बाजुरा: बडिमालिका दर्शनका लागि बाजुरा पुगेका राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा कार्यरत लेखा अधिकृतको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृत्यु हुनेमा ५६ वर्षीय Bishwaraj Panthi रहेका छन्, जसको स्थायी ठेगाना भैरहवा हो।
प्रहरीका अनुसार पन्थीसहित चार जनाको टोली बडिमालिका दर्शनका लागि गएको थियो। यात्राका क्रममा बडिमालिका नगरपालिका–८ स्थित खारेको जंगलमा उनी अचानक बेहोस भएका थिए।
उद्धार गरी उनलाई साँझ ५:४५ बजे जिल्ला अस्पताल मार्तडी पुर्याइएको थियो। तर अस्पताल पुगेको करिब पाँच मिनेटमै ५:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
उनको साथमा सतर्कता केन्द्रमै कार्यरत उपसचिव शिवराज न्याैपाने , शाखा अधिकृत जिवन घिमिरे र लेखापाल उमेश सर्मा पनि बडिमालिका दर्शनका लागि पुगेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।
प्रकाशित मिति: ३ जेष्ठ २०८३, आईतवार