बाजुरा: भोलि फाल्गुण २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष बनाउन आम मतदातालाई सक्रिय सहभागिताका लागि नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य कर्ण बहादुर थापाले आग्रह गरेका छन्। थापाले आम बाजुराबासीलाई लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै निर्धक्क भएर मतदान गर्न अनुरोध गरेका छन्। उनले विगतका निर्वाचनमा बाजुरामा देखिएका नकारात्मक घटनाबाट सबैले शिक्षा लिएको उल्लेख गर्दै यसपटकको निर्वाचनलाई धाँधलीरहित र शान्तिपूर्ण बनाउने विषयमा जिल्लाका सबै राजनीतिक दल र उम्मेदवारहरूबीच सहमति भएको जानकारी दिएका छन्।
उनका अनुसार उक्त सहमतिप्रति नेकपा एमालेका जिल्ला भरिका सम्पूर्ण नेता तथा कार्यकर्ता प्रतिबद्ध रहेका छन्। “हामीले सबै मतदान केन्द्रमा सहमतिका बुँदाहरू अक्षरशः पालनाका लागि निर्देशन गरिसकेका छौं,” थापाले आफ्नाे फेशबुकमार्फत जानकारी गराएका छन।
अन्य राजनीतिक दलहरूले पनि यस्तै निर्देशन दिएको विश्वास व्यक्त गर्दै थापाले सहमतिको इमान्दारीपूर्वक पालना हुनेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन्। साथै, सहमतिको उल्लंघन गर्ने जो–कोहीले त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयं वहन गर्नुपर्ने चेतावनीसमेत उनले दिएका छन्। निर्वाचनको पूर्वसन्ध्यामा आएको यो अपिलले बाजुरामा शान्तिपूर्ण र मर्यादित मतदान वातावरण निर्माणमा सकारात्मक सन्देश दिएको छ।
प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार