बाजुरा : निर्वाचन प्रचार–प्रसारका क्रममा बालबालिकाको प्रयोग नगर्न स्पष्ट निर्देशन दिएको निर्वाचन आयोग को आचारसंहिताविपरीत गतिविधि भएको आरोप लागेको छ। आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार प्रचार–प्रसार, आमसभा तथा जुलुसामा बालबालिकालाई प्रयोग गर्न वा गराउन पाइँदैन। आचारसंहिता उल्लंघन भएको खण्डमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम अधिकतम एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी नै रद्द हुन सक्ने कानुनी व्यवस्था रहेको छ।
बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाजुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हेमराज थापा ले चुनावी प्रचार–प्रसारका क्रममा बालबालिकाको प्रयोग गरेको आरोप लागेको छ। स्थानीय स्रोतका अनुसार केही चुनावी कार्यक्रम तथा जुलुसमा विद्यालय उमेरका बालबालिका सहभागि गराइएको देखिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका केही तस्बिर तथा भिडियोमा समेत बालबालिकाहरू प्रचार सामग्री बोकेको अवस्थामा देखिएको दाबी गरिएको छ। यद्यपि यस विषयमा उम्मेदवार थापाको आधिकारिक प्रतिक्रिया भने केही आएकाे छैन।
थापाले घरदैलो अभियानमा शुक्रबार राती बालबालिकाहरुलाई एकै ठाउँमा भेला गरेर नारा लगाउन लगाइएको भिडियो सामाजिक सञ्चाल फेसबुकमा स्पष्ट देखिन्छ आचारसंहितको उल्लघंन गर्दै आफ्नै फेसबुक आईडीमा समेत उक्त भिडियो राखेका छन् । भिडियोमा आफू माइकिङ् गर्ने र बालबालिकालाई जिन्दावादसहित भोट के मा घण्टीमा, जय घण्टी लगायतका नारा लगाएर जुलुसंमा संलग्न गराएको देखिन्छ । उम्मेदवारले नै यस्ता कार्य गर्नुले बालबालिकाको दुरुपयोगसंगै बालअधिकारको हनहन भएको र निर्वाचन आचारसंहितको धज्जी उडाएको स्थनियकाे भनाई रहेको छ ।
सम्बन्धित निकायले उजुरी परेपछि छानबिन प्रक्रिया अघि बढाउन सक्ने बताइएको छ। निर्वाचनलाई स्वच्छ, मर्यादित र निष्पक्ष बनाउन आयोगले सबै दल तथा उम्मेदवारलाई आचारसंहिताको पालना गर्न पटक–पटक आग्रह गर्दै आएको छ। बालबालिकाको प्रयोग नगर्नु बालअधिकार संरक्षणसँग पनि प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले यसप्रकारका गतिविधिप्रति आयोगले कडा कदम चाल्न सक्ने संकेत दिएको छ।
प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार