सुशिल राेकाया: गौमुल गाउँपालिका वडा नं. ४ स्थित किर्तिचौर माध्यमिक विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यालय सुधारका लागि अभिभावक भेला सम्पन्न भएको छ। विद्यालयको शैक्षिक अवस्था थप सुदृढ बनाउन, विद्यार्थीहरूको सिकाइ उपलब्धि वृद्धि गर्ने तथा अभिभावक र विद्यालयबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउने उद्देश्यले भेलाको आयोजना गरिएको बिध्यालयका प्रधानाध्यापक मान बहादुर बडुवालले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै बिब्यस अध्यक्ष समेत रहनु भएका ४ नम्बर वडाका वडा अध्यक्ष अमर बहादुर विकले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय, अभिभावक र समुदायबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि सबै पक्षले साझा जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
भेलामा विद्यालयको पठनपाठनको अवस्था, विद्यार्थीको अनुशासन, नियमित उपस्थितिको आवश्यकता, परीक्षा नतिजा सुधार तथा विद्यालयको समग्र शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। सहभागी अभिभावकहरूले विद्यालयको विकास र गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि आवश्यक सुझावसमेत दिएका थिए।
विद्यालय प्रशासनले भेलाबाट प्राप्त सुझावहरूलाई आगामी शैक्षिक योजना तथा सुधारका कार्यक्रमहरूमा समेट्दै लैजाने जनाएको छ।
अभिभावकहरूको सहभागिता, शिक्षाप्रतिको गहिरो चासो र विद्यालयप्रतिको अपनत्वले विद्यालयको शैक्षिक तथा संस्थागत सुधारलाई थप गति मिल्ने विश्वास व्यक्त गरिएको छ।
भेलामा बिध्यालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघ , शिक्षक, जनप्रतिनिधि , अभिभावक र सरोकारवाला पक्षको उल्लेखनीय सहभागिता रहेको थियो ।
प्रकाशित मिति: ६ असार २०८३, शनिबार