सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा यस पटक निर्वाचनका क्रममा उच्च सुरक्षा निगरानी गरिने भएको छ । निर्वाचनका बेला झडप, बुथ कब्जा र हिंसात्मक घटनाहरू हुँदै आएको यो जिल्लामा यस पटक भने विशेष सावधानी अपाउन लागिएको छ ।
बाजुरामा २०४८ साल यताका अधिकांश निर्वाचनमा कुनै न कुनै रूपमा अशान्ति हुँदै आएको छ । विशेषगरी दलहरूको पकड क्षेत्रका आधारमा मतदान केन्द्रहरू नै कब्जा हुने, विपक्षी दलका मतदातालाई बुथसम्म जान नदिने र कर्मचारीहरूकै अगाडि फर्जी मत खसाल्ने प्रवृत्ति यहाँको मुख्य सुरक्षा चुनौती हो ।
ड्रोन र सीसीटीभीको फुटेजका आधारमा कुनै पनि शंकास्पद गतिविधि देखिनासाथ तत्काल नियन्त्रणमा लिन सकिने गरी सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । आवश्यक परेको खण्डमा तत्काल थप मद्दत पु¥याउन हेलिकप्टर समेत तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ । जिल्ला मुख्य निर्वाचन अधिकृत संजिव पोखरेलका अनुसार बाजुरामा यसपटक ७७ मतदान स्थल र ११९ मतदान केन्द्र एक अस्थायीसहित निर्धारण गरिएको छ ।
कुल ७७ मतदान स्थलमध्ये ६२ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । यसको अर्थ जिल्लाका करिब ८० प्रतिशत मतदान स्थलहरूमा सुरक्षा जोखिम उच्च छ । यही जोखिमलाई विश्लेषण गरेर जिल्ला प्रशासन कार्यालय बाजुराले सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराएको छ ।
बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लामा १ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । ‘मतदान केन्द्रमा ७०९ जना कर्मचारी पुगिसकेका छन् भने सुरक्षाकर्मीहरूले आफ्नो पोजिसन लिइसकेका छन्, मतदाताले सुरक्षाको चिन्ता लिनुपर्दैन । ढुक्क भएर मतदान गर्दा हुन्छ,’ उनले भने ।
बाजुरामा मात्र नभई सुदूरपश्चिमका अन्य क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रदेशका नौवटै जिल्लामा एकीकृत सुरक्षा योजना लागु गरिएको छ । डीआईजी रानाका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी र नेपाली सेना गरी कुल ३० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा ७ हजारभन्दा बढी नेपाल प्रहरी र १३ हजार ५ सय निर्वाचन प्रहरी प्रत्यक्ष फिल्डमा खटिएका छन् ।
प्रदेशभर १ हजार १७६ मतदानस्थल र २ हजार १९९ मतदान केन्द्र छन् । तीमध्ये ४८१ मतदानस्थल र ९८५ मतदान केन्द्र अति संवेदनशील र ३९५ मतदानस्थल संवेदनशील सूचीमा छन् । सुरक्षा निकायले सोमबार रातिदेखि सुरु भएको मौन अवधिलाई विशेष निगरानीमा राखेको छ । मतदातालाई प्रभाव पार्न सक्ने, पैसा बाँड्ने वा डराउने–धम्क्याउने कार्य रोक्न १७७ वटा मोबाइल गस्ती टोली र २० वटा रिजर्भ टोलीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको छ । प्रदेशका एसएसपी तहका अधिकृतहरूलाई नै फिल्डमा खटाइएको छ ।
निर्वाचनको मुखमा गृहमन्त्री ओमप्रकाश अर्यालले सुदूरपश्चिमका जिल्लाहरूको सुरक्षा अवस्थाबारे स्थलगत निरीक्षण गरेका छन् । आइतबार र सोमबार धनगढी लगायतका क्षेत्रमा सुरक्षा अधिकारीहरूसँग छलफल गर्दै मन्त्री अर्यालले निर्वाचन विरोधी गतिविधि गर्नेलाई छुट नदिन निर्देशन दिएका छन् ।
‘विगतमा सुदूरपश्चिममा बुथ कब्जा गर्ने, फर्जी मत हाल्ने जस्ता गैरकानुनी काम भएको गुनासो आउने गरेको थियो,’ सुरक्षा बैठकमा गृहमन्त्री अर्यालले भनेका थिए, ‘यसपटक त्यस्तो हुन दिइने छैन । यदि कसैले कानुन हातमा लिन खोज्यो भने कडा कारबाही हुन्छ ।’
प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलवार