बाजुरा– बाजुराले कृषि वस्तु निर्यातको सुरुवात गरेको छ । कृषकले अनुदान पाउन थालेपछि उत्पादनमा वृद्धि भई निर्यात हुन थालेको हो । जिल्लाबाट २०८०/०८१ को आर्थिक वर्षमा मात्रै चार करोडभन्दा बढीको कृषि वस्तु निर्यात गरेको तथ्यांक छ ।
भोकमरी र समस्याको जिल्लाको रूपमा रहेको बाजुराबाट पनि निर्यात हुन्छ भन्ने यो तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि माघ मसान्तसम्म चार करोड ७३ लाख बराबरको कृषि वस्तु निर्यात भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख मिनप्रसाद जैशीले बताए । बाजुराबाट सबैभन्दा धेरै तरकारी, अन्नबाली र फलफूल निर्यात भएको छ ।
चालु वर्षको सात महिनामा मात्रै ६६ लाख बराबरको कोदो, २० लाख बराबारको स्याउ, १५ लाख बराबरको मकै र ३७ लाख बराबरको सिमी जिल्लाबाहिर निर्यात गरिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जैशीले बताए । जिल्लाका विभिन्न ठाउँमा उत्पादन भएको २२ सय क्विन्टल कोदो जिल्लाबाहिर निर्यात भएको छ, जसको मूल्य ६६ लाख रुपैयाँ रहेको कृषि ज्ञान केन्द्र बाजुराको तथ्याकंमा उल्लेख गरिएको छ ।
उक्त रकम कृषकले पाएका छन् । त्यसैगरी दुई सय क्विन्टल स्याउ निर्यात हुँदा कृषकले २० लाख रुपैयाँ आम्दानी गरेका छन् । त्यसैगरी ३६ लाख रुपैयाँ बराबरको २२० क्विन्टल सिमी काठमाडाैं लगायतका सहरमा पठाएको मिलोमतो सहकारीका सदस्य देवबहादुर रोकायाले बताए । त्यसैगरी बडिमालिका नगरपालिका–७ ढम्कनेको एकै गाउँबाट बर्सेनि बीउ आलु बिक्रीबाट दुई करोड बढीको आम्दानी हुने गरेको ढम्कनेका अगुवा कृषक खडकबहादुर धामीले बताए ।
धामीले मात्रै यो वर्ष दुई लाख बराबरको बन्दा र पाँच लाख बराबरको आलुमात्र बिक्री गरेको बताए । ४० क्विन्टल सिमी कोरिया पठाउन बजारीकरणमा सहयोग गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाबाट ५० क्विन्टल प्याज र बडिमालिका नगरपालिका–७ को ढम्कनेमा उत्पादन भएको चार सय क्विन्टल बराबरको आलु जिल्लाबाहिर पठाएको कृषि ज्ञान केन्द्र बाजुराको तथ्याकंमा उल्लेख छ ।
पछिल्लो समय प्रदेश सरकार र स्थानीय तहले अनुदानका कार्यक्रम सञ्चालन गरेसँगै बाजुराका कृषक कृषिजन्य उत्पादनतर्फ आकर्षित भएको बडिमालिका नगरपालिका कृषि शाखा प्रमुख रमेशराज विकले बताए । स्थानीय तहको समन्वयमा कृषि ज्ञान केन्द्र बाजुराले उत्पादनमुखी कार्यक्रम ल्याएर जिल्लालाई आत्मनिर्भर बनाउने दाबी गर्दै आएको छ । बाजुराबाट सबैभन्दा धेरै अन्नबाली, दाल र फलफूल निर्यात भएको तथ्यांक छ ।
प्रकाशित मिति: ३२ असार २०८१, सोमबार