सुशिल राेकाया: गौमुल गाउँपालिका–३ माझपालीमा विद्यालय दिवा खाजा व्यवस्थापन तथा शैक्षिक गुणस्तर अभिवृद्धिसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। वडा नं. ३ कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रमले विद्यालय शिक्षाको गुणस्तर सुधार तथा दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण छलफल गरेको छ।
वडाभित्र रहेका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका प्रतिनिधि, प्रधानाध्यापक, अभिभावक तथा जनप्रतिनिधिहरूको सहभागितामा आयोजित कार्यक्रममा विद्यालयप्रति सरोकारवाला पक्षहरूको जिम्मेवारी र भूमिकाबारे व्यापक छलफल गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष गोरख बहादुर बोहराले विद्यालयको शैक्षिक विकास र गुणस्तर अभिवृद्धिमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले विद्यालयप्रति सरोकारवाला पक्षहरूलाई थप जिम्मेवार बनाउँदै शैक्षिक सुधारमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
अन्तरक्रियामा विद्यालयमा सञ्चालन भइरहेको दिवा खाजा कार्यक्रमको वर्तमान अवस्था, यसको प्रभावकारिता, विद्यार्थीको नियमित उपस्थितिमा परेको सकारात्मक प्रभाव तथा सिकाइ उपलब्धि वृद्धिका विषयमा गहन छलफल गरिएको थियो। सहभागीहरूले दिवा खाजा कार्यक्रमलाई अझ व्यवस्थित, पारदर्शी र पोषणयुक्त बनाउनुपर्नेमा जोड दिएका थिए।
त्यसैगरी विद्यालयको भौतिक तथा शैक्षिक वातावरण सुधार, विद्यार्थीको सिकाइ स्तर उकास्ने उपाय, अभिभावकको सक्रिय सहभागिता, शिक्षकको उत्तरदायित्व तथा जनप्रतिनिधिको भूमिकालगायत विषयमा महत्वपूर्ण सुझावहरू संकलन गरिएको थियो। सहभागीहरूले विद्यालयको समग्र शैक्षिक अवस्था सुधार गर्न सबै सरोकारवाला पक्षबीच निरन्तर समन्वय, सहकार्य र साझा प्रतिबद्धता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
सहभागीहरूका अनुसार कार्यक्रमले विद्यालय व्यवस्थापन, शिक्षक, अभिभावक तथा जनप्रतिनिधिबीच आपसी समझदारी र सहकार्यलाई थप मजबुत बनाएको छ। अन्तरक्रियाबाट प्राप्त सुझावहरूलाई आगामी शैक्षिक योजना तथा विद्यालय सुधार कार्यक्रमहरूमा समावेश गरिने जनाइएको छ।
वडा अध्यक्ष गोरख बहादुर बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रम वडा नं. ३ कार्यालय, माझपालीमा सञ्चालन गरिएको थियो। कार्यक्रमलाई स्थानीय सरोकारवालाहरूले विद्यालय सुधारका लागि प्रभावकारी पहलको रूपमा लिएका छन्।
प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार