बाजुरा: बडीमालिका नगरपालिका शिक्षा क्षेत्रको समता सूचकमा बाजुरा जिल्लाकै उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ। एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीको पछिल्लो तथ्याङ्कअनुसार नगरपालिकाले जिल्लाभरका नाै स्थानिय तह मध्य प्रथम स्थान हासिल गर्नुका साथै सुदूरपश्चिम प्रदेशमा उत्कृष्ट ९ स्थानीय तहभित्र र देशभर उत्कृष्ट २१२औँ स्थानमा आफ्नो स्थान सुरक्षित गरेको पाइएकाे छ।
शिक्षामा पहुँच, समावेशिता, समान अवसर तथा शैक्षिक गुणस्तरलाई आधार मानेर तयार गरिने उक्त सूचकमा प्राप्त सफलता नगरपालिकाको शिक्षा सुधार अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। नगरपालिकाले पछिल्ला वर्षहरूमा विद्यालयहरूको भौतिक पूर्वाधार सुधार, प्रविधिमैत्री शिक्षण प्रणाली विस्तार, शिक्षक व्यवस्थापन, शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा विशेष प्राथमिकताका आधारमा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीको उत्कृष्ट नतिजा आएकाे बताइएकाे छ ।
बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले भने यो उपलब्धि सम्पूर्ण शिक्षा क्षेत्रसँग जोडिएका सरोकारवालाहरूको साझा मेहनतको परिणाम भएको बताए। उनले भने, “शिक्षा क्षेत्र सुधारलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ। विद्यालयको भौतिक पूर्वाधारदेखि गुणस्तरीय शिक्षण सिकाइ वातावरण निर्माणसम्म निरन्तर लगानी र सुधारको प्रयास गरिएको छ। यो उपलब्धिले आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्न प्रेरणा दिएको छ।”
उपप्रमुख नन्दा थापाले समतामूलक शिक्षामा नगरपालिकाले हासिल गरेको उपलब्धि गौरवको विषय भएको बताइन्। उनले भनिन्, “नगरपालिकाले दुर्गम क्षेत्रका बालबालिकालाई पनि शिक्षाको समान पहुँच सुनिश्चित गर्न विशेष ध्यान दिएको छ। सबै पक्षको सहकार्य र प्रतिबद्धताले नै आज यो सफलता सम्भव भएको हो।”
बडीमालिका नगरपालिका शिक्षा शाखाका शिक्षा अधिकृत राम बहादुर कटुवालका अनुसार यो उपलब्धि नगर कार्यपालिका, शिक्षा समिति, शिक्षा शाखा, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रसँग जोडिएका सम्पूर्ण सरोकारवालाहरूको साझा मेहनत, समन्वय र प्रतिबद्धताको परिणाम रहेका बताएका छन ।
शिक्षा अधिकृत कटुवालले विद्यालय सुधार, शिक्षक व्यवस्थापन र तथ्याङ्कमा आधारित योजना निर्माणका कारण सकारात्मक नतिजा देखिएकाे बताए। उनले भने, “नगर शिक्षा योजना निर्माणको कामलाई पनि अगाडि बढाइएको छ। आगामी दिनमा अझ प्रभावकारी, व्यवस्थित र गुणस्तरीय शिक्षा प्रणाली विकास गर्न नगरपालिका प्रतिबद्ध रहेकाे बताएका छन।”
यस गौरवपूर्ण उपलब्धिको श्रेय नगर कार्यपालिका, शिक्षा समिति, शिक्षा शाखा, प्र अ, शिक्षकहरू, मेहनती विद्यार्थीहरू, सचेत अभिभावकहरू तथा शिक्षा क्षेत्रसँग जोडिनुभएका सम्पूर्ण सरोकारवालाहरूलाई जान्छ, निरन्तर मेहनत, समन्वय र प्रतिबद्धताकै परिणामस्वरूप यो सफलता हासिल गरेकाे शिक्षा अधिकृत कटुवालकाे भनाइ रहेकाे छ ।
स्थानीय तहमा गुणस्तरीय तथा समतामूलक शिक्षा सुनिश्चित गर्न बडीमालिका नगरपालिकाले नगर शिक्षा योजना निर्माणको कामलाई पनि अघि बढाएको जनाएको छ। आगामी दिनमा अझ व्यवस्थित, आधुनिक र प्रभावकारी शिक्षा प्रणाली निर्माणतर्फ निरन्तर काम गरिने नगरपालिकाको भनाइ छ। शिक्षा क्षेत्रमा प्राप्त यो उपलब्धिले बडीमालिका नगरपालिकालाई जिल्लामात्र होइन, प्रदेशस्तरमै उदाहरणीय स्थानीय तहका रूपमा स्थापित गरेको सरोकारवालाहरूले बताएका छन्।
प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार