् । तोकिएको समयमा ठेकेदार कम्पनीले काम नगर्दा सडक निर्माण कार्यमा ढिलाइ भएको स्थानीय प्रेम रोकायाले बताए । रोकायाले भने, ‘अहिले यहाँका स्थानीयलाई बर्खाको समय पानी पर्दा तथा हिउँदको समय हिमपात हुँदा आउजाउ गर्न निकै सास्ती खेप्दै आउनु परेको छ ।’
बर्खाको समय अविरल वर्षात्का कारण बाटो बन्द हुँदा सामान ढुवानी गर्न समस्या भएकाले तोकिएको समयमा सडक निर्माण गर्न नसकेको ठेकेदार कम्पनीको भनाइ छ । मार्तडी–कोल्टी सडक निर्माणका लागि २०७८ असारमै काम सम्पन्न गर्ने गरी २०७६ असारमा धुलिखेल–ग्वाल्भा–श्याम एन्ड शंकर प्रालि काठमाडौं र बानियाँ कोटेश्वर जेबी प्रालि हेटौंडाले सडक निर्माण कार्यको जिम्मा लिएका थिए ।
मार्तडी–कोल्टी सडक कालोपत्रेका लागि एक अर्ब ५७ करोड ७५ लाख रकम विनियोजन गरिएको थियो । मार्तडी बसपार्कदेखि चुथीको झन्डै नौ किलोमिटर सडक कालोपत्रे गर्न २३ करोडमा धुलिखेल–ग्वाल्भा–श्याम एन्ड शंकर प्रालि काठमाडौं र चुथीदेखि डम्कने झन्डै ६ किलोमिटर र ढम्केनेदेखि कोल्टीसम्मको २६ किलोमिटर गरी ३२ किलोमिटर सडक बानियाँ–कोटेश्वर जेबी प्रालि हेटौंडाले ६२ करोडमा जिम्मा लिएका छन् ।
मार्तडीदेखि कोल्टीसम्मको ४२ किलोमिटर सडक कालोपत्रे गर्नका लागि ८५ करोडमा ठेक्का लिने ती दुई कम्पनीले २३ करोडभन्दा बढी पहिलो किस्ता भुक्तानी लिएको भौतिक पूर्वाधार विकास कार्यालय अछामका प्रमुख रुद्रबहादुर बोगटीले बताए । मार्तडी–कोल्टी सडक निर्माणमा ढिलाइ भएपछि अहिले ठेकेदार कम्पनीलाई चाँडोभन्दा चाँडो सडक निर्माणका लागि पत्राचार गरेको जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए ।
मार्तडी–कोल्टी सडक खण्डअन्तर्गत नागरिकको सेवाका लागि भन्दै दिवा तथा रात्री बस सञ्चालनका लागि अनुगमन हुने भए पनि निर्माण कम्पनीको ढिलासुस्ती हुँदा बस सञ्चालनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडलले बताए । हरेक दिन जिल्लाका भीआईपीले सो सडक अनुगमन गर्ने गरेका भए पनि निर्माण कम्पनीले भने वास्ता नगरेको पाइएको स्थानीय बताउँछन् ।
अनुगमनमा जिल्ला समन्वय प्रमुख तुलसीराम रोकाया, प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललगायत स्थानीय तहका जनप्रतिनिधिको निरन्तर अनुगमन भइरहेको भए पनि सडक निर्माण कम्पनीले ढिलाइ गर्दै आएको छ । यातायात व्यवस्था समितिको बैठकको निर्णयअनुसार उक्त सडक खण्डको स्तरोन्नति गरी बस सेवा सञ्चालनका लागि अस्थायी अनुमति प्रदान गर्ने निर्णय भएको भए पनि सडकको स्तरोन्नति नहुँदा बस सञ्चालन गर्न नसकिने यातायात व्यवसायी बताउछन् ।
बाजुराको उत्तरी क्षेत्रका नागरिकको आवतजावतमा हुने कठिनाइलाई मध्यनजर गर्दै कोल्टी–मार्तडी सडक खण्डमा १० दिनभित्र सडकको स्तरोन्नति गरी सेवा सञ्चालन गर्ने निर्णय भएको भए पनि बस सञ्चालन गर्न सडक नै बाधक भएको बस व्यवसायी बताउँछन् । सडक निर्माणसँग सम्बद्ध निकायले ठेक्का सम्झौताको उल्लेखित समयभित्र सडक निर्माणको काम गर्न नसकेका कारण बाजुराबासीले समस्या झेल्दै आएका छन् ।
जिल्ला सदरमुकाम मार्तडीबाट पूर्वीउत्तरी क्षेत्रका विभिन्न गाउँपालिकाको मुख्य व्यापारी केन्द्र मानिँदै आएको कोल्टी बजारका लागि मार्तडी–कोल्टी सडक खण्ड शिलान्यास भएकोे २५ वर्ष पूरा भएको छ । तर सडक विस्तार भने भएको छैन । सदरमुकाम मार्तडीबाट झण्डै ४२ किलोमिटर लम्बाइ रहेको मार्तडी–कोल्टी सडक खण्डको हालसम्म निर्माण कार्य कछुवा गतिमा भइरहेको स्थानीयको आरोप छ । यो सडकको स्तरोन्नति नहुनुमा सडक विभाग र निर्माण कम्पनीको चरम लापरबाही भएको स्थानीयको भनाइ छ ।
मार्तडीदेखि कोल्टीसम्मको सडकलाई मार्तडीबाट २०५६ सालदेखि २०६२ सालमा जिल्ला विकास समिति बाजुराअन्तर्गतको आरसीआईडब्लूले विगतमा ४२ किलोमिटर सडकमा ३५ करोडभन्दा बढी खर्च गरिसकेको थियो । मार्तडी–कोल्टी सडक तीन वर्षभित्र कालोपत्रे गरिसक्ने योजनासहित सम्झौता भएको पाँच वर्ष पूरा भइसक्दा पनि सडक निर्माण हुन सकेको छैन । प्रदेश सरकारको बहुवर्षीय योजनामा परेको यो सडकमा नौ किलोमिटरको काम अन्तिम चरणमा छ ।
संघ र प्रदेश सरकारबाट ९८ करोड ७५ लाख रकम विनियोजन भएको थियो । यो रकम ५० प्रतिशत संघ र ५० प्रतिशत प्रदेश सरकारको रहेको तत्कालीन प्रदेश सांसद वल्देव रेग्मीले बताए । मार्तडीदेखि कोल्टिसम्म ४१ किलोमिटर बुढिनन्दा नगरपालिका–२ कोल्टिगाउँसम्म पुग्ने रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । यो सडक कालोपत्रे भएमा बाजुराका उत्तरी क्षेत्रका चारवटा स्थानीय तह, हुम्ला र मुगुका बासिन्दालाई सहज हुने नागरिक अगुवा प्रदिपराज जैशीले बताए ।
करोडौं खर्च भइसकेको छ, एकातिर सुस्त गतिमा सडक निर्माण भएको छ भने अर्कोतिर सडक पूरा हुन नसकेको नागरिक समाजका अगुवा जैशीले बताए । यो सडकमा अनियमित भएको पटकपटक गुनासो आइरहेको उनको भनाइ छ । सो सडक खण्डमा गाडी तानेर यात्रु यात्रा गर्न बाध्य छन् । अव्यवस्थित सडक र खाल्डाखुल्डीका कारण जोखिम रूपमा यातायात सञ्चालनमा हुने गरेको चालकले बताए । सबैभन्दा अफ्ठ्यारो बडिमालिका नगरपालिका पोरखेदेखि बुढिनन्दा नगरपालिकाको कोल्टीसम्म रहेको गाडी सञ्चालकले बताए ।
कामका लागि खाद्यान्न कार्यक्रमबाट २७ करोड ४० लाख, जिविस बाजुराबाट आठ लाख, कर्णाली वरिपरिको कार्यक्रमबाट ३६ लाख र उत्तरी क्षेत्रका गाविसबाट २१ लाख र सडक विभागबाट पाँच करोड गरी ३३ करोड ५४ लाख, बडिमालिका नगरपालिका बुढिनन्दा नगरपालिकाबाट एक करोडभन्दा बढी खर्च भइसकेको छ । यस सडकमा पूर्णरूपमा सवारीसाधान चल्न सक्ने गरी अझै निर्माण भएको देखिँदैन । मार्तडी–कोल्टी सडकको निर्माण समयमै हुने हो भने पूर्वीउत्तरी क्षेत्रका चार स्थानीय तह र छिमेकी जिल्ला मुगु र हुम्लाका नागरिकलाई राहत पुग्ने थियो ।
प्रकाशित मिति: ३२ असार २०८१, सोमबार