३० बैशाख २०८३, बुधबार

बाजुराको कीर्तिचौर माविमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु


बाजुरा: बाजुराको गौमुल गाउँपालिका–४ कालादहस्थित कीर्तिचौर माध्यमिक विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको छ । विद्यालयले चालू नयाँ शैक्षिक सत्रबाट अंग्रेजी माध्यममा पढाई सुरुवात गरेको हो । गौमुल–४ का वडा अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमर विकले समयको माग र अभिभावकहरुको चाहनाअनुसार विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरुवात गरिएको जानकारी दिए । उनले यस बर्षबाट इसीडी र १ बी कक्षामा अंग्रेजी माध्यमबाट पढाई सुरु गरेको भन्दै आगामी बर्षबाट कार्यविधि बमोजिम कक्षा ३ सम्म अनिवार्य अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरिने बताए ।

विद्यालयले अंग्रेजी माध्यमका विद्यार्थीबाट कक्षाअनुसारको न्यूनतम शुल्क लिने व्यवस्था समेत गरेको जनाएको छ । अंग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि त्यहाँका अभिभावकहरु समेत खुसी भएका छन् । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीहरु घट्दै गएको अवस्थामा कीर्तिचौर माविले भने शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न रणनीतिक योजना बनाउँदै शिक्षण सिकाई सञ्चालन गरिरहेको छ ।

कीर्तिचौर माविले कक्षा ९ देखि १२ सम्म प्राविधिक धारका कक्षाहरु समेत सञ्चालन गर्दै आएको छ । हाल विद्यालयहरूमा पुस्तकालय, कम्प्युटर ल्याब र स्मार्ट बोर्डमार्फत पढाउने व्यवस्था मिलाइएको छ । पछिल्लो समय सामुदायिक विद्यालयप्रति अभिभावकको आकर्षण घट्दै गएको अवस्थामा विद्यालयले अंग्रेजी माध्यम लागू गर्नु केवल भाषाको परिवर्तन नभई शैक्षिक प्रतिस्पर्धामा टिक्ने प्रयासका रूपमा हेरिएको छ । विशेषगरी ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै जानु, निजी विद्यालयप्रतिको आकर्षण बढ्नु र शैक्षिक गुणस्तरमाथि प्रश्न उठिरहेका बेला कीर्तिचौरले नयाँ अभ्यासको सुरुवात गरेको छ ।


प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives