बाजुरा ः हिमाली गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि कुल रु. ४३ करोड ६८ लाख ३९ हजार बराबरको बजेट विनियोजन गरेको छ । गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनमा प्रस्तुत बजेट अनुसार चालु खर्चतर्फ रु. २५ करोड ६८ लाख २१ हजार तथा पुँजीगत खर्चतर्फ रु. १८ करोड १८ हजार विनियोजन गरिएको छ।
संघीय सरकार, प्रदेश सरकार, आन्तरिक आय तथा गत आर्थिक वर्षको मौज्दात रकमलाई आधार बनाएर हिमाली गाँउपालीकाले बजेट ल्याएकाे बताए ।संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु. ९ करोड ६१ लाख, राजस्व बाँडफाँडबाट रु. १० करोड ३० लाख ८३ हजार, पूरक अनुदानबाट रु. २ करोड १५ लाख, विशेष चालु अनुदानबाट रु. १ करोड ८० लाख, विशेष पुँजीगत अनुदानबाट रु. ८८ लाख, सशर्त चालु अनुदानबाट रु. १२ करोड ५१ लाख तथा सशर्त पुँजीगत अनुदानबाट रु. ४१ लाख प्राप्त हुने जनाइएको छ।
यस्तै, प्रदेश सरकारबाट राजस्व बाँडफाँडतर्फ रु. ३३ लाख ८८ हजार, समपूरक अनुदानतर्फ रु. ८५ लाख १८ हजार, प्रदेश विशेष अनुदानतर्फ रु. ५१ लाख र सशर्त अनुदानतर्फ रु. २ करोड ६० लाख प्राप्त हुने गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष भिमानन्द पाण्डेले जानकारी दिए।
गाउँपालिकाको आन्तरिक आयबाट रु. ६२ लाख ५० हजार संकलन हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षको मौज्दात रकम रु. ५० लाख बजेटमा समावेश गरिएको छ।
गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लको अध्यक्षतामा सम्पन्न गाउँसभा अधिवेशनमा उपाध्यक्ष राजकला सार्की, प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, प्रवक्ता भिमानन्द पाण्डे, सातै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, पालिका कर्मचारी, पत्रकार तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।गाउँपालिकाले प्रस्तुत गरेको बजेटमार्फत पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा जनजीविकासँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकतामा राखिएको जनाएको छ।
प्रकाशित मिति: ११ असार २०८३, बिहीबार