बाजुरा: लामो समयसम्म निर्माण कार्य सम्पन्न गर्न नसक्ने बाजुरा र अछामका नौ ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण मागिएको छ । जसमा ४ ओटा योजना बाजुराका मात्र रहेका छन । सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पर्ने पूर्वाधार विकास कार्यालय साँफेबगर, अछामले निर्माण कार्यमा ढिलासुस्ती गर्दै आएका नौ निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरणपत्र सार्वजनिक सूचनामार्फत दिएको पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ ।
कार्यालयले जारी गरेको सार्वजनिक सूचना अनुसार विभिन्न सडक निर्माण तथा स्तरोन्नति आयोजनाका लागि सम्झौता गरेका निर्माण व्यवसायीहरूले सम्झौताअनुसार काम नगरेको, प्रगति सन्तोषजनक नरहेको र कार्यालयले पटक–पटक लिखित तथा मौखिक निर्देशन दिँदा पनि ठेकेदारले कुनै वास्ता नगरेको र काममा सुधार नभएको देखिँदा, ठेक्का किन नतोड्ने भन्ने विषयमा कारण पेस गर्ने गरी कार्यालयले सूचना जारी गरेको छ ।
ठेकेदारले पटकपटक थपिएको म्यादभित्र पनि अपेक्षित प्रगति नभएपछि अन्तिम पटक १५ दिनको समय दिँदै चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ । सूचनामा तोकिएको समयभित्र निर्माण व्यवसायीले सन्तोषजनक जवाफ नदिएमा सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ अनुसार ठेक्का सम्झौता अन्त्य गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
कार्यालयले सार्वजनिक गरेको सूचनामा उल्लेख गरेअनुसार स्पष्टीकरण सोधिएका योजनाहरू बाजुरा र अछाम जिल्लाका विभिन्न सडकहरूको स्तरोन्नति तथा निर्माण योजनाहरू रहेका छन् । अछामको घुघुरकोट फडा खप्तड नैनी सडक, कर्णाली करिडोरअन्तर्गत माणिकान्दा मालिका सडक, जैगड माझठाना रामारोशन, र बाजुराको कैलाशमाण्डौ पन्धारा, मार्तडी–कोल्टी–पिलुचौर सडक, सेरा आटीचौर थामलेख सडकलगायतका योजनाहरू समावेश छन्।
जसमध्ये कालिकादेवी निर्माण सेवा तृर्माखाँद वडा ८ अछाम, कालिका देवी निर्माण सेवा तृर्माखाँद अछाम, महाकाली कन्स्ट्रक्सन मंगलसेन १० अछाम, बानियाँ कुशेश्वर जेभी हेटौँडा– १८ मकवानपुर, पिएस बानियाँ जे.भी. मकवानपुर १८ हेटौँडा, पिएस बानियाँ जे.भी. मकवानपुर १८ हेटौँडा, अनक जयदेवी जेभी नेपालगन्ज १७ बाँके, नाति कन्स्ट्रक्सन प्रालि इमाडोल ललितपुर लगायत ना ैवटा निर्माण कम्पनी रहेका छन् ।