बाजुरा: जिल्ला प्रशासन कार्यालय बाजुराले सार्वजनिक यातायातका साधनमा अनिवार्य रुपमा सिसीटिभी जडान गर्न निर्देशन दिएको छ । बुधवार प्रशासनले सूचना जारी गर्दै जिल्लाभित्र सञ्चालित सबै सार्वजनिक यातायातमा अनिवार्य सिसी टिभी/ड्यासक्याम अनिवार्य रुपमा यहीँ वैशाख ५ गतेभित्र जडान गर्न आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्य सूचीमा उल्लेखित सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा रोकथाम तथा यात्रु सुरक्षालाई मध्यनजर गरी यस्तो व्यवस्था लागू गर्न लागिएको भन्दै अनिवार्य कार्यान्वयनका लागि आग्रह समेत गरेका छन् । त्यस्तै सबै सार्वजनिक यातायातका सवारी साधनमा प्रष्ट देखिने गरी अनिवार्य भाडादर टाँस गर्न सिडीओ निरौलाले आग्रह गरे ।
यस्तै सवारी साधन चालक, सह -चालकले यात्रा अवधिभर अनिवार्य रुपमा तोकिएको पोशाक र परिचयपत्र लगाउने, अनिवार्य रुपमा जिपिएस ट्राकिङको व्यवस्था गर्न पनि निर्देशन दिइएको छ ।

प्रकाशित मिति: ३ बैशाख २०८३, बिहीबार